वर्तमान शिक्षाको सङ्कट र समाधानका तत्कालीन कार्यक्रम

वर्तमान शिक्षाको सङ्कट र समाधानका तत्कालीन कार्यक्रम

भूमिका

कुनै पनि व्यक्ति, समाज र देशको जीवनपद्धति परिवर्तन गर्ने महत्वपूर्ण तत्व शिक्षा हो । शिक्षा मानवचेतनाको उच्चतम अभिव्यक्ति र महानतम् संश्लेषण हो । मानव जातिको हजारौँ वर्षको अनुभव र अनुसन्धानबाट प्राप्त ज्ञान संश्लेषणको अविच्छिन्न प्रक्रिया नै शिक्षा हो तर एकपटक संश्लेषण भएको विषय त्यो नै अन्तिम सत्य भने हुँदैन । शिक्षाको निरन्तर विकास भैरहन्छ । शिक्षा कुनै पनि देश र समाजको तत्समयको राज्यप्रणाली र अर्थप्रणालीबाट निर्देशित हुन्छ । अतः आज हाम्रो देश र समाजका लागि जेजति शैक्षिक चुनौती र सम्भावनाहरू पैदा भएका छन् ती वर्तमान अर्थव्यवस्था र राजनीतिक प्रणालीका परिणामहरू हुन् भन्नेमा कुनै विवाद रहँदैन ।
वर्तमान शिक्षाका समस्याहरू

शिक्षा विश्वव्यापी मौलिक हकका रूपमा स्थापित विषय हो । नेपालको संविधानले समेत यसलाई आत्मसात गरिसकेको छ तर वर्तमान नेपालको शिक्षाप्रणाली जनता र समाजप्रति अनुत्तरदायी छ । लामो समयदेखि कायम एक मुलुक दुई शिक्षाको नीति हाल आएर सङ्घीयताका नाममा एक मुलुक अनेकौँ शिक्षानीति र संरचनाको स्थिति उत्पन्न भएको छ । आमनागरिकको नैसर्गिक अधिकारका रूपमा रहेको शिक्षा क्षेत्र दलालीकरण, व्यापारीकरण र माफियाकरणको घनघोर खेलमैदान भएको छ । शिक्षा क्षेत्र पुँजीवादी मुनाफा आर्जन गर्ने गजबको सुपर मार्केट बनेको छ । शिक्षाको आर्थिक दायित्व झन्डै सम्पूर्ण रूपले जनतामाथि थोपरिएको छ । सरकारी शिक्षालयहरू चरम सङ्कटमा छन् भने निजी शिक्षालयहरू मालामाल भइरहेका छन् । अर्कोतिर शिक्षाको उच्च तहमा प्रतिभा र पुँजीको पलायन डरलाग्दो तरिकाले बढिरहेको छ । आव २०७८/०७९ को शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कअनुसार १ लाख १२ हजार ५ सय २८ विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट लगेका छन् भने विदेश अध्ययन गर्न जानेहरू हालसम्मकै धेरै मानिएको छ । त्यही अवधिमा अहिलेसम्मकै अधिकतम वैदेशिक अध्ययनमा १ खर्ब ५७ अर्ब ४ करोड रुपैयाँ बाहिरिएको छ । यो स्थितिमा पनि राज्यसँग शैक्षिक जनशक्ति र पुँजी पलायन रोक्ने वस्तुवादी एवम् स्पष्ट नीति, योजना र कार्यक्रमको समेत उत्तिकै अभाव छ ।

दुईखाले शिक्षानीतिले पद्धति र संरचनामा मात्र भिन्नता ल्याएको छैन, अपितु आर्थिक–सामाजिक विभेद र विषमताको झन्झन् गहिरो खाडल खनिरहेको छ । मुलुकको समग्र अर्थतन्त्र दातृ निकाय र वित्तीय ऋण, अनुदान र सहयोगमा चलिरहेको छ । जसरी आज विश्वनिगमहरूको सङ्गठन ’आर्थिक विकास र सहयोगका लागि सङ्गठन’ ले विश्व वित्तीय संस्थाहरू विश्व बैङ्क, विश्व व्यापार केन्द्र र अन्तर्राष्ट्रिय मुद्राकोषलाई नियन्त्रण गरेको छ त्यसरी नै नेपालको शिक्षा पनि उक्त प्रवृत्तिको सर्तअनुकूल चलिरहेको छ । त्यसको परिणाम नै देशको समग्र विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन होइन, बरु विकसित मुलुकहरूमा श्रमशक्ति आपूर्ति गर्ने कारखानाका रूपमा नेपालका स्कुल, कलेज र विश्वविद्यालयहरूले काम गरिरहेका छन् । यो स्थितिले शिक्षा क्षेत्र दिशाविहीन र अस्तव्यस्त भएको मात्र नभाएर सिङ्गो देश नै दिनप्रतिदिन परनिर्भर र खोक्रो बन्दै गएको छ । शिक्षामा रहेको असमानता, अवैज्ञानिकता, अव्यावहारिकता, परनिर्भरता, पराधीनता आजको शिक्षा क्षेत्रका मूलभूत समस्याहरू हुन् ।

समाधान

माथि नै उल्लेख गरिएअनुरूप कुनै पनि देशको शिक्षा त्यो देश र समाजको अर्थराजनीतिक प्रणालीको ऐना हो । अतः शिक्षामा आमूल परिवर्तनको अर्थ हुन्छ– वर्तमान अर्थ–राजनीतिक प्रणालीको परिवर्तन । जसरी आजको दलाल पुँजीवादी अर्थ–राजनीतिक प्रणालीले शिक्षालाई मुनाफा आर्जन गर्ने व्यापारको विषय बनाएको छ । यो स्थितिको अन्त्य गरेर शिक्षालाई आमजनताको अधिकारका रूपमा स्थापित गर्नु शिक्षालाई सम्पूर्ण रूपले राज्यको मातहतमा राख्नु, निःशुल्क शिक्षाको व्यवस्था गर्नु, शिक्षालाई उत्पादनमूलक बनाउनु र समग्रमा भन्नुपर्दा वैज्ञानिक समाजवादी अर्थ–राजनीतिक प्रणालीको स्थापना गर्नु एवम् त्यसको सारवस्तुमा अन्तर्निहित समाजवादी शिक्षानीति स्थापित गर्नु आजको सर्वाधिक पहिलो आवश्यकता हो । त्यसका लागि अबको नीति एवम् नारा हुनु पर्दछ– शिक्षामा निजीकरणको पूर्ण अन्त्य तर यो विषय नेपालको शैक्षिक आन्दोलनमा निकै लामो समयदेखि उठ्दै आएको र किनारा लाग्न नसकेको विषय पनि भएकाले यसको व्यावहारिक कार्यान्वयनका लागि योजनाबद्ध र चरणबद्ध कार्यक्रम आवश्यक देखिन्छ ।

क) बहुप्राविधिक शिक्षा आजको आवश्यकता

समाजवादी शिक्षाप्रणालीको एउटा महत्वपूर्ण विशेषता भनेको बहुप्राविधिक शिक्षा हो । बहुप्राविधिक शिक्षा सामान्य श्रम–दक्षता सिकाउनुमा मात्र सीमित हुँदैन । यसले श्रमप्रक्रिया, उत्पादन सम्बन्ध र सामाजिक महत्व पनि बुझाउँछ । कुनै मेसिन चिन्ने र चलाउने मात्र होइन, मेसिन बनाउने दक्षता पनि सिकाउँछ । बहुप्राविधिक शिक्षा कुनै विशेष विषयहरूको मात्र शिक्षा होइन । यो एक विश्वदृष्टिकोणसमेत हो । यसले प्रकृति विज्ञान, समाज विज्ञान, भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र आदिको आधारभूत ज्ञान सिकाएर विद्यार्थीको चौतर्फी विकास गर्न सहयोग गर्दछ तर आज हाम्रो शिक्षा क्षेत्र सामान्यतः प्राविधिक छैन । जेजति छ त्यो आमजनताको पहुँचमा छैन ।

ख) निःशुल्क र समान शिक्षा

शिक्षा व्यक्तिगत विषय होइन र हुन सक्दैन । शिक्षा जसरी सामूहिक व्यवहार, प्रयोग र अनुसन्धानबाट संश्लेषित ज्ञान हो त्यसरी नै यो व्यापारको वस्तु हुन सक्दैन । शिक्षामा असमानता अर्को अर्थमा जनघाती कार्य हो । शिक्षा जनताको अधिकार मात्र होइन, अनिवार्यतासमेत हो । अबको शिक्षाप्रणालीमा शिक्षाको सम्पूर्ण दायित्व राज्यको हुनु अनिवार्य छ । हरेक नागरिकलाई शिक्षाको समान अवसर अनिवार्य छ । पैसा हुनेहरूले शिक्षाको राम्रो अवसर पाउने र पैसा नहुनेले कमजोर अवसर पाउने विभेदकारी प्रणालीको अन्त्य आवश्यक छ । अतः समाजवादी शिक्षाको महत्वपूर्ण विशेषता समान र निःशुल्क शिक्षा हो ।

ग) श्रम र उत्पादनसँग जोडिएको शिक्षा

वैज्ञानिक समाजवादी शिक्षाका बारेमा समाजवादी सिद्धान्तका प्रस्तोता कार्ल माक्र्सले श्रमसँग नजोडिएको शिक्षालाई बेकम्मा भन्नुभयो । शिक्षालाई श्रमसँग जोड्ने विषयमा समाजवादी सिद्धान्तका दुई महान् व्यक्तित्वहरू लेनिन र माओका अनुसार पुँजीवादी शिक्षाको आधारभूत कमजोरी भनेकै शिक्षालाई श्रमबाट अलग गराउनु हो । शिक्षालाई स्कुल कम्पनी र किसानका फार्महरूसँगै सञ्चालन गर्नुपर्दछ ।

शिक्षाको उद्देश्य प्रमाणपत्र उपलब्ध गर्नु मात्र होइन । शिक्षालाई प्रत्यक्ष श्रम र उत्पादनसँग एकाकार गरिनुपर्दछ । श्रमसँग जोडिएको शिक्षाले मात्र देशको समग्र अर्थतन्त्र विकास गर्न योगदान पुर्याउँछ । समाजवादी शिक्षामा विद्यार्थीलाई किताबी ज्ञान र कक्षाकोठामा मात्र सीमित गरिँदैन, बरु विद्यार्थीलाई उत्पादनमूलक श्रमसँग जोडेर शिक्षा दिइन्छ । शिक्षालय र उद्योगलाई एकाकार गरिन्छ । शिक्षाको एक तह हासिल गरिसकेपछि कोही नागरिक बेरोजगार बस्नु पर्दैन । हरेक नागरिक उद्यमशील र सिर्जनशील बन्छन् ।

घ) अनिवार्य शारीरिक शिक्षा

शारीरिक शिक्षा वैज्ञानिक शिक्षाप्रणालीको अर्को अभिन्न अङ्ग हो । प्लेटोको विचारमा स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क हुन्छ । अतः शारीरिक शिक्षाको उद्देश्य बालबच्चा तथा विद्यार्थीको शारीरिक विकाससँग सम्बन्धित छ । त्यसैले शारीरिक शिक्षालाई हामीले जोड दिनुपर्छ । शारीरिक शिक्षा विद्यार्थीको शारीरिक स्फूर्ति र शारीरिक विकाससँग मात्र महत्व राख्दैन बरु उनीहरूको दिमाग र इच्छाशक्ति सबल बनाउन उपयोगी हुन्छ । शारीरिक रूपमा स्वस्थ व्यक्तिले श्रममा भाग लिन सक्छ, देशका लागि लड्न सक्छ समाजका लागि समर्पित हुन सक्छ । सक्षम, निरोगी, आत्मविश्वास भएको साहसी, निडर नागरिक उत्पादन गर्नु समाजवादी शिक्षाको उद्देश्य हो ।

ङ) वैज्ञानिक चेतनाको विकास

वैज्ञानिक समाजवादी शिक्षाको अर्को महत्वपूर्ण विशेषतामध्ये नागरिकमा वैज्ञानिक दृष्टिकोण प्रदान गर्नु हो । १८ घन्टासम्म परिश्रम गर्ने श्रमिक गरिब हुनुको कारण पूर्वजन्मको फल वा खराब भाग्य होइन, पुँजीपतिहरूले गरेको शोषणको उपज हो । मानवसमाजमा लादिएको विभेद, उत्पीडन र असमानता निश्चित समयको मानवीय उत्पादन हो, यो कुनै शाश्वत् विषय होइन । यसका विरुद्ध सङ्घर्ष गर्नु हरेक उत्पीडित र श्रमजीवीको अधिकार हो भन्ने वैज्ञानिक चेतना समाजवादी शिक्षाले दिन्छ । अतः शिक्षालाई काल्पनिक, ईश्वरीय, अध्यात्मवादी, भाग्यवादी र अवैज्ञानिक चेतनाबाट मुक्त गराउनु समाजवादी शिक्षाको अन्तरवस्तु हो ।

संरचनागत स्तरका समाधानहरू

क) पूर्वविद्यालय (अनिवार्य र निःशुल्क) विद्यालय शिक्षाका लागि पूर्वाधार तयार गर्ने, बच्चाको शारीरिक, मानसिक, संवेदनशील र सामाजिक भावना, विकास गर्ने ।

ख) आधारभूत तह (निःशुल्क र अनिवार्य) प्रारम्भिक ज्ञान र पढ्न–लेख्न सक्ने, बुझ्न सक्ने, सामान्य श्रममा लगाउन सक्ने, सामूहिक मूल्य–मान्यता सिकाउने, बहुप्राविधिक शिक्षाको आधार तयार गर्ने, आधा सैद्धान्तिक आधा प्रयोगात्मक बनाउने ।

ग) माध्यमिक तह (समान र अनिवार्य) व्यवसाय र प्रविधिको सैद्धान्तिक र व्यावहारिक ज्ञान, सीप दिइने, प्रत्यक्ष श्रम र उत्पादनसँग जोड्ने, नैतिकवान् नागरिक निर्माण गर्ने ।

घ) विश्वविद्यालय (ऐच्छिक र निःशुल्क) उच्च शिक्षामा २ वटा शाखा हुन्छन्–

१) प्राविधिक शिक्षा प्रत्यक्ष राष्ट्रको विकास निर्माणमा जोड्ने, प्रत्यक्ष श्रम र उत्पादनमा सहभागी गराउने, नयाँ प्रविधिको आविष्कार र प्राविधिक विशेषज्ञता हासिल गराउने ।

२) साधारण शिक्षा अनुसन्धानात्मक, प्रत्यक्ष देशको नीति निर्माणसँग जोड्ने, नयाँ विचार सिद्धान्तको खोज र विकास गर्ने ।
शिक्षण विधिमा ल्याउनुपर्ने परिवर्तन

शिक्षालाई किताबी ज्ञान र एउटा कक्षाको ल्याबमा मात्र सीमित गरिँदैन, विद्यार्थीको अनुभव, प्रयोग, अन्तरक्रिया र अनुसन्धानबाट सिक्ने विधि लागू गरिन्छ । विद्यार्थीलाई निष्क्रिय श्रोता बनाउने विधि खारेज गरिन्छ र काम गरेर सिक्ने स्वतन्त्र शिक्षण विधि लागू गरिन्छ । विद्यार्थीले सिक्ने किताब, विद्यालयका अलावा परिवार, समाज, कृषि फार्म, कारखाना आदि हुन्छ ।

मूल्याङ्कन विधि

मूल्याङ्कन विद्यार्थीलाई असफल गराउन, डर उत्पन्न गरेर तर्साउन, कसैलाई कमसल र कसैलाई असल भनी छुट्टयाई विभेद गर्न नभएर विद्यार्थीको रचनात्मक क्षमता र व्यक्तित्व विकास गर्नका लागि हुनुपर्छ भन्ने मान्यता राखिन्छ । मूल्याङ््कन प्रणाली व्यक्ति नियन्त्रित हुँदैन । श्रममा सहभागिता, उत्पादन कार्य र सामाजिक व्यवहारका आधारमा मूल्याङ््कन गरिन्छ जहाँ मूल्याङ््कनकर्ता शिक्षक मात्र नभएर सहपाठी, अभिभावक, समाज र स्वयम् विद्यार्थीलाई पनि मूल्याङ््कनकर्ता मानिन्छ । मूल्याङ््कन विधिले एकअर्कामा प्रतिस्पर्धा गराएर व्यक्तिलाई आत्मकेन्द्रित व्यक्तिवादी, स्वार्थी बनाएर भ्रातृत्व कम गराउँदैन, बरु सहकार्य र सहयोगमा जोड दिई परिपूरक बन्न र सामूहिक भावनाको विकास गराउन प्रोत्साहन गर्दछ । विद्यार्थीलाई रचनात्मक, सिर्जनशील र स्वाधीन बन्न मद्दत गर्दछ । परीक्षा र मूल्याङ््कनलाई निश्चित समयमा सङ्कुचित गरिँदैन, सम्भावित आवश्यकताका आधारमा विद्यार्थीअनुकूलको लचिलो परीक्षा र मूल्याङ््कन प्रणाली लागू गरिन्छ । समाजवादी शिक्षाको मूल्याङ्कन प्रणालीले परिणाम मात्र होइन, कारण र असरलाई समेत ध्यान दिइन्छ ।

पाठ्यक्रम

एउटा निश्चित तह पार गरिसकेपछि हरेक विद्यार्थीलाई श्रममा अनिवार्य सहभाग गराउनु प्रत्येक सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्नुजस्ता विषयलाई समेटेर पाठ्यक्रमको निर्माण गर्नु समाजवादी शिक्षाको मर्म हो । त्यसलाई लागू गर्न जनताको आवश्यकता र स्थानीय स्रोत–साधनको उपलब्धताका आधारमा लचिलो पाठ्यक्रम निर्माण गरिन्छ । शिक्षक, विद्यार्थी, अभिभावक र समाज स्वयम् पाठ्यक्रमको निर्माता हुन्छ । पाठ्यक्रम सरल, आवश्यकताकेन्द्रित, व्यावहारिक र वैज्ञानिक बनाइन्छ । भाषिक र सांस्कृतिक विविधतालाई सम्मान गरी त्यसअनुरूप पाठ्सामग्री तयार गरिन्छ ।

तत्कालिक कार्यक्रमहरू

१) संवत् २०८३ भित्र शिक्षामा निजीकरणको अन्त्यका लागि राज्यलाई दबाबको चरणबद्ध कार्यक्रम सञ्चालन गर्ने ।
२) आउँदो शैक्षिक सत्र अर्थात् २०८१ सालबाट लागू हुने गरी शिक्षा क्षेत्रमा शिक्षक–प्राध्यापक, जनप्रतिनिधि र सरकारी कर्मचारीको लगानी भएका शैक्षिक संस्थाहरू बन्द गर्ने ।
३) आउँदो शैक्षिक सत्रबाट लागू हुने गरी निजी शैक्षिक संस्थाहरूमा साबिकको तुलनामा ५० प्रतिशत शुल्क घटाउन सङ्घर्ष गर्ने ।
४) निजी र सरकारी सबै शैक्षिक संस्थाहरूले विद्यार्थीको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन सङ्घर्ष गर्ने ।
५) प्रत्येक निजी शैक्षिक संस्थाहरूमा अलग–अलग पोसाकको व्यवस्था बन्द गरी प्याब्सन र एनप्याब्सनको एउटै पोसाक हुने व्यवस्था लागू गर्न सङ्घर्ष गर्ने ।
६) सरकारी शैक्षिक संस्थाहरूमा भएको भ्रष्टाचार र अनियमितताको विरोध गर्ने ।
७) सबै शैक्षिक संस्थाहरूमा दुव्र्यसनी तथा छात्राहरूमाथि हुने गरेको दुव्र्यवहारविरुद्ध अभियान सञ्चालन गर्ने ।
८) सबै सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरी आउँदो शैक्षिक सत्र २०८१ बाट सरकारी विद्यालयमा पढाउनका निम्ति दबाब दिने ।
९) माध्यमिक तह पास गरेका प्रत्येक विद्यार्थीलाई आफ्नो क्षमता र रुचिअनुसार मुलुकमै (पढ्दै कमाउँदै) आयमूलक न्यूनतम कामको सुनिश्चितताका लागि सङ्घर्ष गर्ने ।
१०) विद्यार्थीले उपयोग गर्न नपाएका अधिकार (स्वच्छ र स्वस्थ खानेपानी, स्वस्थ शौचालय, यातायातमा छूट सुविधा आदि) कार्यान्वयनका निम्ति दबाब सिर्जना गर्ने ।

कार्यपत्रमा आधारित

(लेखक अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :