कोरियाली जनता, व्यवस्था र विचारप्रति नेपालका क्रान्तिकारीहरूको सद्भाव महत्वपूर्ण छ : राजदूत जो योङ मान

कोरियाली जनता, व्यवस्था र विचारप्रति नेपालका क्रान्तिकारीहरूको सद्भाव महत्वपूर्ण छ : राजदूत जो योङ मान

काठमाडौँ : नेपालका लागि जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानले कोरियाली जनता, कोरियाली नेता किम इल सुङ प्रतिपादित जुछे विचार र कोरियाली समाजवादप्रति नेपालका क्रान्तितकारी कम्युनिस्ट पार्टी, देशभक्त शक्ति र वामपन्थीहरूको महत्वपूर्ण सद्भाव रहेको बताएका छन् । कोरियाली राष्ट्रपति किम इल सुङको २९ औँ स्मृति दिवसका सन्दर्भमा दूतावासले आफ्नै कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका पदाधिकारी, सल्लाहकार र सदस्यहरूका धारणाहरू सुनेपछि राजदूत जोले मञ्चले कोरियाली जनता, व्यवस्था र विचारलाई हृदयंगम गरी निरन्तर वैचारिक गोष्ठी, अन्तरक्रिया, प्रकाशन र बहस आयोजना गरेर दुई देश र शक्तिबीचको सम्बन्ध प्रगाढ बनाउँदै लगेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘कोरियाका राष्ट्रपति किम इल सुङ प्रतिपादित जुछे विचार, कोरियाली महान् नेता किम जोङ इल प्रतिपादित सङ्गुन नीति र कोरियाली समाजवादका बारेमा नेपाली जनसमुदायसम्म विचार प्रवाह गर्नुका साथै विभिन्न वैचारिक, राजनीतिक र बौद्धिक व्यक्तित्वहरूको सहभागितामा राष्ट्रपतिको स्मृति दिवस मनाएर मञ्चले एकापसको सम्बन्ध अझै सुदृढ गराएको छ । हामी मञ्चको यसप्रकारको कार्यक्रमप्रति आभारी छौँ र हाम्रो देशका जनतासमक्ष यो सन्देश प्रवाह गर्नेछौँ ।’

स्मरणीय छ, मञ्चले यही असार २० गते काठमाडौँमा किम इल सुङ र समाजवादी क्रान्ति’ विषयक विचारगोष्ठी आयोजना गरेको थियो । उक्त गोष्ठीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’, नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष एवम् नेकपा मालेका महासचिव सीपी मैनाली, नेपालका लागि जनगणतन्त्र कोरियाका महामहिम कार्यवाहक राजदूत किम जे एच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यहरू प्राडा जगदीशचन्द्र भण्डारी, पूर्णबहादुर सिंह, सपोर्टिङ सङ्गुन पोलिसीका अध्यक्ष माणिक लामालगायतले कोरियाली विचार र व्यवस्थाका साथै नेपालमा समाजवादी क्रान्तिको मोडेलका बारेमा बोलेका थिए ।

दूतावासमा आयोजित कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यसदस्यसमेत रहेका मञ्चका सल्लाहकार पूर्णबहादुर सिंह, मञ्चका अध्यक्ष अशोक सुवेदीका साथै पार्टी र मञ्चनिकट युवा सहभागी थिए ।

श्रद्धाञ्जली कार्यक्रममा मञ्चका अध्यक्ष सुवेदीले किम इल सुङप्रति श्रद्धाञ्जली प्रकट गर्दै कोरियालाई स्वतन्त्रता र मुक्ति दिलाउन किम इल सुङको नेतृत्वमा उनीद्वारा प्रतिपादित जुछे विचारको महत्वपूर्ण योगदान रहेको बताएका थिए । नेपालका आमूल परिवर्तनका पक्षपाती क्रान्तिकारी कम्युनिस्ट शक्ति र देशभक्तहरू नै कोरियाली जनताका असल मित्र रहेको भन्दै उनले नेपाल र कोरियाबीचको सम्बन्ध जनस्तरमा विकास र विस्तार हुँदै गएको र वैचारिक गोष्ठीका लागि दूतावासले मञ्चसँग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे । मञ्चका सदस्यहरू र राजदूत, कन्सुलरलगायत दूतावासका पदाधिकारीले किम इल सुङ र किम जोङइलको तस्बिरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :