क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९ औँ जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९ औँ जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समितिले आयोजना गरेको २९ औँ जनयुद्ध दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ को अध्यक्षता र कार्यालय सदस्य सुदर्शनको सञ्चालनमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा अध्यक्ष किरणले भने, ‘जनयुद्ध दिवस मनाउनुको अर्थ अर्को क्रान्तिको तयारी गर्नु हो ।’

पार्टी अध्यक्ष किरणले चारैतिर फटाहा र बदमासहरूको जगजगी देख्दा फेरि छापामार युद्ध अर्थात् जनयुद्ध सुरू गरिहालौँ झैँ लाग्ने गरेको भन्दै दलाल संसदीय व्यवस्था अब धेरै दिन नटिक्ने बताए । उनले जनयुद्धको थालनी, त्यसपछिका घटनाक्रम हुँदै शान्तिप्रक्रियासम्मका घटनाक्रमको चर्चा गर्दै भने, “जनयुद्धको मूल लक्ष्य पूरा भएको छैन । त्यही तरिकाले होइन, जनयुद्धको लक्ष्य पूरा गर्न अब नयाँ तरिकाले फेरि विद्रोह गर्नुपर्छ । क्रान्तिको विकल्प छैन । क्रान्ति हुन्छ । क्रान्तिको भविष्य समुज्वल छ ।” 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पार्टीका वरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल ‘गौरव’ ले साम्राज्यवादी विस्तारवादीहरूले प्रचण्डमार्फत् क्रान्ति सिध्याउन नयाँ प्रयोग गरेको धारणा राखेका थिए । उनले प्रचण्डले आफू सबैको लागि ‘कम्फर्टेबल’ रहेको भन्दै आफैँ विज्ञापन गर्दै हिड्ने गरेको चर्चा गर्दै प्रचण्डको वर्गीय र आत्मसमर्पणका कारण प्रतिक्रान्ति हावी भएको स्पष्ट पारे । त्यस्तै, पार्टीका कार्यालय सदस्य राजवीरले नेपाली जनयुद्धका बारेमा देशभित्र मात्रै नभएर विश्वभर नै बहसको विषय बनेको भन्दै जनयुद्धको उद्देश्य पूरा नहुँदै प्रचण्ड आफैँले जनयुद्धको अन्त्य गरेको बताए । उनले फेरि क्रान्तिको प्रक्रिया अगाडि बढ्दा प्रचण्डहरूले नै फेरि क्रान्तिकारीहरूको टाउकाको मूल्य तोक्न सक्ने पनि बताए । साथै उनले क्रान्तिको लागि राम्रो तयारीका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, पार्टीका कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउने ‘दिपक’ ले जनयुद्ध दिवस केवल स्मरणका लागि मात्र नभएर भावी क्रान्तिको तयारीको रूपमा मनाउनुपर्ने भन्दै दशवर्षे जनयुद्धको अनुभव र वर्तमन राजनीतिक सङ्कटको बीचबाट हेर्दा क्रान्तिलाई अब नयाँ ढङ्गले अगाडि बढाउँन सक्ने आँट र हिम्मत क्रान्तिकारीहरूमा पैदा हुनु्पर्ने धारणा राखे । उनले देशलाई अग्रगामी क्रान्तिकारी विकल्पको दिशामा अगाडि बढाउन एक पटक फेरि क्रान्तिकारीहरूले हिम्मत गर्ने बेला आएको बताए । त्यसैगरी, पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा ‘सागर’ ले क्रान्तिका लागि त्याग, तपस्या, उच्च नैतिकता, इमान्दारिता र गोपनीयताको आवश्यक पर्ने बताए । उनले जनयुद्ध सुरू गर्नुभन्दा अहिलेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल धेरै ठूलो भएको भन्दै सङ्ख्याले मात्र क्रान्ति नगर्ने क्रान्तिका लागि सही विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही हुनुपर्नेमा जोड दिए ।

पार्टीका अर्का कार्यालय सदस्य तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठले जनयुद्धकै तागतमा स्थापित अधिकारहरू पनि अहिले खोसिने क्रम तीव्र बनेको भन्दै अब आदिवासी जनजातिहरूले आफ्नो अधिकार स्थापित गर्न फेरि अर्को लडाइँ लड्नुपर्ने स्थिति आएको बताए । उनले वर्ग मुक्ति नभएसम्म जातीय मुक्ति पनि नहुने भन्दै सम्पूर्ण शोषित उत्पीडित आदिवासी जनजातिहरूलाई अब हुने क्रान्तिमा जोडिन अपिलसमेत गरे । त्यसैगरी, पार्टी सचिवालय सदस्य तथा क्रान्तिकारी महिला सङगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले दशवर्ष लामो जनयुद्धमा महिलाहरूले नयाँ इतिहास रच्न सफल भएको बताइन् । उनले जनयुद्धमा ४० प्रतिशतभन्दा बढी महिलाहरूको सहभागिता रहेको चर्चा गर्दै जनयुद्धमा क्रान्तिकारी महिलाहरूले प्रदर्शन गरेको वीरता, सौर्यता र बलिदान भावी क्रान्तिको लागि उर्जा र उत्प्रेरणाको गौरवशाली गाथा भएको बताइन् । जनयुद्धमा बन्दुक उठाएर वर्ग वैरीका विरुद्ध लडेका महिलाहरू अहिले चुलोचौकोमा सीमित हुन पुगेको भन्दै उनले महिला मुक्तिका निम्ति फेरि पनि क्रान्तिको विकल्प नरहेको कुरामा जोड दिइन् ।

त्यसैगरी, पार्टीका सचिवालय सदस्य तथा सहिद वेपत्ता योद्धा परिवार समाजका संयोजक पुस्कर श्रेष्ठले दशवर्षे जनयुद्धमा हजारौँ सहिदहरूले गरेको बलिदान प्रचण्डहरूलाई प्रधानमन्त्री बनाउँनका लागि नभएको भन्दै जनयुद्धमाथि प्रचण्ड–बाबुरामहरूले ठूलो धोका र गद्दारी गरेको बताए । उनले अब सहिद परिवार, वेपत्ता योद्धा परिवारहरूले प्रचण्ड–बाबुरामहरूको त्यो धोका र गद्दारीबाट शिक्षा लिँदै महान् सहिदहरूका अधुरा सपना र अधुरा सङ्घर्ष पूरा गर्न क्रान्तिमा गोलबन्द हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । यस्तै क्रान्तिकारी युवा सङ्गठन, नेपालका नेता अविनाश कुँवरले देशमा क्रान्तिको खाँचो टड्कारो बनेको विषयलाई जोड दिए । उनले एक पटक क्रान्तिकारीहरूले क्रान्तिका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्ने बेला आएको बताए ।

सोही कार्यक्रममा एकीकृत दलित मुक्ति मेर्चाका संयोजक दर्शन नेपालीले दश वर्षको जनयुद्धले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक अन्तरविरोध हल गर्न नसकेको भन्दै ती अन्तरविरोध हल गर्न अर्को जनयुद्धको खाँचो रहेको औल्याए । उनले दलित समुदायमाथि भइरहेको शोषण, दमन, विभेदको चर्चा गर्दै दलित समुदायको मुक्तिका निम्ति फेरि पनि नयाँ जनयुद्धको आवश्यकता रहेको बताए । त्यसैगरी, अखिल (क्रान्तिकारी) को सहसंयोजक विरेन्द्र शाहले क्रान्तिकारीहरूले आफैँभित्रका गलत प्रवृत्तिका विरुद्ध निर्मम बनेर दशवर्षे जनयुद्धबाट पाठ सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भावी क्रान्तिका लागि हजारौँ लाल सिपाहीहरू उत्पादन गर्नेगरी क्रान्तिकरी विद्यार्थी आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रम पार्टी कार्यालय कुपण्डोलमा सम्पन्न भएको थियो । कार्यक्रममा अवीर लगाएर जनयुद्ध दिवसको शुभकामना साटासाट गरिएको थियो । त्यसैगरी आज सातै प्रदेश अन्तर्गतका जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा जनयुद्ध दिवस मनाइएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :