नयाँ पार्टीको नाउँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पारित, अध्यक्षमा किरण र प्रवक्तामा कञ्चन निर्वाचित

काङ्ग्रेस, राप्रपा,एमाले, माकेलाई प्रतिक्रियावादी घोषणा गर्दै नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को एकता अधिवेशन सम्पन्न

नयाँ पार्टीको नाउँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पारित, अध्यक्षमा किरण र प्रवक्तामा कञ्चन निर्वाचित

काठमाडौँ : नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्घोषका साथ पार्टी अध्यक्षमा मोहन वैद्य ‘किरण’ र प्रवक्तामा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई चयन गर्दै नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को एकता अधिवेशन शनिबार सम्पन्न भएको छ । एकता अधिवेशनले दुई पार्टीबीच एकता भएर बनेको नयाँ पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल राख्ने निर्णय पनि गरेको छ ।
दुई पार्टीको संयुक्त अधिवेशनले काङ्ग्रेस, राप्रपा, एमाले, माकेलगायत दलाल पुँजीवादी सत्ताका पक्षधर पार्टीलाई प्रतिक्रियावादी घोषणा गरेको छ भने एमाले, माले, माकेलगायत कम्युनिस्ट खोल ओढेर दलाल पुँजीवादको रक्षा र प्रयोग गर्दै आएका संसद्वादी, संसदीय संसद्वादी दलमा अलमलिएर रहेका क्रान्तिकारीहरूलाई त्यहाँबाट विद्रोह गर्दै क्रान्तिकारी मालेमावादी आन्दोलनमा समाहित हुन आह्वान पनि गरेको छ ।
नयाँ जनवादी वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न बलिदान गर्नका लागि पनि तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै नवगठित पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरणले क्रान्ति सम्पन्न गर्ने अभियानमा लामबद्ध हुन सबै क्रान्तिकारीहरूलाई आह्वान गरे । अध्यक्ष किरणले पार्टी एकता हुँदा धेरै खुसी लागेको भन्दै यो गौरवको क्षण पनि भएको बताए । नयाँ पार्टीले देश र जनतालाई क्रान्तिकारी विकल्प दिएको भन्दै अध्यक्ष किरणले जनताले खोजेको वैकल्पिक नयाँ सत्ता नयाँ पार्टीले दिने विश्वास पनि व्यक्त गरे । उनले भने, ‘मुक्ति र परिवर्तनका आन्दोलनहरूमा जनताको धेरै रगत बगिसकेको छ । क्रान्तिका अगुवाहरूले धोका दिँदा अन्तिममा देश र जनतालाई पनि धोका भएको छ । जनताको इच्छा र श्रमिक वर्गको आवश्यकता पूरा गर्न निर्णायक क्रान्ति आवश्यक छ र त्यो पूरा गर्न क्रान्तिकारीहरूबीच एकता भएको छ ।’
प्रतिक्रियावाद र संशोधनवादसँग निर्णायक लडाइँ लड्न आवश्यक रहेको भन्दै अध्यक्ष किरणले एकता–सङ्घर्ष–रूपान्तरणको विधिबाट अघि बढ्दै क्रान्तिकारीहरूबीच ध्रुवीकरण अभियान जारी रहने र क्रान्तिकारीहरूको काँधमा आएको क्रान्ति पूरा गर्ने ऐतिहासिक जिम्मेवारी बहन गर्ने चुनौतीपूर्ण कार्यभार पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे ।

पार्टी प्रवक्तामा चयन भएका नेता कञ्चनले दुई क्रान्तिकारी पार्टीबीच एकताका लागि ठूलो चक्र पार गरेर देश र जनताले मागेको क्रान्तिकारी सत्ता निर्माण गर्न क्रान्तिकारी पार्टी गठन गरिएको बताए । संसद्वादी पार्टीहरूप्रति जनताको चरम वितृष्णा उत्पन्न भएको, देशको जटिल समस्या सम्बोधन गर्न जनभावना एकीकृत गर्ने अस्त्र र साधनका रूपमा यो एकता सफल हुने विश्वास व्यक्त गर्दै प्रवक्ता कञ्चनले टाटपल्टिएको देशलाई त्राण दिन, शिक्षा, स्वास्थ्य, रोजगार, जीविका, राष्ट्रघातबाट पिल्सिएका जनतालाई मुक्त पार्न पनि क्रान्तिकारी शक्तिबीच ध्रुवीकरण र क्रान्ति अपरिहार्य आवश्यकता रहेको प्रस्ट पारे ।
अमेरिकी साम्राज्यवादले नेपालको राजनीतिमै लगानी गरिरहेको, एमसीसी, एसपीपीलगायत राष्ट्रघाती सम्झौता लादिरहेको उदाहरण दिँदै प्रवक्ता कञ्चनले भारतीय साम्राज्यवादले नेपालका प्राकृतिक संसाधन कब्जा गर्न लगानी गरिरहेको र राजनीतिक हस्तक्षेपसमेत बढाइरहेको तर दलाल पुँजीवादी शासकहरू भने निरोले जस्तै बाँसुरी बजाएर बसिरहेको बताए । साम्राज्यवादी एजेन्टहरू जनताको वितृष्णाको परिणामस्वरूप रातारात बेलुनमा हावा भरेझैँ नयाँ रूपरङमा देखिएको भन्दै नेता कञ्चनले यी सबै समस्याको एक मात्र विकल्प क्रान्ति सम्पन्न गर्नु रहेको र त्यसका लागि सम्पूर्ण क्रान्तिकारी पार्टी र शक्तिहरू नयाँ क्रान्तिकारी अभियानमा लामबद्ध हुनुपर्ने बताए । उनले दुई पार्टीले तयार पारेको अन्तरिम राजनीतिक प्रतिवेदन पनि वाचन गरेका थिए ।


कार्यक्रमको अध्यक्षता गरिरहेका पूर्वक्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य गौरवले जनताले व्यग्रतासाथ प्रतीक्षा गरिरहेको क्रान्तिकारी पार्टीहरूबीच एकता गर्न पाउँदा अत्यन्त हर्ष लागेको भन्दै एकता मात्र पर्याप्त नहुने र क्रान्ति सम्पन्न गर्नु मुख्य कुरा हुने बताए । दुई पार्टीबीचको एकताले क्रान्तिकारी पार्टी, जनसमुदाय र विश्वकम्युनिस्ट आन्दोलनलाई पनि एक किसिमको सफलता प्राप्त भएको भन्दै नेता गौरवले प्रतिक्रियावादी वर्गबीच चलेको ध्रुवीकरणलाई धक्का दिँदै क्रान्तिकारी ध्रुवीकरण तीव्रतामा अघि बढ्ने र क्रान्ति सम्पन्न हुने विश्वास व्यक्त गरे ।


एकता अधिवेशनको सञ्चालन गरेका पूर्व नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले समाजवादी क्रान्तिमा कसरी प्रतिक्रान्ति भयो, किन जित्न सकिएन, नेपाललगायत देशका विजयोन्मुख समाजवादी क्रान्ति किन पूरा हुन सकेनन् भन्ने विषयमा नयाँ पार्टीले गहिरो अनुसन्धान गरी जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति अघि बढाउने बताए । माक्र्सवादको मौलिकताको रक्षा/संरक्षण नगरी क्रान्ति सम्पन्न गर्न नसकिने भन्दै नेता सुदर्शनले लेनिनले रुसमा र माओले चीनमा कसरी माक्र्सवादको विकास र प्रयोग गर्नुभयो भन्ने उदाहरण पनि प्रस्तुत गरे । ‘माक्र्सवादलाई जडसूत्रका रूपमा समातेर क्रान्ति सम्पन्न हुँदैन’, नेता सुदर्शनले भने, ‘विकसित परिस्थितिअनुसार माक्र्सवादको विकास गर्नुपर्छ । यो धर्मशास्त्र होइन ।’
जनयुद्धको नेतृत्व गरेका प्रचण्ड साम्राज्यवादको पछि लागेर आन्दोलनबाट पलायन भएपछि त्यसको चिरफार गरेर मक्र्सवादमा नयाँ विकास, नयाँ कार्यदिशा–कार्यक्रम र कार्ययोजनाको विकास गर्नैपर्छ’, नेता सुदर्शनले भने, ‘त्यसपछि त्यो सिद्धान्त र विचारका रूपमा विकास हुन्छ । नयाँ उदाएका भनिएका कथित स्वतन्त्र नामका झुण्डहरू साम्राज्यवादका झुसिला डकार रहेको पनि नेता सुदर्शनले बताए । उनले सङ्घर्ष र क्रान्तिकै माध्यमबाट नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी अघि बढ्ने र सबै क्रान्तिकारी केन्द्र बन्ने विश्वास पनि दिलाए । उनले अब क्रान्तिकारीहरूको ध्रुवीकरणको बाढी आउने र अआफूहरूले त्यो थेग्ने शक्ति पनि तयार पार्नुपर्ने बताए ।
अधिवेशनमा तत्कालीन नेकपा (बहुमत) सल्लाहकार समितिका अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले ‘पवन’ र तत्कालीन क्रान्तिकारी माओवादी सल्लाहकार समितिका संयोजक कमल चौधरीले नवौँ महाधिवेशन आयोजक समितिलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।


एकता अधिवेशनले अध्यक्ष किरण र प्रवक्ता कञ्चन रहेको १५ सदस्यीय कार्यालय, ८७ सदस्यीय सचिवालय र २६७ सदस्यीय नवाँै महाधिवेशन आयोजक समिति चयन गरेको छ । कार्यालयमा तत्कालीन नेकपा क्रान्तिकारी माओवादीका तर्फबाट किरण, गौरव, राजवीर, प्रतीक, प्रितम, वसन्त र एसटी रहेका छन् भने तत्कालीन नेकपा (बहुमत) बाट कञ्चन, सुदर्शन, दीपक, प्रवीर, गम्भीर, आजाद र निर्मल रहेका छन् । कार्यालयमा एक सदस्य चयन हुन बाँकी रहेको बताइएको छ ।
अधिवेशनमा राजवीरले अन्तरिम विधान, प्रितमले २९ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए ।
अधिवेशनले यही वैशाख १८ गते मे दिवसका दिन खुलामञ्चमा जनसमुदायका बीच पार्टी एकता घोषणा सभा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :