क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रतापपुर गाउँ सङ्गठन समितिले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै प्रतापपुर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रतापपुर गाउँ सङ्गठन समितिले गाउँपालिका भित्रका समस्या सहित १३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव समझ बुझाइएको ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरूको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने मागसमेत समाबेश गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरीद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरू हावी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरू सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने, सार्वजनिक खरिद ऐनलाई पालना गर्दै खरिदलाई पारदर्शी बनाइनुपर्ने लगायतमा माग ज्ञापन पत्रमा छ ।

राष्ट्रिय, जनतन्त्र र जनजिबिकासँग सम्बन्धित मागपत्र लिएर सो पार्टीका प्रदेश सदस्य तथा गाउँपालिका संयोजक कमल तमु र पालिका सहसंयोजक यम नारायण चौधरी, गाउँ सङ्गठन समिति सदस्य मदन पोखरेलको अगुवाईमा टोली प्रतापपुर गाउँपालिकाको कार्यालय बेलाटारी पुगेको थियो । टोलीमा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक रवि पाण्डेय लगायतको बिशेष उपस्थिति थियो । सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, भुमिहिन, किसान, मजदुर लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ ।

टोलीलाई प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादवले धेरै मागहरू पालिकाको नीति कार्यक्रममा समाबेश भएको दावी गर्दै मागहरूलाई बजेट ब्यवस्था गर्दै क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता र विकास निर्माणमा सहकार्य गर्न आग्रह गरे । त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रतापपुर गाउँ सङ्गठन समितिको पूर्ण बैठक तथा २९ औँ जनयुद्ध दिवस कार्यक्रम समेत बुधबार गोपीगञ्जमा सम्पन्न गरेको पार्टीका प्रदेश सल्लाहकार तथा पालिका इन्चार्ज गुणनीधि पोखरेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :