मिटरब्याजी कृष्णकुमार श्रेष्ठका नाममा रहेको जग्गा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नियन्त्रणमा

पीडित इन्द्रराज चौधरीले न्याय नपाएसम्म किनबेच वा भोगचलन गरिएमा सख्त कारबाही गर्ने चेतावनी

मिटरब्याजी कृष्णकुमार श्रेष्ठका नाममा रहेको जग्गा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नियन्त्रणमा

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले मिटरब्याजी कृष्णकुमार श्रेष्ठका नाममा रहेको जनतामारा लालीगुराँस सहकारीसँगको मिलोमतो रहेको रत्ननगर नगरपालिका वडा नं. ६ मा रहेको इन्द्रराज चौधरीको र लालीगुराँस सहकारीले बिक्री गरेको नौ कट्ठा एक धुरका साथै भक्तबहादुर ठकुल्ला अध्यक्ष रहेको ब्रह्मदेव प्रालिका नाममा रहेको दुई कट्ठा सत्र धुर जग्गा कब्जा गरेको छ ।

पीडित इन्द्रराज चौधरीले न्याय प्राप्त नगरेसम्म उक्त जग्गा बेचबिखन नहुने र कसैले जालझेल वा जबर्जस्ती गरेमा कारबाही हुने पनि संयोजक विकासको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका जिल्ला संयोजक विकासले बुधबार ‘कृष्णकुमार श्रेष्ठका नाममा रहेको जग्गा यसकारण कब्जा भयो’ शीर्षकमा जारी गरेको प्रेस विज्ञप्ति र कब्जा गरिएको जग्गामा टाँगिएको ब्यानरमा रत्ननगरपालिका वडा नं. ६ दोरंगी गाउँ बस्ने इन्द्रराज चौधरीको २०४६ सालमा चितवनको भूमाफिया दलाल खैरहनी नगरपालिका वडा नं. ९ बस्ने टिकेन्द्र चौधरीको योजनामा राष्ट्रिय भूमाफिया दलाल अछाम जिल्ला हाल काठमाडौँ बस्ने भक्तबहादुर ठकुल्लाको मिलोमतोमा जालझेल गरेर जग्गाधनी इन्द्रराज चौधरीलाई नारायणगढको एक होटेलमा लगी उनकी श्रीमती खगेश्वरी चौधरीको अनुपस्थितिमा किर्ते सही गरी काठमाडौँ पढ्न बसेका नाबालक छोरा शिव चौधरीको किर्ते सही गरी हिनामिना गरेकाले पीडितले न्याय प्राप्त नगरेसम्मका लागि जग्गा कब्जा गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तिम्रो जग्गा दृष्टिबन्धकी हो, पछि फिर्ता हुन्छ भनेर झुक्याएर ५,७०,०००।– (अक्षरेपी पाँच लाख सत्तरी हजार) मा काठमाडौँ बस्ने भक्तबहादुर थकुल्लाले ०–१८–१३ अठार कट्ठा तेह्र धुर जग्गा रत्ननगर नगरपालिका वडा नं. ६ दोरङ्गीमा रहेको आफ्नो नाममा बनाएको र पछि जग्गाधनी पीडित इन्द्रराज चौधरीले तिम्रो पैसाको सावाँब्याज लैजाऊ, हाम्रो जग्गा फिर्ता गर भन्दा केही समय आलटाल गरेर पछि दलाल भक्तबहादुर ठकुल्ला भागीभागी हिँड्ने, जग्गाधनीलाई नभेट्ने, उल्टो पीडितलाई काठमाडौँ अदालतमा मुद्दा दिएर दुःख दिने गरेको, पछि त्यो जग्गा लगभग ३,००,००,०००।– (अक्षरुपी तीन करोड) मा अर्को भूमाफिया दलाल मकवानपुर जिल्ला हेटौँडा बस्ने (हाल अमेरिका बस्ने) रामकृष्ण बर्तौलालाई बेचेको, त्यसपछि दलाल भूमाफिया रामकृष्ण बर्तौलाले काठमाडौँको सोह्रखुट्टेमा रहेको लालीगुराँस सहकारीमा धितो राखी ३,००,००,०००।– (अक्षरेपी तीन करोड) निकालेर अमेरिका भागेको हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसपछि लालीगुराँस सहकारीले लगभग ४,००,००,०००।– (अक्षरेपी चार करोड) मा जग्गा लिलाममा निकाल्यो जुन सहकारीका व्यवस्थापकले जनताको बचत रकम अपचलन गरी टाट पल्टाएका छन् । सङ्गीता तामाङका श्रीमान् लालीगुराँस सहकारीका अध्यक्ष हुन् । सहकारीलाई टाट पल्टाउनेमध्येका सङ्गीता तामाङ, सीता ढकाल, प्रेम बराल मिलेर उक्त जग्गा आफ्नो नाममा पारी पीडितलाई फेरि अर्को जालझेल र षड्यन्त्र गरेर ०–७–० सात कट्ठा १५ धुर हामी लिन्छौँ भनेर झुक्याई ०–६–१५ (छ कट्ठा पन्ध्र धुर) जग्गा दिएर ०–९–१ (नौ कट्ठा एक धुर) जग्गा काठमाडौँ बस्ने अर्को भूमाफिया दलाल कृष्णकुमार श्रेष्ठका नाममा रजिस्ट्रेसन पास गर्ने काम गरे । यसरी प्रत्यक्ष टिकेन्द्र चौधरी, भक्तबहादुर ठकुल्ला, रामकृष्ण बर्तौला, सङ्गीता तामाङ, सीता ढकाल, प्रेम बराल, कृष्णकुमार श्रेष्ठ र अप्रत्यक्ष रूपमा कयौँ मिलेर पीडित इन्द्रराज चौधरीको माथि उल्लेख गरिएको जग्गा खाएका छन् । एउटा आदिवासी थारूको छोराको गर्दनमा खुकुरी हानेका छन् । जबसम्म इन्द्रराज चौधरीको उचित न्याय हुँदैन, उनले लिएको ५,७०,०००।– (पाँच लाख सत्तरी हजार) को सावाँब्याज बुझाउने र उनको सम्पूर्ण जग्गा उनका नाममा आउँदैन र माथिका भूमाफिया दलालहरूलाई राज्यले कारबाही गर्दैन तबसम्म रत्ननगर नगरपालिका वडा नं. ६ प्रथम इन्द्रराज चौधरीको नाममा रहेको लालीगुराँस सहकारीले बिक्री गरेको काठमाडौँ बस्ने कृष्णकुमार श्रेष्ठका नाममा रहेको ०–९–१ (नौ कट्ठा एक धुर) र भक्तबहादुर ठकुल्ला अध्यक्ष रहेको ब्रह्मदेव प्रा.लि. संस्थाका नाममा रहेको ०–२–१७ (दुई कट्ठा सत्र धुर) जग्गा आज वि.सं. २०८० फागुन ९ को मितिबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले कब्जा गरेको छ । साथै उक्त जग्गा पार्टीको नियन्त्रणमा रहेको विषय न्यायप्रेमी जनसमुदायमा जानकारी गराउँछौँ । यो जघन्य प्रकारको अन्याय पार्टी टुलुटुलु हेरेर बस्न सक्दैन । अन्यायका विरुद्ध बोल्नु र जनतालाई न्याय दिनु हाम्रो जिम्मेवारी हो । आजका मितिदेखि उक्त जग्गा कसैले खरिदबिक्री, आमोदकमोद, भोगचलन गर्न पाइनेछैन र नगर्न अनुरोध गर्दछौँ । हाम्रो अनुरोधलाई नजरअन्दाज गरेर खरिदबिक्री, भोगचलन गरेमा पार्टी कारबाही गर्न बाध्य हुने बेहोरासमेत अवगत गराउँदछौँ । त्यसको जिम्मेवारी स्वयम् हुनेछन् ।’

विज्ञप्तिमा लघुवित्त मिटरब्याजजस्तै चितवनमा भूमाफियाहरूले थुप्रै आदिवासी थारूलगायत किसानहरूको जग्गा दृष्टिबन्धकीका नाममा जनतालाई सुकुमबासी बनाउने गरेकाले सम्पूर्ण भूमाफियालाई कानुनको दायरामा ल्याई जनताको जिउधनको सुरक्षा गर्न राज्यसँग जोडदार माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :