रामग्राम न.पा.को अनुगमन भत्ता प्रकरणबारे छानविनको प्रतिवेदन सार्वजनिक गर्न माग

रामग्राम न.पा.को अनुगमन भत्ता प्रकरणबारे छानविनको प्रतिवेदन सार्वजनिक गर्न माग

नवलपरासी : नवलपरासीको रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरणबारे छानबिन गर्न गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामग्राम नगर सङ्गठन समितिले उक्त माग गरेको हो ।

रामग्राम नगरपालिकामा बनेको मुल्याङ्कन समितिले नियम विपरीत २५ लाख रुपैया भत्ता लिएको बिषय यस अघि सार्वजनिक भएको थियो । भष्ट्राचार एवम् कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न माग गर्दै सो पार्टीले रामग्राम नगरपालिकालाई १९ बुँदे मागपत्र पेश गरेको हो ।

मङ्गलबार उक्त पार्टीको रामग्राम नगर सङ्गठन समितिले नगर प्रमुख धनपद यादव समझ नगरपालिका क्षेत्र भित्रका बिभिन्न समस्या सहितको १९ बुँदे ज्ञापनपत्र बुझाएको थियो । ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, भुमिहीन, किसान, मजदुर लगायतका थुप्रै क्षेत्रका माग समावेश गरिएको पार्टीका नगर इन्चार्ज जयफुल्लाह हसनले जानकारी दिए ।

ज्ञापन पत्रमा अनुगमन भत्ता प्रकरणमा गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिनुका साथै हाल सम्मका जनप्रतिनिधिहरूको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने, सार्वजनिक खरिद ऐनलाई पालना गर्दै खरिदलाई पारदर्शी बनाइनुपर्ने, मर्मत गरेर सञ्चालन हुन सक्ने सामानहरू कमिशनको लोभमा नयाँ खरिद गर्ने प्रबृति अन्त्य गर्नुपर्ने, खोलाहरूमा नदीजन्य पद्धार्थको दोहन अन्त्य गर्न चोरी निकासी बन्द गर्नुपर्ने लगायतका माग गरिएको छ ।

पार्टीका नगर संयोजक सुर्यप्रसाद सापकोटाका अनुसार ज्ञापन पत्रमा नगर क्षेत्रभित्र रहेको उद्योगहरूको लगत सङ्कलन र रोजगारीको अवस्थाको बिश्लेषण गरेर रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइनुपर्ने, रामग्राम–४ केरवानीमा रहेको परासी बसपार्क यथाशिघ्र सञ्चालन गर्नुपर्ने, रामग्राम विकास समितिलाई पूर्णता दिएर कार्यान्वयनमा ल्याइनुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ । त्यस्तै ज्ञापन पत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रका मागलाई प्राथमिकतामा साथ उठान गरिएको सो पार्टीले जनाएको छ ।

बि.स. २०८३ भित्र शिक्षा र स्वास्थ्यमा नीजिकरण मुक्त नगरपालिका घोषणा गर्नसमेत ज्ञापन पत्रमा माग गरिएको छ । सरकारी कर्मचारी र जनप्रतिनिधिहरूका सन्तान सामुदायिकमा पढाउने अभियान थालनी गर्न प्र.अ. नियुक्तिलाई दलीय भागबण्डा नभई योग्यता क्षमताका आधारमा निष्पक्ष बनाउन, युवा तथा खेलकुद क्षेत्रलाई बिशेष महत्वका साथ बजेट बिनियोजन गर्न, कृषकलाई मलबीउ तथा सिंचाईको उचित ब्यवस्थापन गर्दै अनुदानको पारदर्शी वितरण गर्न, ज्ञापन पत्रमा माग गरिएको छ ।

त्यस्तै भारतबाट आयात हुने बिषादीयुक्त कृषिजन्य उत्पादन जस्तैः तरकारी, फलफूल, माछा, मासु र दुधजन्य आयातमा रोक लगाइनुपर्ने, जनपक्षीय पत्रकारितालाई बढावा दिएका साना तथा स्वरोजगारमुलक स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक रूपमा विज्ञापन तथा कार्यक्रम प्रदान गर्नुपर्ने, जोताहा किसानहरूलाई दशकौँ वर्षदेखि जोतभोग गरिएको जमिन सम्बन्धित जोताहा किसानलाई विना शर्त उपलब्ध गराइनुपर्ने, भुमिहीन तथा सुकुम्बासीका जग्गा पटकपटक नापी मात्र गर्ने नभई निर्वाचनमा बाचा गरे अनुसार यथाशिघ्र लालपुर्जाको ब्यवस्थापन गर्नुपर्ने, सार्वजनिक जग्गा मिचेर गरिएका जग्गा प्लटिङ यकिन गरेर उक्त जग्गा पालिका मातहत ल्याइनुपर्ने, विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरू सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने र मिटरब्याजी एवम् सहकारी पीडित सम्बन्धित माग रहेका छन् । टोलीमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटा विद्यार्थी नेता आकाश गौतम लगायतको सहभागीता रहेको थियो ।

ज्ञापनपत्र बुझ्दै रामग्राम नगरपालिका नगर प्रमुख धनपद यादवले पार्टीले राखेका जायज मागलाई साधन स्रोतले भ्याएसम्म पूरा गर्ने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :