वैज्ञानिक समाजवादका लागि नबिसाउने गरी हतियार उठाउनु अनिवार्य सर्त : कञ्चन

नेपाल–कोरिया लेखक/पत्रकार मञ्चद्वारा ‘वैज्ञानिक समाजवादका चुनौतीहरू’ विषयक विचारगोष्ठी सम्पन्न

वैज्ञानिक समाजवादका लागि नबिसाउने गरी हतियार उठाउनु अनिवार्य सर्त : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले नेपालमा कसरी समाजवाद स्थापना गर्ने भन्ने मुख्य चुनौती रहेको बताएका छन् । नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले कोरियाली नेता किम जोङ इलको ८२ औँ जन्मजयन्ती (चम्किलो तारा दिवस) का अवसरमा काठमाडौँमा आयोजना गरेको विचारगोष्ठीमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पार्टी प्रवक्ता कञ्चनले नेपालमा पनि वैज्ञानिक समाजवाद स्थापनाका लागि विद्रोह, क्रान्ति र जनयुद्धहरू भए पनि दह्रोसँग हतियार नसमाउनु र समाएको हतियार लक्ष्य प्राप्तिअघि बिसाउनु अर्को मुख्य चुनौती रहेको पनि प्रस्ट पारे ।

क्रान्ति शब्दलाई विशुद्ध युद्धका रूपमा विद्रूपीकरण गरिएको सन्दर्भ उठाउँदै प्रवक्ता कञ्चनले भने, ‘मानिसको जीवन परिवर्तन गराउनु, राष्ट्रलाई स्वाधीन र स्वतन्त्र बनाउनु र सबैखाले शोषण, विभेद र असमानताको अन्त्य हुनु नै क्रान्ति हो । हामी क्रान्ति सम्पन्न गर्ने आन्दोलनको नेतृत्व गरिरहेका छौँ ।’

नेपालमा कसरी वैज्ञानिक समाजवाद स्थापना गर्ने र वैज्ञानिक समाजवादी क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने मुख्य चुनौती रहेको दोहोर्याउँदै प्रवक्ता कञ्चनले यसका लागि वैचारिक समस्या रहेको पनि प्रस्ट पारे । रुस, चीन, कोरिया, भियतनाम, क्युबा, लाओसलगायत मुलुकमा बलियोसँग हतियार उठाइएको र क्रान्ति सम्पन्न नभएसम्म हतियार नबिसाइएकाले समाजवाद स्थापना सम्भव भएको सन्दर्भ उठाउँदै कञ्चनले झापा विद्रोह र जनयुद्धमा पनि हतियार उठाउनु सही भएको तर लक्ष्य प्राप्ति नभएसम्म उठाइरहन नसक्नु सीमा रहेको बताए । अब वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्ति विगतका राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा भएका सीमा र कमजोरीहरू नदोहोरिने प्रतिबद्धता उनले प्रकट गरे । उनले भने, ‘वैज्ञानिक समाजवादका लागि हतियार उठाउनु पहिलो र अनिवार्य सर्त हो । यसमा कुनै द्विविधा छैन ।’

विसर्जनवादी प्रवृत्ति वैज्ञानिक समाजवादको अर्को चुनौती रहेको प्रमुख अतिथि कञ्चनको भनाइ थियो । जनयुद्धबाट वैज्ञानिक समाजवाद स्थापना हुनुपर्नेमा बीचैमा हतियार बुझाइँदा दलाल पुँजीवादले सत्ता कब्जा गरेको प्रवक्ता कञ्चनले बताए । वैज्ञानिक समाजवाद स्थापना गर्न, रक्षा र विकास गर्न दलाल पुँजीवाद अर्थात् साम्राज्यवाद र त्यसका साह्रा सम्बन्धहरूको अन्त्य गरिदिनुपर्ने धारणा राख्दै प्रवक्ता कञ्चनले सर्वहारा अन्तर्राष्ट्रियतावाद लागू हुनुपर्ने र समाजवादी तथा पूर्वसमाजवादी जनगणतन्त्र कोरिया, चीन, भियतनाम, रुस, क्युबा, लाओस, मङ्गोलिया, भेनेजुयेलालगायत मुलुक, व्यवस्था र क्रान्तिकारी शक्तिहरू एक हुनुपर्ने पनि बताए ।

कोरियाली नेता किम जोङ इलले मौलिक जुछे विचार र सङ्गुन नीति लागू गरेर कोरियामा किम इल सुङ–किम जोङइलवाद बहसमा ल्याउने अवस्थासम्म ल्याएको भन्दै समाजवाद स्थापना गर्न र त्यसलाई लागू गर्नुका साथै साम्राज्यवादसँग निरन्तर लड्दै त्यसको रक्षा गर्न जनगणतन्त्र कोरियाको नेतृत्वले गरेको त्याग, बुद्धिमत्ता र शौर्यको सराहना पनि गरे ।

नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्षसमेत रहेका नेकपा मालेका महासचिव सीपी मैनालीले आफूहरूले झापाबाट विद्रोह आरम्भ गर्दा चिनियाँ शैलीको कार्यदिशा अपनाएर जनगणतन्त्र स्थापना गर्ने र समाजवाद ल्याउने सपना देखेको भए पनि मौलिक कार्यदिशा, योजना र कार्यक्रम तय गर्नुपर्ने परिपक्वता अपनाउन नसक्दा लक्ष्य हासिल गर्न नसकेको बताए । नेपालमा अझै पनि वैज्ञानिक समाजवादी क्रान्ति सफल नहुने र राष्ट्रिय जनवादी क्रान्ति नै सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । नेपालमा क्रान्ति सम्पन्न हुन अझै पनि भारतीय साम्राज्यवाद, अमेरिकी साम्राज्यवाद र युरोपेली साम्राज्यवाद बाधक रहेको भन्दै उनले जनयुद्धको मुख्य नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीक्ष्ण आलोचना गरे । उनले भारतको सहयोग र समर्थन नरहेको भए जनयुद्ध दस महिना पनि टिक्न नसक्ने ठोकुवा गर्दै प्रचण्ड तीनपटक प्रधानमन्त्री हुँदा भारतीय स्वार्थ र हितमा मात्र काम गरेको दाबी पनि गरे । जनयुद्धको आलोचना गर्दै उनले भने, ‘बहुदल आएको ६ वर्ष पनि नपुग्दै कुन कालले कुतकुत्याएर माओवादीले जनयुद्ध सुरु गर्यो ? ६ महिना पनि नपुग्दै माओवादीले पार्टी हेडक्वार्टर नेपालबाट भारत किन पुर्यायो ?’ प्रचण्ड अर्को लेन्डुप दोर्जे बन्ने मैनालीको आरोप थियो । उनले भने, ‘नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्छाैं भनेर लाग्नेहरू कि त हिजडा हुन्, कि त अन्धकारमा छन् ।’

नेता मैनालीले कोरिया मुक्ति र समाजवाद निर्माणका लागि किम इल सुङ, किम जोङ इलले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरे । अमेरिका र जनगणतन्त्र कोरियाबीच युद्ध स्थगन मात्र भएको र कुनै पनि समय युद्ध भड्किन सक्ने उनको भनाइ थियो ।

संस्थाका तर्फबाट ‘वैज्ञानिक समाजवादका चुनौतीहरू’ विषयक अवधारणापत्र प्रस्तुत गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजङ्ग’ ले नेपालमा कट्टरतावाद, विचारवाद, अनुभववाद नै वैज्ञानिक समाजवाद निर्माणको मुख्य चुनौती रहेको बताए । प्रतिक्रियावाद तथा साम्राज्यवादका साथै नेपालका नामधारी, अवसरवादी, संशोधनवादी, छद्म संशोधनवादी कथित कम्युनिस्टहरूका कारण नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न हुन नसकिरहको निष्कर्ष निकाल्दै युवा नेता सिंहले यिनीलाई खुलामञ्चबाटै नेपालका ‘नटवरलाल’ घोषणा गरेर वैज्ञानिक समाजवादी क्रान्ति अघि बढाउनुपर्नेमा जोड दिए ।

मञ्चका सल्लाहकारसमेत रहेका नेता सिंहले भने, ‘नक्कली कम्युनिस्ट पार्टीको सदस्यता त्यागेर प्रगतिशील, क्रान्तिकारी हुँदै कम्युनिस्ट पार्टीको सदस्यता लिनका लागि नक्कलीहरूलाई आह्वान गरे । विश्वसाम्राज्यवाद वैज्ञानिक समाजवाद निर्माणको अर्को चुनौती रहेको उनले बताए । आकाशमा मात्र होइन, भूगोलमै विभिन्न नामका दलाल खडा गरेर संसदीय संशोधनका माध्यमबाट वैज्ञानिक समाजवादी क्रान्तिमा बाधा पुर्याइरहेको उनको भनाइ थियो । उनले भने, ‘कल्पना र सपनामा मात्र होइन, प्रयोगमा आएर सफल सिद्ध भइसकेको हो वैज्ञानिक समाजवाद । विचारमा सुस्पष्ट, वास्तविक कम्युनिस्ट पार्टी, सचेत जनता, क्रान्तिकारी कार्यदिशा वैज्ञानिक समाजवादका अपरिहार्य तत्व हुन् । नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति आवश्यक मात्र होइन, अपरिहार्य छ र सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेर त्यो सम्भव छ ।’

नेपाल–कोरिया मैत्री सङ्घका महासचिव फणिन्द्रराज पन्तले समाजवाद निर्माण गर्न र साम्राज्यवादविरुद्ध लड्न कोरियाली नेताहरू किम इल सुङ, किम जोङ इल र किम जोङ उनले निर्वाह गरेको भूमिकाको चर्चा गरे । उनले नेपालमा पनि कोरियामा जस्तै क्रान्तिकारी र इमानदार नेतृत्व निर्माण भएमा समाजवाद स्थापना हुनसक्ने धारणा राखे । सङ्घका तर्फबाट जनगणतन्त्र कोरियाले हालै कोरिया एकीकरण नीतिसम्बन्धमा गरेको नयाँ निर्णय सार्वजनिक गर्दै पन्तले साम्राज्यवादसँग नझुक्ने र समाजवादको रक्षाका लागि मानव बम भएर विस्फोटित हुन तयार हुने कोरियाली नेता र जनता नेपालका लागि पनि प्रेरणाका स्रोत हुने बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवम् स्कूल विभागका सचिव बद्रीकुमार चौलागाईंले वैज्ञानिक समाजवाद निर्माण गर्न रुस, चीन, कोरियाको जस्तो शक्तिशाली आधार निर्माण गर्नुपर्ने बताए । उनले क्रान्तिको मोडेल आआफ्नै हुने तर सफल दर्शन, विचार र व्यवस्थालाई आफ्नो मौलिकता र सिर्जनशीलतामा प्रयोग गर्नुपर्ने बताए ।

मञ्चका अध्यक्ष अशोक सुवेदीको अध्यक्षता र सञ्चालनमा सम्पन्न कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दसभन्दा बढी केन्द्रीय सदस्य, विभिन्न जवस मोर्चाका पदाधिकारी, मञ्चका पदाधिकारी र सदस्य, नेकपा मालेका केन्द्रीय सदस्यहरू, समाजवाद पक्षधर विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो ।

नेपाल–कोरिया मैत्री सङ्घका तर्फबाट २ फागुन, २०८० को मितिमा कार्यक्रममा वितरित कोरिया एकीकरणसम्बन्धी नयाँ नीति यसप्रकार रहेको छ :

‘प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता, कोरियाली राज्य सञ्चालन परिषद्का राष्ट्रपति तथा कोरियाली मजदुर पार्टीका महासचिव महामहिम किम जोङ उनले पार्टीको २०२३ डिसेम्बर प्रेलनरी बैठक र उहाँले हालै १४ औँ सर्वोच्च जनसभाको १० औँ बैठकमा उत्तर–दक्षिण सम्बन्ध र पुनः एकीकरण नीतिमा व्यापक परिवर्तनको घोषणा गर्नुभएको छ ।

कोरियाको परिवर्तित नीतिमा भनिएको छ, ‘कोरियाली प्रायद्वीप अहिले लगातार रूपमा अमेरिकी–दक्षिण कोरियाली र यसका पिछलग्गु शक्तिहरूले सैनिक उक्साहट र प्रजग कोरियाविरोधी पागलतुग्य गतिविधिद्वारा खतराको भयङ्कर परिणामलाई सोच्दै नसोचेर समालिनसक्नु सङ्कटको सिर्जना गरिरहेका छन् ।’

‘अमेरिका, दक्षिणकोरिया लगायतले प्रजातन्त्रको नाम रट्दै आफूलाई परिवर्तनकारी शक्ति भनेर जतिसुकै झूटको खेती गरे पनि प्रजग कोरियाको सामाजिक व्यवस्था र शासनप्रतिको उनीहरूको पापी मनसाय एकरति बदलिएको छैन ।’

ज्यादै लामो समयको उत्तर–दक्षिण सम्बन्धलाई नियाल्दै ‘गाभेर एकीकरण गर्ने’ र ‘खुला प्रजातन्त्रअन्तर्गत एकीकरण गर्ने’ भन्ने दक्षिणकोरियाली शासकको नीति रहँदै आएकाले र उक्त नीति प्रजग कोरियाको राष्ट्रिय एकीकरणको नीति– ‘दुई व्यवस्थामा आधारित एक राज्य एक राष्ट्र’ विरुद्ध रहँदै आएकाले र दक्षिणले सोचेजस्तो एकीकरण कहिले पनि हुन नसक्ने प्रजग कोरियाको निष्कर्ष रहेको छ । प्रजग कोरियाले अन्तरकोरियाली तितो सम्बन्धबाट अन्तिम निष्कर्ष निकाल्दै भनेको छ– ‘अब हामी दक्षिणकोरियासँग मेलमिलाप र एकीकरणका लागि सँगसँगै अगाडि बढ्न सक्दैनौँ किनकि दक्षिण कोरियाली शासकहरूले होसहवास गुमाएर हामीसँग सम्पूर्ण रूपमा भिड्ने राज्यको नीति अवलम्बन गरेको छ र हाम्रो सरकारलाई नास गर्ने र हामीलाई मिलाएर एकीकरण गर्ने दिवास्वप्न देख्दै छ ।’

प्रजग कोरियाले लिएको आफ्नो नयाँ नीतिमा भनिएको छ– ‘दक्षिणकोरियालाई एकआपसमा सहयोगको आदानप्रदान मेलमिलाप र एकीकरण गर्ने आफ्नै देशका सम्बन्धित नातेदार हुन् भन्ने अहिलेसम्मको हाम्रो मौलिक सोचाइ र नीति पूर्ण रूपमा त्याग्दै अब प्रजग कोरियाले दक्षिणकोरियालाई बाह्य मुलुक र मुख्य शत्रु देश भन्ने परिभाषित गर्दछ ।’

अब संसारभरि गठन गरिएका कोरियाली पुनः एकीकरण समर्थन समितिहरू परिवर्तित हुने भएका छन् र कोरियाली सरकारले लिएको नयाँ नीतिअनुसार एकीकरणको सट्टा ऐक्यबद्धता राखेर कोरियाली जनताको न्यायपूर्ण सङ्घर्षमा ऐक्यबद्धता जाहेर गने नीति अवलम्बन गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :