अखिल क्रान्तिकारीद्वारा बालेन प्रशासनलाई चेतावनी

अखिल क्रान्तिकारीद्वारा बालेन प्रशासनलाई चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष समितिले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ महानगर प्रमुख बालेन प्रशासन निजी विद्यालयहरूको लुटको साक्षी बनेर शिक्षा क्षेत्रको व्यापारीकरण, निजीकरण र दलालीकरणमा सहभागी बनेको भन्दै चेतावनी दिएको छ ।
अखिल क्रान्तिकारी उपत्यका विशेष समितिका इन्चार्ज नवीन खड्काले प्रेस विज्ञप्ति जारी गरी सरकारी र सामुदायिक विद्यालयले असुल गरिरहेको चर्को शुल्क खारेज गर्न नसक्ने तर विद्यार्थी सङ्गठनले जायज मागका लागि लगाएको ताला फुटाएर ठूलै विश्वविजेता बनेको घमण्ड गर्ने कुराको कडा प्रतिरोध गर्ने उल्लेख छ ।
विज्ञप्तिमा महानगरले गरेका कमीकमजोरीबारे माफी माग्दै झूटको खेती बन्द गरी समाधान खोज्न पनि आग्रह गरिएको छ । समस्याको समाधान नगरिए कडा सङ्घर्षद्वारा जबाफ दिने चेतावनी पनि प्रेस विज्ञप्तिमार्फत दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी बालेन प्रशासनलाई हाम्रो सङ्गठनका तर्फबाट बुझाइएका मागहरू सम्बोधन गर्न, महानगरभित्रका शैक्षिक विकृति सुधार गर्न, नेपालको संविधान २०७२ द्वारा प्रदत्त-प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकबारे अध्ययन गरी शिक्षा ऐन नीति–नियम र निर्देशिकाअनुरूप कार्य गर्न सचेत गराउँछौँ ।’
विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

प्रेस विज्ञप्ति

हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रको आमूल रूपान्तरण र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको महान् अभियानमा निरन्तर सङ्घर्षरत छ । हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) द्वारा यस काठमाडौँ महानगरभित्रको शैक्षिक सुधारका लागि विगतदेखि नै मागपत्र बुझाउने, रचनात्मक कार्य गर्ने, शैक्षिक बेथितिका विरुद्ध सङ्घर्ष गर्ने गरिरहेको सर्वविदितै छ । पछिल्लो समयमा बालेन प्रशासनद्वारा सङ्गठनका जायज मागहरूप्रति बेवास्ता गर्ने, स्टन्टबाजीमा रमाउने, अपरिपक्व निर्णय गरेर बालहठ देखाउने गतिविधि निरन्तर भइरहेका छन् । बालेनका यस्ता गतिविधिहरूको घोर भत्र्सना गर्दछौँ । विगतमा पनि विद्यार्थी सङ्गठनलाई धार्मिक सङ्घसंस्था र एनजीओ/आईएनजीओसँग दाँज्ने कुराको प्रतिरोध गरिएको थियो । राणा शासन फाल्नेदेखि गणतन्त्र ल्याउने विद्यार्थी आन्दोलनको गौरवशाली इतिहासमाथि अज्ञानी बालेनद्वारा भद्दा मजाक गर्ने र घुमाउरो तरिकाले विद्यार्थी अधिकारका लागि लड्ने संस्थामाथि प्रतिबन्ध लगाउने कुकर्मको विरोध गरिएको हो । तर त्यसको उल्टो व्याख्या गरी विद्यालयमा राजनीति गर्न पाउनुपर्छ भन्ने माग गरेको भन्दै भ्रमपूर्ण प्रचार गरियो । हाम्रो सङ्गठन विद्यालयमा घिनलाग्दो राजनीति गर्दैन । हामी शैक्षिक सुधारका लागि रचनात्मक कार्य गर्छौं । बेथिति, भ्रष्टाचार र अन्याय–अत्याचारका विरुद्ध विद्यार्थीलाई र आमजनताहरूमा सङ्गठित तवरले सचेतना फैलाउने गर्दछौँ । अरू लुटिखाने यही व्यवस्थाका मतियारहरूसँग हामीलाई तुलना नगर्न खबरदारी गर्दछौँ ।
हामी बालेन प्रशासनलाई हाम्रो सङ्गठनका तर्फबाट बुझाइएका मागहरू सम्बोधन गर्न, महानगरभित्रका शैक्षिक विकृति सुधार गर्न, नेपाल संविधान २०७२ द्वारा प्रदत्त— प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकबारे अध्ययन गरी शिक्षा ऐन नीति–नियम र निर्देशिकाअनुरूप कार्य गर्न सचेत गराउँछौँ । निजी विद्यालयहरूको लुटको साक्षी बनेर शिक्षा क्षेत्रको व्यापारीकरण, निजीकरण र दलालीकरणमा सहभागी बन्ने, सरकारी र सामुदायिक विद्यालयले असुल गरिरहेका चर्को शुल्क खारेज गर्न नसक्ने अनि विद्यार्थी सङ्गठनले जायज मागका लागि लगाएको ताला फुटाएर ठूलै विश्वविजेता बनेको घमण्ड गर्ने कुराको हामी कडा प्रतिरोध गर्दछौँ । महानगरले गरेका कमीकमजोरीबारे माफी माग्दै झूटको खेती बन्द गरी समाधान खोज्न आग्रह गर्दछौँ अन्यथा कडा सङ्घर्षद्वारा जबाफ दिने कुरा यसै प्रेस विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौँ ।

क्रान्तिकारी अभिवादनसहित
नवीन खड्का
इन्चार्ज

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :