शान्ति सम्झौताविरुद्धका गतिविधिको प्रतिवाद गर्दछौँ : आठ माओवादी

शान्ति सम्झौताविरुद्धका गतिविधिको प्रतिवाद गर्दछौँ : आठ माओवादी

काठमाडौँ : सरकार र सरकारबाहिर रहेका ८ माओवादी घटकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्न एकमत रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान बसेको आठ दलको बैठकपछि जारी प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे आठ माओवादी दलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । शान्तिप्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा आफूहरू दृढ रहेको विषय पनि आठ माओवादी दलको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्ने विज्ञप्तिमा उल्लेख छ । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, विप्लव नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :