लाजेहाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा (बहुमत) ले पहिचान पक्षधरलाई भन्यो–

आन्दोलनलाई वर्ग–मुक्तिसहितको स्वशासनका पक्षमा रूपान्तरण गरौँ

लाजेहाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा (बहुमत) ले पहिचान पक्षधरलाई भन्यो–

काठमाडौँ : नेकपा (बहुमत) ले कोसी प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिँदा प्रहरीको चरम यातनाबाट ज्यान गुमाएका प्रदर्शनकारी पदम लिम्बू लाजेहाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै पहिचान पक्षधर सम्पूर्ण जनसमुदायलाई आफ्नो आन्दोलन वर्ग–मुक्तिसहितको स्वशासनको आन्दोलनमा रूपान्तरण गर्न आह्वान गरेको छ ।

पार्टी प्रवक्ता सुदर्शनले शुक्रबार विज्ञप्ति जारी गर्दै आत्मनिर्णयको अधिकारसहितको स्वशासन प्रदान गर्ने वैज्ञानिक समाजवादी प्रणालीको स्थापना मात्रै उत्पीडनबाट मुक्ति एवम् समस्याको समग्र समाधान रहेको प्रस्ट पार्दै आन्दोलनकारीलाई वर्ग–मुक्तिसहितको स्वशासनको आन्दोलनमा रूपान्तरण गर्न आह्वान गरेका हुन् ।

पार्टी प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशहरूको नामकरण गर्ने प्रक्रियाअन्तर्गत प्रदेश १ को नाम कोसी प्रदेश घोषणापछि पहिचान पक्षधरहरूका तर्फबाट त्यसविरुद्ध निरन्तर प्रदर्शन भइरहेको छ । आन्दोलनका क्रममा प्रहरीको चरम यातनाका कारण पदम लिम्बू (लाजेहाङ) को मृत्युसमेत भैसकेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुराष्ट्रिय (ल्बतष्यल) मुलुक हो भन्ने कुरा दिनको घामजस्तै स्पष्ट तथ्य हो । आफ्नो स्वाभिमान र सांस्कृतिक पहिचानका पक्षमा उभिनु हरेक उत्पीडित राष्ट्रहरूको नैसर्गिक अधिकार हो । हाम्रो पार्टी हरेक उत्पीडित राष्ट्रको स्वशासनको अधिकारलाई आत्मसात गर्दछ । तर हाल देशमा जुन प्रकारको सङ्घीयता थोपरिएको छ त्यो उत्पीडित राष्ट्रहरू एवम् उत्पीडित जनतालाई मूर्ख बनाउने दलाल पुँजीवादी प्रतिक्रियावादी राजनीतिको उद्देश्यद्वारा निर्देशित छ । के कुरा स्पष्ट छ भने राज्यसत्ताको चरित्र शोषणकारी रहँदासम्म उत्पीडित वर्ग, राष्ट्र एवम् समुदायले वास्तविक अधिकार प्राप्त गर्नु असम्भव छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा एकातिर उत्पीडित राष्ट्रहरूको स्वाभिमानलाई स्वीकार गर्न नसक्ने एकात्मक सामन्ती प्रवृत्ति एवम् पहिचानका नाममा साम्राज्यवादको दलाली गर्ने दुवैखाले प्रवृत्तिविरुद्ध समेत सचेत रहनु उत्तिकै जरुरी छ । हामी के कुरा स्पष्ट गर्न चाहन्छौँ भने आत्मनिर्णयको अधिकारसहितको स्वशासन प्रदान गर्ने वैज्ञानिक समाजवादी प्रणालीको स्थापना मात्रै उत्पीडनबाट मुक्ति एवम् समस्याको समग्र समाधान हो । अतः पहिचान पक्षधर सम्पूर्ण जनसमुदायलाई आफ्नो आन्दोलन वर्ग–मुक्तिसहितको स्वशासनको आन्दोलनमा रूपान्तरण गर्न आह्वानसहित मृतक लाजेहाङप्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :