चार महिने ‘कारखाना जाऔं’ अभियान जारी

चार महिने ‘कारखाना जाऔं’ अभियान जारी

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको चार महिने ‘कारखाना जाऔं’ अभियान जारी छ । यसै अन्तरगत महासंघले निलबारही, भक्तपुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, सह–संयोजक ईश्वर तिमिल्सिना, वसन्त बोगटी, विनोद थापा, अखिल नेपाल जनस्वास्थ्यकर्मी सङ्गठनका संयोजक इन्दिरा अधिकारी, प्रदेश ३ संयोजक, सह–संयोजक, विभिन्न पेशागत सङ्गठनका संयोजक, सह–संयोजक र सङ्घीय राजधानीमा रहेका केन्द्रीय समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

सांस्कृतिक कार्यक्रममा सङ्गठनका संयोजक दिनेश शर्माले कारखाना जाऔँ अभियान र महासंघका कार्ययोजनाबारे प्रशिक्षण गरेका थिए । त्यस क्रममा उनले सङ्गठनभित्र स्वस्थ र रचनात्मक प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै अभियान सङ्गठनको आन्तरिक जीवन पद्धतिलाई सुदृढ गर्न एवम् मजदुर आन्दोलनको विकास र नेतृत्वमा केन्द्रित हुनुपर्नेमा जोड गरे ।

त्यसैगरी सांस्कृतिक कार्यक्रममा सङ्गठनका सह–संयोजक विनोद थापाले भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी–लेनिनवादी रातोझन्डा सम्बद्ध मजदुर सङ्गठन ट्रेड युनियन सेन्टर अफ इन्डियाको हालै भुवनेश्वर, उडिसामा सम्पन्न सम्मेलनका अनुभूति मन्तव्य राखेका थिए । अनुभूति मन्तव्यको क्रममा उनले सम्मेलनमा सङ्गठनको सहभागिताले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनबारे स्पष्ट हुने र प्रशिक्षित हुने अवसर मिलेको उल्लेख गरे ।

सांस्कृतिक कार्यक्रममा सामाना सांस्कृतिक परिवारको तर्फबाट गायक तथा सङ्गितकार अनिश योन्जन च्याङ्बा, रमण थामी, शक्ति थामीले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । उक्त सम्मेलनमा महासंघको तर्फबाट सह–संयोजकद्वय ईश्वर तिमिल्सिना र विनोद थापाले प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :