क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा चैत २४ सम्म सङ्घर्षका कार्यतालिका सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा चैत २४ सम्म सङ्घर्षका कार्यतालिका सार्वजनिक

काठमाडौँ : पार्टीको घोषित सङ्घर्षका कार्यक्रम अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेशले सङ्घर्षका कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । घोषित कार्यतालिका अनुसार आइतबार माघ २१ गते वायुसेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको विरुद्धमा न्यूरोड गेटमा विरोध प्रदर्शनको आयोजना गरिएको थियो । धर्ना र विरोधसभालाई ३ नं. प्रदेशका नेताहरूले सम्बोधन गरेका छन् ।

घोषित सङ्घर्षका कार्यक्रम अनुसार माघ २३ गते विद्युत प्राधिकरण कार्यालयमा एमसीसी परियोजनाका विरुद्ध सङ्घर्षरत लप्सीफेदीका जनताहरूको मागलाई समेत समावेश गरी ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ भने माघ २४ गते सर्वोच्च अदालतको कार्यादेशको कार्यान्वयन गर्न माग गर्दै सरकारका विरुद्ध भूतपूर्व गोर्खाहरूको सङ्गठन विगेसोले विरोधसभा गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी माघ २६ गते लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ भने, सोही दिन देशका अन्य ठाउँमा भएका एनसेलका कार्यालयहरूमा पनि तालाबन्दी गर्ने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सहकारीहरूमा बढ्दो वित्तीय बद्मासी, भ्रष्टाचार र जनसर्वसाधारणको बचतमाथि गरिएको व्यापक हिनामिनाको विरोधमा माघ २८ गते पुल्चोकस्थित सहकारी बोर्डको कार्यालयमा विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले उपत्यका लगायत देशैभर दिपावली मनाउने कार्यक्रम यसअघि नै घोषणा गरिसकेको छ । सोही अनुसार ३ नं. प्रदेशका जिल्लाहरूमा पनि जनयुद्ध दिवसको पूर्वसन्ध्यामा व्यापक रूपमा दिपावली गरिनेछ ।

फागुन १ गते अर्थात् जनयुद्धको २९ औँ वर्षगाँठको अवसरमा उपत्यकाका तीन जिल्लाको जनशक्ति केन्द्रित गरी कुपण्डोलमा विशेष कार्यक्रमका साथ जनयुद्ध दिवस मनाउने सो पार्टीको ३ नं. प्रदेशको कार्यालयले जनाएको छ । त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेशले वैदेशिक रोजगारीमा जाने मजदुरहरूमाथि भइरहेको ठगीविरुद्ध वैदेशिक रोजगार विभागको कार्यालयमा फागुन ६ गते विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

फागुन १० गते भ्रष्टाचारी विरोध सभाको अयोजना गरिएको छ । राष्ट्रिय गौरव भनिएका ठूला आयोजनाहरूमा भएका भ्रष्टाचारका विरुद्ध प्रदर्शन र विरोध गर्ने कार्यक्रम तय गरिएको छ । यो विरोध प्रदर्शन तथा सभालाई उपत्यकाको तीनै जिल्लाको जनशक्तिलाई केन्द्रित गर्नेसमेत सम्बद्ध स्रोतले जनाएको छ । उपत्यका बाहिरका जिल्लाहरूमा पनि भ्रष्टाचारी विरोधसभाको आयोजना गर्न सर्कुलरसमेत गरिएको छ ।
फागुन १४ देखि २१ गतेसम्म सहिद तथा वेपत्ता योद्धा परिवारहरूसँग भेटघाट, अन्तरक्रिया र सम्मान कार्यक्रमसहित सहिद सप्ताह मनाउने कार्यक्रम तय गरिएको छ भने फागुन २५ गते प्रदेशका तीनवटै उप–प्रदेशमा आठ मार्च (महिला दिवस) भव्य रूपमा मनाउने निर्णय गरिएको छ ।

सबै सङ्घर्षका कार्यक्रमहरूको उत्कर्षको रूपमा चैत्र २४ गते केन्द्रीय सङ्घर्षको कार्यक्रम अनुसार जनआन्दोलन दिवस मनाउन विशेष तयारी गर्ने निर्णय गरिएको सम्बद्ध पार्टीको प्रदेश कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :