ओ प्रिय–प्रिय वसन्त ! तुसारे शिशिरले कति दिन रोक्न सक्छ तिम्रो आगमनलाई !

समय समीक्षा

ओ प्रिय–प्रिय वसन्त ! तुसारे शिशिरले कति दिन रोक्न सक्छ तिम्रो आगमनलाई !

यो महिनामा विश्वमा र मुलुकमै पनि धेरै र चर्चित परिघटना र गतिविधिहरू भएका छन् । विश्वसाम्राज्यवादको नाइके अमेरिकी साम्राज्यवादका बैङ्कहरू टाटपल्टिएका सूचनाहरू सार्वजनिक भइरहँदा मल र बिउ नपाएर र कृषिउपजको बजार सुनिश्चित नभएर रन्थनिइरहेका नेपालका किसानहरूको टाउकोमा बज्रप्रहार गर्दै दलाल सरकारले अनुदान घटाएको छ । किसानहरू भोकै मरे पनि शासकहरूलाई आफ्नो कुर्सी र टाउकाको मात्र पिरलो छ । पुष्पकमल दाहालका पूर्वअभिव्यक्तिविरुद्ध साम्राज्यवादले नेपाली मुहारका उसका दलालहरूलाई उकासेपछि माओवादी वृत्तमा एउटा ससानो भूकम्पको झड्का गएको देखिएको छ र केही संसदीय संशोधनवादीहरू यही मौका पारेर दलाल पुँजीवादका मतियारहरूको फेरो समाउन पुगेका छन् । मालेमावादी क्रान्तिकारीहरूले संसद्वादीहरूको षड्यन्त्रको जालो चिरेर विद्रोह बोलेका छन् । मानिसका बीचमा खाडल बढिरहेको समयमा माक्र्सवादी युवा कवि रसुवाली कवि मानिसका बीच अन्तर राख्ने ‘लाइन’ अर्थात् लामको सूक्ष्म चर्चा यसरी गरिरहेका छन् :

माथि
बडा हजूरहरूको लाइन छ
तल
जदौ ! भनिरहेकाहरूको लाइन छ
माथि
जङ्गबहादुरहरूको लाइन छ
तल
दासी र प्रजाहरूको लाइन छ
माथि
पुरेतहरूको लाइन छ
तल
चमारहरूको लाइन छ
माथि
ओली, प्रचण्ड र देउवाहरूको लाइन छ
तल
मैना सुनार, लली रोका र इच्छुकहरूको लाइन छ
माथि
मुख्य सचिव, सचिव र अधिकृतहरूको लाइन छ
तल
पिउन, हल्कारा र हकरहरूको लाइन छ
माथि
जनवादी केन्द्रीयताका केन्द्रीय कमरेडहरूको लाइन छ
तल
सहिद, घाइते र अपाङ्गहरूको लाइन छ
माथि
हिन्दु राष्ट्र, राजा, सनातनीहरूको लाइन छ
तल
प्रजातन्त्रमा पिल्सिएकाहरूको लाइन छ
माथि
जिसस, श्रीकृष्ण र बुद्धहरूको लाइन छ
तल
असहाय, प्रेमहीन र दुःखीहरूको लाइन छ
माथि
आइस्योस्, खाइस्योस्को लाइन छ
तल
ओइ–ओइहरूको लाइन छ
यो चराचर जगत्मा
अटुट छ लाइन बस्ने प्रक्रिया
आउनुस्
हामी तोडौँ
यी डरलाग्दा लाइनहरू !
वास्तवमै यी लाइनहरू डरलाग्दा लाइनहरू हुन् । यी लामो समयदेखिका लाइन वा बेपर्बाह लामहरूबीचको विभेद मेट्नकै लागि नेपाली जनताले तन, मन, धन दिए, विद्रोहमा लामबद्ध भए । नेपाली जनताले दर्जनभन्दा बढी सङ्घर्षहरूमा भाग पनि लिए । नेपाली जनताले क्रूर राणाशाही बेहोरे र त्यसले निर्माण गरेका लाइनहरूका विरुद्ध मकैको खेती लेखेर बलिदान दिए । शोभाभगवती र टेकुहरूमा गोली खाए, झुन्डिए । सात सालको आन्दोलन, किसान विद्रोह हुँदै २०२८ सालमा झापामा विद्रोह पनि बोले । जनमतसङ्ग्रह गराए । सिंहदरबारमा बम पड्काए । जनआन्दोलन गरे । जनयुद्ध पनि लडे तर पनि जनताका बीचमा दलाल सत्ताले खडा गरेका यी लाइन अर्थात् लामहरूको अन्त्य भएन । यिनै लाइनहरूको अन्त्यका लागि अर्थात् लाइनविहीन समतामूलक साम्यवादी समाज निर्माणका लागि जनताले लडेको जनयुद्धकै विषय यति बेला विवादित बनाउन खोजिएको छ । जनयुद्धका नायक भनिएका पुष्पकमल दाहालमाथि साम्राज्यवादले कथित अदालतको आदेशरूपी तरबार झुन्ड्याएपछि उनी तिल्मिलाएका छन् र उनीसँगै माओवादी नाउँ गरेका अरू केही समूह पनि तिल्मिलाएझैँ गरिरहेका छन् । कतिपय संसदीय संशोधनवादीहरू त यही मौकाको उपयोग गरेर प्रचण्डको फेर समात्ने दाउमा लागेका पनि देखिएका छन् । जनयुद्धका विरासतहरूमाथि खण्डखण्ड गरेर, भित्रदेखि बाहिरसम्मकाले, सेना र प्रहरीदेखि कथित न्यायालयसम्मले प्रहार गरिरहेको समयमा रसुवाली कवि भने जनयुद्ध जारी रहेकै अभिव्यक्ति दिँदै छापामारको महत्व र महिमागान गाइरहेका छन् :
छापामारहरू भन्छन्–
उदास आँखाहरूलाई जुनेली रात चाहिन्छ
सपना निभेका झुपडीहरूमा
एक पित्को खुसी चाहिन्छ
कमान्डरले खुट्टा कमाउँदा
बाटो नभुल्ने योद्धाहरूको अठोट चाहिन्छ
रोल्पा, रुकुम र प्युठानहरूजस्तै
प्रतिरोधको किल्ला चाहिन्छ
छापामारहरू भन्छन्–
गोडा फाट
सतर्क
गोडा फाट
सतर्क ।

संसारका जुनसुकै जेलहरू साँघुरा हुन्छन्
मरेन भने मान्छेको स्वाभिमान
संसारका सबै कानुनहरू फिक्का हुन्छन्
जलेन भने मान्छेको स्वाभिमान
छापामारहरू भन्छन्–
गोडा फाट
सतर्क
गोडा फाट
सतर्क ।

आगोलाई थुनेर आगलागी रोक्न सकिँदैन
केहीलाई केही टुक्रा सख्खर खुवाउँदैमा
डगमगाउन सक्दैन तुफानको अन्तर्राष्ट्रिय गीत
डाँडाभरि बतास चल्छ
धर्तीमा घाम लाग्छ
सानो हत्केलाले छेकिँदैनन् सूर्यका सुन्दर किरणहरू
तिमीहरूले भन्दैमा
रोकिँदैन बतास र पहिरो पनि
हजारौँ बेलीका पातहरू झारेर
वसन्तमय आँधीलाई छेक्न सकिँदैन
छापामारहरू भन्छन्–
गोडा फाट
सतर्क
गोडा फाट
सतर्क ।
भर्खरै जनयुद्ध दिवस आयो र युद्धमय दिनहरू सम्झाएर गयो । महान् सहिद सप्ताह आयो र भग्नावशेष बनाउन लागिएका दसौँ हजार सहिदका सपनाहरूलाई ताजा बनाएर बिदा भयो । केही मानिसहरू यही तुसारे शिशिरलाई अड्याइरहने षड्यन्त्रमा छन् तर वसन्त त आएरै छोड्छ हजारौँ, लाखौँ, करोडौँ र अर्बौं उदीग्न मनहरू बहलाउन, गत वसन्तमा बाँधेका अधुरा वाचाहरू पूरा गर्न र यो दुर्गधिन्त समयलाई अन्त्य गरेर नयाँ समयलाई सुगन्धित पार्न पनि, वसन्त त आएरै छोड्छ– हामीले महान् सहिद र बेपत्ता योद्धाका सन्ततिहरूलाई वसन्त ल्याएरै छोड्ने वाचा बाँधेर फर्किएका छौँ पोखरा बैठकबाट, सहिद–बेपत्ता योद्धाहरूका प्रियजनका बीचबाट ।
यो कमजोर समय होइन । जनयुद्धका नायक भनिएकाहरू टाउकाको मोल तोक्नेहरूसँगै घाँटी जोडेर क्रान्तिकारीहरूविरुद्ध योजना बनाइरहेको भए पनि, शरीरभरि पानी छम्किएर, पर्सिएर भोग दिन लागेको बोकाले मुन्टोसहित जिउ हल्लाएर हुन्न–हुन्न भन्दाभन्दै बगरेले ‘ल बोक्यो मान्यो, अब काट्नुपर्छ’ भनेर हतियार उद्याएझैँ कायल भइसकेका प्रचण्डलाई आज साम्राज्यवादले नेपाली न्यायालयरूपी आफ्नो कठघरामा अन्तिम बयान दिन ऐलान गरिरहे पनि नेकपा ९बहुमत० को केन्द्रीय समितिको चौथो पूर्ण बैठकले नेपालमा मालेमावादी क्रान्तिकारीहरूबीच एकता भएरै छोड्ने र क्रान्ति पूर्ण गरेरै छोड्ने ऐतिहासिक निर्णय गरेको छ ।
साम्राज्यवाद कति खतरनाक छ भन्ने कुरा बबुरा प्रचण्डले बुझेकै रहेनछन् १ जनयुद्धको समयमा आततायी शाहीसेना वा क्रूर प्रहरी जत्थाले सहरबाट कब्जामा लिएका कतिपय योद्धाहरूलाई बयान गराइसकेर वा कायल गराएर आत्मसमर्पण गराइसकेर हत्या गरिदिएझैँ जनयुद्ध परित्याग गरिसकेका र दलाल पुँजीवादमा आत्मसमर्पण गरिसकेका प्रचण्डमाथि मुद्दा हाल्न लगाएर साम्राज्यवादले उनीभित्र माओवादको कुनै अंश बाँकी छ कि छैन भनेर अन्तिम धुकधुकी छामिरहेको बुझ्न सकिन्छ । त्यसैले उनले क्रान्तिकारी धाराका अन्य माओवादी पार्टीहरूलाई पनि आफूसँगै ‘सती’ लग्न खोजेका थिए । जनयुद्धलाई गम्भीर धोका दिएका प्रचण्डलाई नजिकैबाट चिनेका, भोगेका क्रान्तिकारीहरूले बेलैमा उनलाई छोडिदिए । उनीसँग अब नामधारी माओवादी अर्थात् संसदीय संशोधनवादीहरू मात्र बाँकी छन् र सायद उनको मनोदशा हेरेर सँगसँगै रोइरहेका छन् ।
युवा माक्र्सवादी कवि बीपी विद्रोहीलाई पछिल्ला अधिकांश दृश्य र चित्रहरूले गहिरो गरी छोएका छन् । ‘यो चित्र भयानक छ’ शीर्षक कवितामा उनी लेख्छन् :
धर्म बेचेन कि
युद्ध बेचेन कि
सिया र सुन्नीदेखि
मुसलमान र हिन्दुसम्म के–के बेचेन
इजरायल–प्यालेस्टाइन बेचेन कि
मध्यपूर्वदेखि
युरोपेली युनियन, युक्रेन बेचेन कि रु
गुजराती र बङ्गाली बेचेन कि
बिहारी र यूपीवाली बेचेन रु
युगौँदेखि मिलेर बसेका
सेता र हरिया पहाडलाई
किन चुच्चे, थेप्चे र कोप्चे मात्रै देख्यो १
राता र चम्किला मधेस र थारूलाई
किन कालो र कल्चौँरो मात्र देख्यो रु त्यो सत्ताले
सत्ता त एउटा बुख्याँचा थियो
कसैले झुम्राले बनाइदिएको १
पुँजीवादले किनबेच गर्दागर्दै
यस्तो सामान भेट्टायो
त्यो हरेक देशको सत्ता किन नहोस्
हरेक देशको राजनीति किन नहोस्
हिजो आँगनमा
गुलेलीसँग पुच्छर लुकाउँदै भागेको पुँजीवाद
आज विश्वबजारमा मिसाइल बेच्छ
मोटारगन चलाउन नजानेर
हारेको साम्राज्यवाद आज
विश्वका गल्लीगल्लीमा युद्ध बेच्छ
भान्छाभान्छामा कलह बेच्छ
सिजनसिजनमा रोग बेच्छ
महँगामहँगा अस्पताल बेच्छ
उपचार बेच्छ
बस्तीबस्तीमा लगेर धर्म बेच्छ
घरघरमा लगेर जात बेच्छ
यहाँको राजनीति
सामाज्यवादको व्यापारभन्दा केही होइन
विभिन्न शक्तिकेन्द्रका औजारबाहेक केही होइन
यहाँको परिपाटी
पुँजीवादको दास मानसिकताको
गुरुयोजनाबाहेक केही होइन
तपाईं बेल्चा हानिरहनुभयो
तपाईं सलाम ठोकिरहनुभयो
तपाईं भारी उचालिरहनुभयो
म पनि त्यस्तै केही गरिरहेँ
तपाईं र मैले के–के के–के गरिरहँदा
साम्राज्यवादले यहीँ, यतै के–के उपद्रो गरिरह्यो
हामीले बेल्चा हानिरहँदा
के–के गुनगुनाइरहनुपर्ने थियो
हामी सलाम ठोकिरहँदा
लालसलाम भुल्नु नहुने थियो
भारी उचालिरहँदा
राइफलको वजन सम्झिरहनुपर्ने थियो
तपाईं–हाम्रो सपना
र पुरानो सत्ता
दुई सय प्रतिशत भन्सार तिरेर
तेह्र प्रतिशत कर लगाएर
वासिङ्टन र दिल्लीका फुटपाथ घुमेर
भन्टाबारी र तातोपानी नाकाबाट
खरिदिनेछौँ
बेचिनेछौँ
वान्ली सेल्स फर क्यापिटालिजम
लेखिएका स्टिकर टाँसिएर सँगैसँगै
यहाँका माफिया र दलालका होलसेलहरूमा
यो चित्र भयानक छ
बुझ्ने कोसिस गरौँ ।
हो, साम्राज्यवाद अत्यन्त पागलपूर्ण ढङ्ले हाम्रो बिस्तरादेखि भान्छासम्म र परिवारका सदस्यहरूबीच पनि पसेर खेलिरहेको छ, हामीलाई विभाजित बनाउन र ध्वस्त पार्न न्वारानदेखिको बल लगाएर मेहनत गरिरहेको छ । यस्तो जोखिमपूर्ण समयमा मालेमावादी क्रान्तिकारीहरूबीच क्रान्तिलाई केन्द्रमा राखेर, वैज्ञानिक समाजवादलाई ध्याउन्न र लक्ष्य बनाएर एकता र ध्रुवीकरण हुनुपर्छ । पोखरा बैठकले हामीलाई क्रान्ति सम्पन्न गर्ने सर्तमा क्रान्तिकारीहरूबीच एकता गर्ने म्यान्डेट दिएको छ । हारेर, क्रान्तिबाट पिठ्यँु फर्काएर भाग्ने प्रचण्ड र विप्लव होइन, बरु बलिदान हुन तर कहिल्यै नथाक्ने चेग्वे भारा बन्ने आदेश दिएको छ ।
लघुवित्तको अचाक्ली शोषणविरुद्ध नेकपा ९बहुमत० ले चैत १ गतेदेखि सङ्घर्ष आरम्भ गर्ने निर्णय गरेको छ । पार्टीले समाजका सबै क्षेत्रका विकृति, विसङ्गति र व्यभिचारविरुद्ध पनि जनतालाई साथमा लिएर आन्दोलन अघि बढाउने निष्कर्ष निकालेको छ । दलाल पुँजीवादले मुलुकलाई विदेशीका सस्ता सामान बेच्ने बजार बनाउने उद्देश्यले कौडीको भाउमा बेचेका वा दलालहरूसँग साँठगाँठ गरेर बन्द गराएका राष्ट्रिय गौरवका उद्योगहरू सञ्चालन गर्न माग राखेर आन्दोलन गर्ने, धर्ना दिनेसम्मका सङ्घर्ष घोषणा गरेको छ । जनताका लागि निरन्तर क्रान्ति, निरन्तर सङ्घर्ष, निरन्तर विद्रोह निरन्तर उत्सव पनि हो भन्ने महान् वाणीलाई आत्मसात गर्दै पार्टीले जनताका समस्यालाई मसिनो र गहिरो गरी ग्रहण गर्ने निर्णय पनि गरेको छ । त्यसैले पोखरा बैठक नेकपा ९बुहमत० को जीवनकै ऐतिहासिक बैठक पनि बन्नसक्छ । क्रान्तिकारीहरूले बैठकका निर्णयहरूलाई आत्मसात गर्दै कार्यान्वयनमा जानुपर्छ र क्रान्तिको झन्डालाई माथि उठाउनुपर्छ ।
यो साता विद्यार्थीहरू स्ववियु चुनावमा होमिँदैछन् । विद्यार्थी भनेका युवा पनि हुन्, क्रान्तिकारी पनि हुन्, बौद्धिक र यौद्धिक शक्ति पनि हुन् । त्यसैले क्रान्तिकारी विद्यार्थीले स्ववियु जित्नुपर्छ, दलाल सत्ताको भण्डाफोर गर्नुपर्छ र क्रान्तिको आधारभूमि निर्माण गर्नुपर्छ । पूर्वविद्यार्थी नेता लोकेश विकले ‘अखिल क्रान्तिकारीका लागि गीत’ पस्किएका छन् । उनको गीतले भन्छ :
चिनाउँछौँ को आफ्नो, को हो बैरी
शैक्षिक यात्राको अजम्मरी
विद्यार्थी सँगसँगै सधैँभरि
हामी क्रान्तिकारी, अखिल क्रान्तिकारी ।

केही आउँछन् नक्कली फूलबुट्टा बोकेर
मोटाउँछन् हाम्रै खुन–पसिना चुसेर
अमृत फल्दैन विषमा बिउ छरेर
देखाउँछौँ हामी सब नयाँ गरेर
रोकिन्छन् जालझेल र मनपरी
हामी क्रान्तिकारी, अखिल क्रान्तिकारी ।

आँट र साहसलाई बुझ्न सक्ने
प्रतिभा र क्षमता पुज्न सक्ने
अरूझैँ होइन यो नकावधारी
हामी क्रान्तिकारी, अखिल क्रान्तिकारी ।

गर्दैन दलाली, गर्दैन झेल
लुट्ने र लुटाउने बन्द हुन्छ खेल
कोही पनि बिद्यार्थी हुँदैनन् फेल
भाग्नेछ गुन्डाराज, रोकिन्छ मनपरी
हामी क्रान्तिकारी, अखिल क्रान्तिकारी ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भर्खरै सकिएको छ र संसारभरका क्रान्तिकारी श्रमिक महिलाले फेरि पनि क्रान्तिकै माध्यमबाट आफ्नो वर्गको मुक्ति गर्ने शपथ लिएका छन् । देश र जनताका मुद्दाबाट अलग्गिएका दलाल पुँजीवादी शासकहरूले अकारण र अस्वाभाविक रूपमा महत्व दिएर आलङ्कारिक राष्ट्रपतिको चुनावलाई कार्यकारी राष्ट्रपतिकै शैलीमा हल्ला फिँजाएका थिए । ढल्न लागेको सत्तालाई जोगाउन गरिएको स्याल हुइयाँबाहेक केही पनि साबित भएन त्यो । हात्ती आयो, हात्ती आयो फुस्सा भनेझैँ सत्रपटक प्रधानमन्त्रीमा हारेका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन दलाल पुँजीवादी शासन र सत्ताभित्र एक महिनासम्म भएको नग्न नृत्यको पर्दा उत्रिइसकेको छ । अब जनताका सामुन्ने क्रान्तिकारी आन्दोलनका लागि तयार हुने विकल्पबाहेक अरू केही बाँकी छैन ।
अध्येता सरस्वती मोहराले मङ्गलबार अपराह्न आइन्सटाइनको एउटा महान् उक्ति पोस्ट गरिन् । उक्त उक्ति थियो ः
म मेरो आन्तरिक र बाह्य जीवनको निर्माणमा कयौँ अनगिन्ती मान्छेहरूका श्रमको हात रहेको प्रतिदिन अनुभव गर्ने गर्छु । यो अनुभूतिबाट उद्दीप्त मेरो अन्तस्करण यतिविघ्न यसरी छट्पटाउँछ, म विश्वलाई कमभन्दा कम यति त दिनसकूँ जति मैले अहिलेसम्म लिएको छु । हो, हामी सबै क्रान्तिकारीले अब फेरि दिने बेला भएको छ । यही महान्वाणीको मर्मबोध गरौँ ।
यो साताको समय समीक्षा आफ्नै ‘विनिता चोक’ शीर्षकको कविता प्रस्तुत गर्दै अन्त्य गर्ने अनुमति चाहन्छु :

विनिता चोक
भर्खरभर्खर बस्ती बस्न थालेको
धुलैधुलोले पुरिएको सडककिनारमा
पन्छाएर पातपतिङ्गर र
बटुवाले फालेका कबाडीका टुक्रा
स्कुलतिर लाग्ने गोरेटोको छेवैमा जोरेर चुला–चम्का
बसालेर कालै पिँध भइसकेका डेक्चीहरू
राखेर खुट्टा भाँचिएको ओदान
पारेर जोरजाम घुस्र्यान
सल्काउँदै मैनछाप सलाईको आगो
भर्खर चल्मलाउन थालेको बजारउन्मुख गाउँ जाने चोकमा
बेच्थे ती चिया र चना
कहाँ बिक्थ्यो र मात्र चिया–चना रु
चियासँगै बिक्थ्यो कहिले सपना
सपनासँगै बिक्थ्यो कहिले श्रमशील जीवन ।

कुनै नाउँ थिएन
अर्थात् अनाम थियो त्यति बेलासम्म त्यो ठाउँ
‘भालचन्द्रे बुढा’ दम्पतीपछि
लुछाचुँडी भएको खेतको शिर न थियो १
जहाँ उनीहरू कालो दिउरेमा बेच्थे चिया
र चियासँगै बुन्थे रङ्गीन जीवनका सपनाहरू ।

त्यो अनाम चोक
बेनाम चोक थियो, बेवारिसजस्तै
आएनन् कुनै पनि पार्टी र नेता
लिएर कुनै रङ खुइलिएको झन्डा र उदास अनुहार
कसले राख्थ्यो त्यो धुले चोक, चिया चोक
वा भनौँ गरिब चोकको नाउँ १

खाए होलान् अवश्य
कतिपय महाशय र लाडसाबका अपशब्द
खपे होलान् कतिपय स्वनामधन्य भलाद्मीका कटाक्ष
सहे होलान् कयौँ सडक यात्रु र सवारी यात्रुका गाली
धुले सडकको किनार न थियो
अस्तव्यस्त पसिनाको पसल न थियो
केही थान स्टिलका गिलाँसहरू
केही थान प्लास्टिकका रिकापी र चम्चा
चियासँगै घोलिएका केही थान सुन्दर सपना ।

दुःखैदुःखका बीच
बेच्दाबेच्दै केही कप चिया र
केही प्लेट तरकारी–चिउरा
अमर मायाको चिनो
जन्म दिए तिनले सन्तान
सुकुमारी छोरी ।

खेल्दै धुलोमाटो
निकाल्दै सिँगानको लत्का नाकका पोराहरूबाट
नचाहेर पनि सुन्दै दुनियाँका चाहिने–नचाहिने कुरा
उठाउँदै चिया र नास्ताका गिलाँस र चम्चा–पिलेट
हँुदै गइन् सुशील, विनीत र शिल्पी
ख्यालख्यालमै विनिता भनेर राखिदियो
कुनै भद्र चिया–ग्राहक पुरोहितले तिनको नाउँ
एउटी चियापसलेकी छोरी
एउटी श्रमिककी नवजात सुशील सन्तान
हुर्किइन् खेल्दै धुलोमाटो र बगाउँदै सिँगान
जहाँ उनले बगाइन् सिँगान
जहाँ पोखे तिनका बाबा–आमाले श्रम र पसिना
र देखे भविष्यका सुन्दर सपना
यो धर्तीका सर्जक
जोसँग थिएन कुनै स्वार्थ, कपट र जाल
विनिता जन्मिएको र खेलेको चोक
‘विनिता चोक’ भनेर
राखिदिए तिनै कुनै ‘भलाद्मी’ मध्येका कुनै ‘भद्र’ ले
यो धुले चोकको सुन्दर नाउँ
जहाँ बामे सर्दै थिइन् चिया पसलेकी छोरी विनिता ।

एकाएक
गडुवारी र खाँदबारी खाने जिम्मल आएझैँ
लिँदै श्रमिक किसानकै नाउँ
मेट्दै श्रमिकहरूको सपनाको संसार
ढलिमली गर्ने असनका साँढेझैँ
ल्याइए यो धर्तीमा कुनै लगानी नै नभएका
लगानबहादुर र पौरखकुमारीहरू
मदनकुमार र मन्दिरा मैयाँहरू
बीपी र जीपीहरू
जीव नै नभएका अजीवहरू
जसको यहाँ छैन कुनै साइनो, कुनै सम्बन्ध
पल्टिएका छन् उग्राउँदै चोकचोकमा
र मेटाइरहेछन्, मेटाउने षड्यन्त्र गरिरहेछन्
यहाँको पसिनाको असली इतिहास ।

जसको श्रम, पसिना र स्वामित्व छ यो भूमिमा
यो उसैको नामबाट सम्बोधित हुन्छ, हुनैपर्छ
त्यसैले यो विनिता चोक हो
होइन कुनै साँढे चोक
जसको नाउँ लादेको होइन कसैले करकापले
जसको नाउँ राखेको हो जन्मजात श्रम र पसिनाले
जसरी रहेको छ यो सिङ्गो बस्तीको नाउँ खाँदबारी
जहाँ रातारात चिहान बनाइएको थियो
हजारौँ श्रमिकहरूको इतिहास र सपना
जसको नाउँ हो सिर्जनानगर
जहाँ बगेका थिए र बगिरहेका छन्
हजारौँहजार पौरखीका
सिर्जनशील पसिना र सिर्जनाहरू
यो जनता चोक हो, पसिना चोक हो, विनिता चोक हो
होइन यो कुनै साँढे चोक
हुन सक्तैन यो कहिल्यै मुखिया वा जिम्मल चोक ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :