क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ता गाउँ सङ्गठन समितिले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार सुस्ता गाउँ सङ्गठन समितिले गाउँपालिका भित्रका समस्या सहित ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय समक्ष बुझाइएको ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरूको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने मागसमेत समाबेश गरिएको छ ।

गाउँपालिकाले सञ्चालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरू हावी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरू सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने, सार्वजनिक खरिद ऐनलाई पालना गर्दै खरिदलाई पारदर्शी बनाइनु पर्ने लगायतमा माग ज्ञापन पत्रमा छ ।

राष्ट्रिय, जनतन्त्र र जनजिबिकासँग सम्बन्धित मागपत्र लिएर सो पार्टीका प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज रामचन्द्र पोखरेल र पालिका संयोजक गोबिन्दबहादुर साठीघरे, सहसंयोजक सोमबहादुर विश्वकर्मा, गाउँ सङ्गठन समिति सदस्य सन्तोष मुसहरको अगुवाईमा टोली सुस्ता गाउँपालिकाको कार्यालय कुडिया पुगेको थियो । टोलीमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापा, केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक रवि पाण्डेय,  क्रान्तिकारी युवा सङ्गठनका जिल्ला संयोजक तरुण श्रीस लगायतको बिशेष उपस्थिति रहेको थियो ।

सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, भुमिहीन, किसान, मजदुर लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ । त्यस्तै ज्ञापन पत्रमा सुस्ता बचाउ आन्दोलनका अध्यक्ष गोपाल गुरुङको नाममा प्रतिष्ठान गठन गर्नुपर्ने र उहाँलाई पालिकाले मरणोप्रान्त सम्मान गर्नुपर्ने माग गरिएको छ ।

सो अवसरमा गाउँपालिका इन्चार्ज रामचन्द्र पोखरेलले ज्ञापनपत्र बाचन र सहसंयोजक सोमबहादुर विश्वकर्माले हस्तान्तरण गरेका थिए ।टोलीलाई सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले धेरै मागहरू पालिकाको नीति कार्यक्रममा समाबेश भएको दावी गर्दै मागहरूलाई बजेट ब्यवस्था गर्दै क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जनाए ।

त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ता गाउँ सङ्गठन समितिको पूर्ण बैठक तथा २९ औँ जनयुद्ध दिवस कार्यक्रमसमेत बिहीबार सुस्ता–१ फेचुहामा सम्पन्न गरेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :