स्ववियुको महत्व र कार्यभार

स्ववियुको महत्व र कार्यभार

२०१७ साल पुस १ गते राजा महेन्द्रले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउँदै पञ्चायती व्यवस्था घोषणा गरेपछि विश्वविद्यालय, कलेज र स्कुलका विद्यार्थीले सङ्गठित रूपले आन्दोलनको सुरुआत गरेपछि केही छिटफुट आन्दोलन भए पनि २०१९ सालदेखि विद्यार्थी आन्दोलनको प्रारम्भ मानिन्छ । २०२० साल वैशाख २३ गते विश्वविद्यालयमा पहिलोपटक हडताल भयो । पञ्चायती शासकहरूले प्रायः राजनीतिक गतिविधिमा विद्यार्थीलाई कडाइ गरे पनि विद्यार्थीहरू पञ्चायती व्यवस्थाविरुद्ध भुसको आगोझैँ भित्रभित्रै विस्फोटक आन्दोलनको तयारीमा थिए ।

विद्यार्थीहरूको मुख्य माग स्ववियु खोल्न पाउनुपर्छ भन्ने थियो । तर शासकहरू त्यसो गर्न तयार थिएनन् । आन्दोलनको केन्द्र त्रिवि बन्यो । त्रिविमा आन्दोलन सुरु भएलगत्तै देशैभरि आन्दोलन भुसको आगोझैँ सल्कियो । आन्दोलनका बीचमा शासकहरू स्ववियु निर्वाचन गराउन बाध्य भए । २०२० साल भदौ २० गते त्रिविमा स्ववियु निर्वाचन भयो जहाँ प्रगतिशील पक्षले विजय हासिल गर्यो । यसले २०२४ सालमा मात्र वैधानिकता प्राप्त गर्यो ।

स्ववियुलाई विद्यार्थी आन्दोलनको जग बनाई सबै राष्ट्रघाती असमान सन्धि–सम्झौताहरू खारेज गर्न माग गर्दै नेपालका सचेत, प्रगतिशील, देशभक्त, जनतान्त्रिक विद्यार्थीले सङ्घर्ष गर्दै शाही ‘कु’ मार्फत २०१७ साल पुस १ गते सत्ता कब्जा गरेको तत्कालीन तानाशाही महेन्द्र शाहको पञ्चायती व्यवस्थाले विद्यार्थीको आन्दोलनमा बर्बर र आततायी दमन मच्चायो । पञ्च–मण्डलेहरूको अमानवीय फासिस्ट दमन र ज्यादती नरोकिएपछि विद्यार्थी र प्रहरीबीच झडप हुँदा सयौँ विद्यार्थी घाइते भए भने कयौँ विद्यार्थी गिरफ्तार भए । तथापि विद्यार्थी झुकेनन् । गलेनन् । पछि हटेनन् । निरन्तर तानाशाही जल्लादहरूका विरुद्ध डटेर सामना गरिरहे । अन्ततः पञ्चायती सत्ता विद्यार्थीका जायज माग सम्बोधन गर्न बाध्य भयो । आन्दोलनसामु घुँडा टेक्न विवश भयो । यद्यपि मागहरू पूरा भएनभएको आज पनि एउटा समीक्षाको विषय भने अवश्य बन्ला । २०२२ साल जेठ १ गते अनेरास्ववियु स्थापना भयो ।

विद्यार्थीको वीरतापूर्ण, बहादुरीपूर्ण र बलशाली आन्दोलनको सम्झना, सम्मान र आगामी विद्यार्थी आन्दोलनलाई प्रेरणा र हौसला दिने दिनका रूपमा विद्यार्थीले स्ववियुलाई मान्नुपर्छ । नेपालका थुप्रै परिवर्तनकारी आन्दोलनको अग्रमोर्चा तथा सक्रिय साक्षी नेपालको विद्यार्थी आन्दोलनले असङ्ख्य आरोह–अवरोह, घुम्ती, मोड अनि उकाली–ओराली पार गरेको छ । नेपालका ऐतिहासिक राजनीतिक परिवर्तनको संवाहक, ठूलाठूला राजनीतिक विजयको मुख्य हिस्सा नेपाली विद्यार्थी आन्दोलनसँग अनगिन्ती दसी–प्रमाण इतिहासका रक्तरञ्जित पानाहरूमा लिपिबद्ध छन् ।

गौरवपूर्ण विगतका दिनहरूमा स्ववियु विद्यार्थीहरूको आन्दोलनको मोर्चा थियो तर अहिले राष्ट्रियता, जनतन्त्र, जनजीविका, शिक्षा, स्वास्थ्य, प्रतिक्रियावादी जनविरोधी शासन व्यवस्थाका तमाम समस्या, विकृतिहरूमा, राष्ट्र, जनता र विद्यार्थीको हक, अधिकार, न्यायका पक्षमा परिणाममुखी बहस, पैरवी, वकालत र सङ्घर्ष गर्न सकिरहेका छैनन् । स्ववियुमा विजयी कयौँ विद्यार्थी सङ्गठनहरू सत्ताको तलुवा चाट्ने मालिकको ताबेदारी गर्ने नोकरका रूपमा छन् । स्ववियुको कार्यभार पूरा गर्ने होइन, निजी स्वार्थ पूरा गर्ने कार्यमा तल्लीन छन् । मन्त्रीका पीए बन्ने, सिंहदरबार र बालुवाटारको वरिपरि झुम्मिने प्रवृत्ति हाबी छ । सत्ताको चाकर, चाप्लुसी, भक्ति र स्तुति गरेर लाभको तर मार्ने बहुरूपी बिचौलिया बन्नेजस्ता घृणित कार्यले विद्यार्थी आन्दोलनलाई निकै बदनाम मात्र गरेको छैन, इतिहासमै नउठ्ने गरी कमजोर परिरहेको छ । केही बिग्रे र केही बिके पनि । वीरतापूर्ण विरासतका खातिर आन्दोलनका उपलब्धिहरूको रक्षाका लागि संस्थागत गर्न र आन्दोलनको झन्डा झुक्न नदिन क्रान्तिकारी विद्यार्थीहरू स्ववियुको इतिहास बचाउनका लागि सङ्घर्षरत छन् ।

यसबीचमा केही काम नभएको भने होइन । नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । विभिन्न आन्दोलनबाट भएका परिवर्तनहरूमा विद्यार्थी सङ्गठन र विद्यार्थीको निर्णायक भूमिका रहेको जस्तो देखिन्छ । राणा शासनविरुद्धको आन्दोलनदेखि पञ्चायतविरुद्धको आन्दोलन हुँदै २०५२ सालमा सुरु भएको जनयुद्ध र जनआन्दोलनमा विद्यार्थीको अभूतपूर्व योगदान रहेको छ ।

२०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनकै जगमा विद्यार्थी सङ्गठनहरू पाकिस्तानी नेता जुल्फिकर अली भुट्टोको हत्याको विरोधस्वरूप दूतावासमा शान्तिपूर्ण रूपमा ज्ञापनपत्र बुझाउन गएका थिए जसलाई पञ्चायती व्यवस्थाले आफ्नो पतन नजिक आएको देख्यो र निहत्था विद्यार्थीमाथि चर्को दमन मच्चायो । पञ्चायतले गरेको दमन र आतङ्कविरुद्ध विद्यार्थीहरू सडकमा ओर्लिए र व्यवस्था परिवर्तनको आवाज बुलन्द गरे । पञ्चायती व्यवस्था विद्यार्थीहरूका अगाडि घुँडा टेक्न बाध्य भयो । बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्ने विषयमा जनमतसङ्ग्रह घोषणा गर्न बाध्य भयो । तथापि जालझेल, षड्यन्त्र र धाँधलीपूर्वक पुरानै विकृत जनविरोधी–राष्ट्रघाती व्यवस्थाका पक्षमा परिणाम घोषणा गरियो । त्यसका विरुद्ध जनता फेरि सडक सङ्र्घषमा जानुपर्ने बाध्यता आयो ।

देशमा २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनाका निम्ति भएको भीषण जनआन्दोलनमा पनि विद्यार्थी सङ्गठनहरूको अर्थपूर्ण र गतिशीलता तथा सक्रियताको कोणबाट (निर्णायक पनि भन्न सकिन्छ) भूमिका रह्यो भने २०५२ साल फागुन १ गतेदेखि सुरु भएको भीषण र अग्रगामी जनयुद्धमा पनि विद्यार्थीहरूको उच्च, अर्थपूर्ण, गौरव गर्नलायक सहभागिता रह्यो । वर्गसङ्घर्षको त्यो भीषण र अदम्य क्षणमा जनयुद्धमा सहभागी भएर थुप्रै क्रान्तिकारी विद्यार्थीले सहादत प्राप्त गरे । थुप्रै घाइते, अपाङ्ग र बेपत्ता भए तर उनीहरू थाकेनन् । निरन्तर आन्दोलनमा होमिए । जनयुद्धमा समाहित तिनै युवा विद्यार्थी तत्कालीन राजनीतिक परिस्थितिको मागअनुसार २०६२/०६३ को जनआन्दोलनमा एकै ठाउँमा उभिए, सम्पूर्ण राजनीतिक दल, नागरिक, सञ्चार क्षेत्र एक ठाउँमा गोलबन्द भए र अन्ततः निरङ्कुश राजतन्त्रलाई सदाका लागि बिदा गरे । यो गौरवपूर्ण इतिहासलाई जतिसुकै लुकाउन खोजे पनि लुकाउन नसकिने यथार्थ इतिहासका पानाहरूमा कैद भइसकेको छ ।
आगामी कार्यभार

२०७३ सालमा केही छिटफुट क्याम्पसमा स्ववियु भए पनि २०६५ सालयता स्ववियुले निरन्तरता पाउन सकेको छैन समकालीन विद्यार्थी आन्दोलन नीति, नेतृत्व, गति र दिशाविहीन भएको यो परिवेशमा नेपालका सम्पूर्ण देशभक्त, वामपन्थी, लोकतान्त्रिक, कम्युनिस्ट तथा जनतन्त्रिक विद्यार्थीहरू एकताबद्ध नहुनुकै कारण स्ववियु निर्वाचनले निरन्तरता पाउनसकेको छैन । त्यसैले विद्यार्थी आन्दोलनको बाँकी अभिभारा पूरा गर्न हो भने प्रत्येक २/२ वर्षमा स्ववियु निर्वाचन गर्न अनिवार्य छ । तर कठिन परिवेशका साथै हामीभित्र समेत रहेका अक्षमता, अपूर्णता र अपरिपक्वताका कारण पनि विद्यार्थी आन्दोलनले गति र दिशानिर्देश गर्न सकिरहेको छैन ।

मूलतः स्ववियुको मुख्य दायित्व विद्यार्थी आन्दोलनको उठान र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा डटेर आवाज बुलन्द गर्नु, शैक्षिक क्षेत्रका सबै प्रकारका विकृति र विसङ्गति, यसभित्रको निजीकरण, व्यापारीकरण, माफियाकरण र भ्रष्टीकरणका विरुद्ध आमविद्यार्थीलाई एकताबद्ध गर्नु, नागरिकलाई सुसज्जित गर्नु नै हुन्छ भन्ने हामी सबैको बुझाइ रहँदै आएकाले नेपाल र नेपालीको स्वाभिमान विश्वसामु ओरालो लागिरहेको छ भने अर्कोतिर नेपालको अर्थतन्त्र धरापमा परिरहेको छ । नेपाली नागरिकहरूले सजिलैसँग आफ्नो दैनिकी धान्नसक्ने अवस्था छैन । सामान्य बिरामीले पनि उपचार पाइरहेका छैनन् । विद्यार्थीहरू पढ्न पाइरहेका छैनन् । मजदुरले मजदुरी गर्न पाएका छैनन् । साना व्यवसायीहरूले व्यवसाय गर्न पाइरहेका छैनन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत सबै क्षेत्रमा सङ्कट थोपरेको छ । यस्तो परिवेशमा युवा विद्यार्थीहरू अलि रचनात्मक, सिर्जनशील, पृथक, अग्रगामी,नयाँ र फरक ढङ्ले सोच्न, बुझ्न र सबैखाले सङ्कटबाट कसरी पार पाउन सकिन्छ भनी खोज, अध्ययन, अनुसन्धान र अन्वेषणमा जुट्न आवश्यक छ । यसको महत्वपूर्ण मञ्च भनेको स्ववियु नै हो । तत्कालीन परिस्थितिमा युवा विद्यार्थीहरू स्ववियुमार्फत राज्यसत्तालाई विभिन्न रचनात्मक र दबाबमूलक ढङ्गले देश र जनताप्रति जबाफदेही र उत्तरदायी बनाउन जरुरी छ । अर्को कुरा हामीलाई राम्रोसँग के थाहा छ भने अहिलेको शासक र शासन व्यवस्था पूर्ण रूपमा जनमुखी र राष्ट्रमुखी हुन सक्दैन । जनताको न्याय, मुक्ति, स्वतन्त्रता र पूर्ण अधिकार प्राप्ति वैज्ञानिक समाजवादी राज्य व्यवस्था र मालेमावादी विश्वदृष्टिकोणबाट प्रशिक्षित जनप्रतिनिधिबाट मात्रै सम्भव हुन्छ भन्ने विषय आमनागरिक र विद्यार्थीलाई बुझाउन जरुरी छ ।

नेपाली विद्यार्थीको माझमा अहिले एउटा भ्रम उत्पन्न गर्न खोजिँदैछ– स्ववियुको अस्तित्व सकियो, अब किन स्ववियु चाहियो र ? पञ्चायत र राजतन्त्रको अन्त्य भएर गणतन्त्र आइसकेको छ, हिजो राजनीतिक अधिकार थिएन र स्ववियुको माध्यमबाट राजनीतिक विचार, विद्यार्थी र जनताको माझ पु¥याउनु थियोे । आज बहुदलीय व्यवस्था आइसकेपछि किन चाहियो ? यसरी स्ववियुको औचित्यको मात्र होइन, इतिहासकै मजाक र धज्जी उडाउने काम भएको छ ।

विगतमा स्ववियुले नै व्यवस्था परिवर्तनको महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रायः हेर्दा स्ववियु र विद्यार्थी आन्दोलनलाई सत्ता प्राप्तिको भर्याङका रूपमा मात्रै प्रयोग गरेको देखिन्छ । त्यसैले आमविद्यार्थी यस्ता भ्रमबाट मुक्त हुन जरुरी छ । एकपटक नेपालको आमूल परिवर्तन गर्न र देशमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति आवश्यक परे बलिदानसम्म गर्न तयार भएर व्यवस्था परिवर्तनका पक्षमा उभिन जरुरी छ । अहिलेको आवश्यकता भनेको स्ववियु निर्वाचनलाई विद्यार्थी आन्दोलनको नयाँ मोर्चा बनाउनु आवश्यक छ भने दीर्घकालीन अभिभारा भनेको व्यवस्था परिवर्तनकै हो । यसो भन्न हिचकिचाउनुपर्ने हामी विद्यार्थी सङ्गठन हैनौँ । शैक्षिक सवाल मात्रै हाम्रा मुद्दा हुन् भनेर हामीभित्रको भएको क्रान्तिकारी, युगान्तकारी तथा ऐतिहासिक सत्ता परिवर्तनको अभिभारामा कायरताको लेप लगाउन जरुरी छैन । शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिकलगायत अन्य क्षेत्रमा रहेका अभाव र विकृतिहरूको समाधान व्यवस्था परिवर्तनबाट मात्रै सम्भव रहन्छ । त्यसैले आमविद्यार्थी नहिचकिचाईकन स्ववियु निर्वाचनमा होमिन जरुरी छ ।

दलाल पुँजीवादी राज्यसत्ताको अन्त्य गरी अब स्वाधीनता र समृद्धि प्राप्त गर्नु छ । त्यसपछि भोको पेटले खान पाउनेछ । नाङ्गो शरीरले लगाउन पाउनेछ । खुला आकाशमा बसेकाले छानो पाउनेछन् । बिरामीले उपचार पाउनेछ । विद्यार्थीहरूले एक्काईसौँ शताब्दीको उत्कृष्ट विचार, दृष्टिकोण र चेतनासहितको गरिखाने, राष्ट्र, समाज र नागरिकप्रति जबाफदेही बन्ने संस्कार, सभ्यता र प्रविधियुक्त ज्ञान हासिल गर्नेछन् । पढेलेखेका बेरोजगार युवा–विद्यार्थीले स्वदेशमै रोजगार पाउन, बर्सौंदेखि हेपिएका दलित, जनजाति, मधेसी, उत्पीडित जाति, क्षेत्र, लिङ्ग, वर्ण, वर्ग र समुदायका नागरिकले शान्तिको सास फेर्नेछन् । सबैले श्रम गरेर खाने स्थिति निर्माण हुनेछ । समान, निःशुल्क र वैज्ञानिक शिक्षाका निम्ति तयार हुनेछन्, बाँझो भूमिको सदुपयोग हुनेछ, सुकुमबासीको व्यवस्थापन हुनेछ । बाँझो जमिनमा खेती हुनेछ । हामी त्यो दिनको कल्पना गरिरहेका छौँ, त्यो पूरा गर्नका निम्ति । दलाल पुँजीवादका विरुद्ध क्रान्तिको आलोकमा उभिएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ । नयाँ नीति, नयाँ समाज, नयाँ नेतृत्व र विचार निर्माण गरौँ । यसको जिम्मेवारी अथवा व्यवस्था परिवर्तनको संवाहक÷खम्बा नेपाली विद्यार्थी बनौँ । अहिलेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई आन्दोलनको नयाँ जगका रूपमा बदलौँ र यो युगले सुम्पेको युगान्तकारी जिम्मेवारी पूरा गर्ने दृढ अठोट र सङ्कल्पसहित हामी सबै यो आन्दोलनमा सहभागी होऊँ ।

(लेखक अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :