भोलि भव्य समारोहबीच उत्सवका रूपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पार्टी एकता घोषणसभा हुँदै

मौसमी प्रतिकूलताका कारण खुलामञ्चको कार्यक्रम बग्गीखानामा

भोलि भव्य समारोहबीच उत्सवका रूपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पार्टी एकता घोषणसभा हुँदै

काठमाडौँ : राजनीतिक र मौसमी दुवै प्रतिकूलता चिर्दै भोलि सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता घोषणासभा हुँदैछ । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को शनिबार काठमाडौँमा सम्पन्न एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन गरेको हो । अधिवेशनले पार्टी अध्यक्षमा मोहन वैद्य ‘किरण’ र प्रवक्तामा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई निर्वाचित गरेको छ ।
पार्टी एकता घोषणासभा भोली १८ गते खुलामञ्चमा गर्ने निर्णय भएको भए पनि मौसमी प्रतिकूलताका कारण यो कार्यक्रम सिहंदरबार अगाडि रहेकाे बग्गीखाना  स्काइ दरबार ब्याङक्वेटमा  हुने जानकारी पार्टी प्रवक्ता कञ्चनले दिएका छन् । एकता घोषणासभालाई उत्सवका रूपमा मनाउन देशभरबाट छानिएका नेता–कार्यकर्ता काठमाडौँ आउने क्रम जारी छ । घोषणासभामा जनसहभागिता गराउने नयाँ पार्टीको योजना छ ।
एकता अधिवेशनले विभिन्न संसद्वादी राजनीतिक पार्टीको विश्लेषण गर्दै काङ्ग्रेस, राप्रपा, एमाले, माकेलगायत दललाई प्रतिक्रियावादी घोषणा गरेको छ भने वामपन्थी खोल ओढेका पार्टीहरूमा अलमलिएर बसेका क्रान्तिकारी नेता–कार्यकर्तालाई ती पार्टीबाट विद्रोह गर्दै क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुन आह्वान पनि गरेको छ । अधिवेशनले वामपन्थी खोल ओढेका शक्तिका रूपमा विप्लव नेतृत्वको नेकपा, आहुती नेतृत्वको समूह, ऋषि कट्टेल नेतृत्वको नेकपालाई लिएको छ भने मसाल, नेमकिपा, मालेलगायत राजनीतिक शक्तिलाई दक्षिणपन्थी समूह घोषणा गरेको छ ।
संसदीय व्यवस्था गफाडीहरूको गफ गर्ने अखडा रहेको लेनिनको निष्कर्ष र यो व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने कसाईखाना रहेको माओको निष्कर्ष सही ठह¥याउँदै अधिवेशनले दलाल संसदीय व्यवस्था अन्त्य गरी जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिमा अघि बढ्ने र वैज्ञानिक समाजवाद स्थापना गरेर साम्यवादतर्फ अघि बढ्ने निष्कर्षका साथ क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुन सबै क्रान्तिकारीहरूलाई आह्वान पनि गरेको छ । मोहनविक्रम सिंह नेतृत्वको मसालसँग विद्रोह गरी बनेको नेकपा मशालसँग एकता वार्ता जारी रहेको र महाधिवेशनसम्म एकता हुने विश्वास अधिवेशनले लिएको छ । त्यसैको परिणामस्वरूप घोषणासभामा नेकपा मशाललाई मात्र आमन्त्रण गरिएको जानकारी पुनर्गठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरणले दिएका छन् ।
एकता अधिवेशनले अध्यक्ष चयन गरेपछि किरणले क्रान्ति, मुक्ति र बलिदानको बाटोमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
एकता अधिवेशनले अध्यक्ष किरण र प्रवक्ता कञ्चन रहेको १५ सदस्यीय कार्यालय, ८७ सदस्यीय सचिवालय र २६७ सदस्यीय नवाँै महाधिवेशन आयोजक समिति चयन गरेको छ । कार्यालयमा तत्कालीन नेकपा क्रान्तिकारी माओवादीका तर्फबाट किरण, गौरव, राजवीर, प्रतीक, प्रितम, वसन्त र एसटी रहेका छन् भने तत्कालीन नेकपा (बहुमत) बाट कञ्चन, सुदर्शन, दीपक, प्रवीर, गम्भीर, आजाद र निर्मल रहेका छन् । कार्यालयमा एक सदस्य चयन हुन बाँकी रहेको बताइएको छ । अधिवेशनमा राजवीरले अन्तरिम विधान, प्रितमले २९ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए । अधिवेशनको अध्यक्षता नेता सीपी गजुरेल ‘गौरव’ ले र सञ्चालन हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले गरेका थिए । अधिवेशनले यही वैशाख १८ गते मे दिवसका दिन जनसमुदायका बीच पार्टी एकता घोषणासभा गर्ने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :