क्रान्तिकारी युवा सङ्गठनद्वारा भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

क्रान्तिकारी युवा सङ्गठनद्वारा भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

रुपन्देही : क्रान्तिकारी युवा सङ्गठन, नेपालले भष्ट्रचारीबिरुद्ध जनकारवाहीमा उत्रिने चेतावनी दिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले भ्रष्टाचारबिरूद्व सङ्घर्षमा उत्रिने चेतावनी दिँदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो । सङ्गठनले देशमा बिभिन्न स्थानमा भष्ट्राचारका बिरुद्ध आन्दोलन गर्दै भष्ट्राचारमा सङ्लग्न उपर ‘कालोमोसो दल्दै’ आएको छ । क्रान्तिकारी युवा सङ्गठन, नेपाल लुम्बिनी (५ नम्बर ) प्रदेश समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि आफ्ना ३९ बुँदे मागसमेत सार्वजनिक गरेको छ ।

सङ्गठनले देशका तमाम समस्या समाधानका लागि यसअघि प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापनपत्र बुझाएको जनाएको छ । ती मागहरू सम्बोधन हुने नदेखिएकाले लुम्बिनी प्रदेश भित्रका जनजिविका, जनतन्त्र, जनाधिकारका बिषयलाई केन्द्रमा राखेर ३९ बुँदे माग सार्वजनिक गरेको क्रान्तिकारी युवा सङ्गठन, नेपाल प्रदेश इन्चार्ज झलक बिश्वकर्माले जानकारी दिए । सङ्गठनका केन्द्रीय कार्यालय सदस्यसमेत रहेका उनले देश यतिबेला राजनीति, आर्थिक, सामाजिक सांस्कृतिक समस्याहरूको चङ्गुलमा फसेको, देश निर्माण गर्ने युवा शक्ति विदेश पलायन हुने सङ्ख्या डरलाग्दो गरि बढेको, भ्रष्टाचार, कमिसन, ठगीलगायत अपराधका घटना बढ्दै गएको र जिम्मेवार निकाय समस्या समाधान गर्ने तर्फ गम्भीर नदेखिएकाले सङ्घर्षमा उत्रिनु परेको बताए ।

तमाम समस्याका कारण नेपाली समाज विघटनको दिसातिर अगाडि बढेको भन्दै उनले मुलुकमा ब्याप्त बिकृति र बिसङ्गतिको अन्त्यका लागि सङ्घर्षमा उत्रिनुको बिकल्प नभएको बताए ।

भ्रष्टाचार, जनजिविका र जनअधिकारको बारेमा सरकारको ध्यानाकर्षण गराउन राजधानी काठमाडौँस्थित सिंहदरबार, संसद भवन, बालुवाटार लगायतका ठाउँमा अर्धनग्न प्रदर्शन गरेको सो सङ्गठनले उक्त अभियानलाई प्रदेश, जिल्ला हुँदै पालिकामा बिस्तार गर्दै लैजान लागेको हो ।

सङ्गठनका प्रदेश इन्चार्ज झलक बिश्वकर्मा र प्रदेश संयोजक सङ्गीन भिउ थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा विकास निर्माण कार्यमा भएको ढिलासुस्ती, कमिसन तत्काल अन्त्य गर्नुपर्ने, स्वास्थ र शिक्षा क्षेत्रमा भइरहेको नीजिकरण तथा माफियाकरण अन्त्य गर्नुपर्ने, कृषि तथा औद्योगिक ब्यापारको ब्यवस्था मिलाई युवाहरूलाई रोजगारीको ब्यवस्था गर्नुपर्ने, बैंक तथा वित्तीय आतङ्क बन्द गर्नुपर्ने, उपभोक्ता समितिमा पार्टी कार्यकर्ता भर्ती गरि गरिने आर्थिक अनियमितता बन्द गर्नुपर्ने, अबैधानिक क्रेसर उद्योग बन्द गर्नुपर्ने, पहाडी वस्ति तथा नदी क्षेत्रमा भएको डोजर आतङ्क बन्द गर्नुपर्ने लगायतका माग समेटिएको छ ।

सङ्गठनले यसअघि बागलुङ बडीगाड गाउँपालिका स्वास्थ शाखा प्रमुख बिपेन्द्र प्रताप केसी र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रल्हाद कार्कीलगायतलाई जनकारवाही स्वरूप ‘कालोमोसो’ दलेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :