राजबन्दी रिहाइको माग गर्दै नेकपा (बहुमत) द्वारा दाङमा विरोध प्रदर्शन

राजबन्दी रिहाइको माग गर्दै नेकपा (बहुमत) द्वारा दाङमा विरोध प्रदर्शन

दाङ

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयमा राजबन्दीहरूको फोटोसहित विरोध प्रदर्शन गरेको छ । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा (बहुमत) ले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङका संयोजक वीरेन्द्रले राज्यले आफ्ना जायज मागलाई सजिलै नसुने देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए । देशका विभिन्न कारागारमा रहेका नेता–कार्यकर्तालाई झूट्टा मुद्दा खारेज गरी जेलबाट मुक्त गराउन पार्टी निरन्तर सङ्घर्षमा लाग्ने उनको भनाइ थियो ।

‘देश बनाउन, राष्ट्रिय स्वाधीनता बचाउन, जनतालाई अधिकार सम्पन्न बनाउन भनी भ्रष्टाचारीलाई तह लगाउँदै सङ्घर्षमा होमिएका युवाहरूमाथि अन्याय गरी जेलमा अत्याचार गर्ने अनि देश लुटेर बर्बाद बनाउने दलालहरूलाई मालिक बनाउने दलाल व्यवस्थाको अन्त्य गर्न युवाहरूले नै सशक्त संघर्ष गर्नु आवश्यक छ’, उनले अगाडि भने, ‘राज्य सङ्कट टार्न केही व्यक्तिलाई विकल्पका रुपमा अगाडि बढाउन खोजेको देखिन्छ । यो स्थायी समाधान नभई आक्रोश मात्रै हो ।’

राज्यको रूपान्तरण वैज्ञानिक समाजवादले मात्र गर्ने हुँदा नेपाली जनताको जीवनस्तरलाई प्रगतिपथमा लैजान आन्दोलनमा सहभागी हुन उनले सबैलाई आह्वान पनि गरे ।

कार्यक्रममा युवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, पार्टी नेता–कार्यकर्ताको उपस्थिथि थियो । कार्यक्रमको सहजीकरण नेकपा (बहुमत) का जिल्ला कार्यालय सचिव अमर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :