वैज्ञानिक शिक्षाका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक

नवोदित कलम

वैज्ञानिक शिक्षाका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक

शिक्षा मानव समाजलाई बदल्न र देशलाई समृद्ध बनाउन अत्यावश्यक साधन हो । शिक्षा राजनीति र अर्थनीतिको प्रतिबिम्बन हो । शिक्षाले युगीन राजनीतिक, आर्थिक र सामाजिक संरचनाअनुसार राज्य र समाजको साधनको काम गार्दछ । कुनै पनि मुलुकको शिक्षाप्रणाली त्यस मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाअनुरूपको हुने गर्दछ । नेपालको वर्तमान राजनीतिक प्रणाली दलाल पुँजीवादी रहेकाले शिक्षा पनि दलाल पुँजीवादी सत्ताको निर्देशन, नियन्त्रण र नेतृत्वमा सञ्चालित छ । राजनीतिक सत्ताको मालिक दलाल पुँजीवादी भएकाले शिक्षा क्षेत्र त्यसको सेवामा समर्पित हुने, निर्देशनमा चल्ने र त्यस्तै अनुकूलको संस्कार बोकेको जनशक्ति उत्पादन गर्ने अखडा एवम् उद्योगमा परिणत भइरहेको छ । विद्यालय–बिश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने भट्टीमा परिणत भएका छन् । नेपालको वर्तमान शिक्षा आमजनता, समाज र राष्ट्रको हितमा नभई मुठीभर दलाल पुँजीपतिहरूको राजनीतिक सत्ताको आधारशिला निर्माण गर्ने, सेवा गर्ने, स्वार्थ सिद्ध गर्ने नोकर निर्मण गर्नेबाहेक अरू केही गर्न सम्भव छैन । अव्यावहारिक, अवैज्ञानिक, परम्परागत, रूढिवादी चिन्तनमा आधारित, दातृ मुलुक र वित्तीय संस्थाहरूको लगानी र सर्तअनुकुल चलिरहेको शिक्षाप्रणालीले सुखी नेपाली, समृद्ध नेपाल बनाउन आवश्यक जनशक्ति उत्पादन गर्ने होइन, कुन मुलुकमा कस्तो र कति जनशक्ति आवश्यक छ, त्यसको उत्पादन र पूर्ति गर्ने काम गरिरहेको छ । दलाल शासकहरूको परनिर्भरता र अस्पष्ट रणनीतिका कारण शिक्षा क्षेत्र कम्पास बिग्रेको जहाजजस्तो दिशाविहीन, अस्तव्यस्त र गुणस्तरहीन बनिरहेको छ ।

वर्तमान शिक्षा असमान, जनविरोधी, अवैज्ञानिक र अव्यावहारिक छ । सार्वजनिक शिक्षा सङ्कटपूर्ण अवस्थामा पुगेको छ । निजी शैक्षिक संस्थाहरू दिनमा दुई गुना, रातमा चौगुना फैलिरहेका छन् । शिक्षा मौलिक हकका रूपमा संविधानमा लेखिए पनि कार्यान्वयनमा पुँजीपतिहरूको पेवाजस्तो बनिरहेको छ । आधारभूत तहसम्म अनिवार्य र निःशुल्क, माध्यमिक तहसम्म निःशुल्कको नारा हास्यास्पद विषय बनिरहेको छ । निजीकरण तथा व्यापारीकरणको महामारीले शिक्षा राज्यको दायित्व होइन, नागरिकको व्ययभारको वस्तु बनिरहेको छ । शिक्षाजस्तो अपरिहार्य कुरालाई व्यापारको वस्तु बनाइएको छ । शिक्षा पुँजीपतिहरूको पेवाजस्तो बनेको छ । गरिब, किसान, मजदुर वर्ग शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छ ।

क्रुप्सकायाका अनुसार ‘पुँजीवादी विद्यालयमा विद्यार्थीलाई होसियारपूर्वक, ढङ्ग पुर्याएर, टिकेर काम गर्ने गुण विकसित गर्न ध्यान दिइन्छ तर सोच्ने, विचार गर्ने, नियाल्ने र निष्कर्ष निकाल्ने उनीहरूको क्षमता भने हरतरहले दबाइन्छ ।’ तसर्थ पुँजीवादी शिक्षाको उद्देश्य आलोचनात्मक र स्वतन्त्र चेतना भएको स्वाभिमनी नागरिक उत्पादन गर्ने होइन, पुँजीपतिहरूले सजिलै परिचालन गर्नसक्ने एकलकाटे, घोकन्ते, श्रमसँग नजोडिएको, समाजप्रति अनुत्तरदायी, निजी उत्पादन अर्थात् चरम व्यक्तिकेन्द्रित, व्यक्तिप्रधान सिद्ध भएको छ । यसप्रकारको शिक्षाका कारण आफ्ना निम्ति सबथोक गर्न तयार हुने समाज अथवा सामाजिक हितका लागि सामान्य चिन्ता पनि नलिने अवस्था उत्पन्न भएको छ । यसप्रकारको शिक्षा विकास हुनुको कारण वर्तमान राज्यप्रणाली हो । यो दलाल पुँजीवादी रहेको छ । यो व्यवस्थाले शैक्षिक क्षेत्रलाई दलाल पुँजीवादीहरूको गुलाम अथवा कारिन्दा उत्पादन गर्ने उद्योग मात्र ठान्छ । यसको एक मात्र विकल्प भनेको उत्पादनमूलक श्रमसँग जोडिएको, श्रमजीवीको हित गर्ने उद्देश्य भएको, राष्ट्रिय चरित्रसहितको व्यावहारिक, वैज्ञानिक समाजवादी शिक्षाप्रणाली हो जुन हजारौँ वर्ष तपस्या गरे पनि पुँजीवादी व्यवस्थाबाट प्राप्त हुन सक्दैन । त्यसका निम्ति वैज्ञानिक समाजवादी राज्य व्यवस्था नै एक अनिवार्य विकल्प हो । शिक्षा केही मुठीभर तत्वहरूको मात्र कब्जामा हुनु हुँदैन । शिक्षामा सबै नागरिकको हक हुनुपर्छ । समाजवादी शिक्षा राज्यको दायित्वभित्र हुन्छ । शिक्षामा निजीकरण र विभेदीकरण पूर्ण रूपमा अन्त्य गरिन्छ । समाजवादी शिक्षाप्रणालीमा शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकारका रूपमा कार्यान्वयन गरिन्छ । हरेक नागरिकले समान अवसरसहितको शिक्षा प्राप्त गर्ने सुनिश्चितता गरिन्छ । राज्यको उच्च ओहोदामा रहेकाको सन्तान र साधारण नागरिकको सन्तान अध्ययन गर्ने शिक्षालय एकै स्तरको हुन्छ । शिक्षामा भइरहेको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक सबै किसिमका विभेद वैज्ञानिक समाजवादी शिक्षाले मात्र अन्त्य गर्नेछ । यसर्थ आफ्नो र समाजको सुन्दर भविष्य निर्माणका निम्ति वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सम्पूर्ण युवा बिद्यार्थी क्रान्तिकारी विचारको बाटोमा गोलबद्ध हुनुको विकल्प छैन । सिर्जनशील मस्तिष्क र कलम यही बाटोमा अगाडि बढाऔँ । दलाल पुँजीवादी वर्तमान शिक्षाप्रणालीको भण्डाफोर गरौँ । वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिका लागि सम्पूर्ण युवा–विद्यार्थी एकजुट होऔँ ।

(लेखक अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :