पृथ्वी जयन्ती मनाउनु र प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नु प्रतिगमनको द्योतक : मोहन वैद्य

पृथ्वी जयन्ती मनाउनु र प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नु प्रतिगमनको द्योतक : मोहन वैद्य

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) ले प्रेस विज्ञप्ति जारी गरी पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको प्रतिगामी निर्णयको विरोधमा अखिल नेपाल आदिवासी जनजाति महासङ्घले माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोमा निन्दा गर्दै गिरफ्तार नेता–कार्यकर्ताको शीघ्र रिहाइको माग गरेको छ ।

पार्टी महासचिव मोहन वैद्य ‘किरण’ ले जारी गरेको विज्ञप्तिमा पृथ्वी जयन्ती मनाउने र प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्य प्रतिगमनको द्योतक रहेको भन्दै सरकारको प्रतिगमनकारी कदमको विरोध गर्न आमगणतन्त्रवादी पार्टी तथा व्यक्तित्वलाई आह्वान गरेका छन् ।

किरणद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आज पुस २७ गते सङ्घीय गणतन्त्र नेपालको सरकारले पृथ्वी जयन्ती मनाउने र देशभर सार्वजनिक बिदा दिने निर्णयको विरोधमा अखिल नेपाल आदिवासी जनजाति महासङ्घले माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरी हाम्रो पार्टीका नेता तथा कार्यकर्तासहित १८ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।’

प्रहरीले क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, प्रवक्ता हरिभक्त कँडेल, पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, केन्द्रीय सदस्यहरू शारदा महत, आकाश महर्जन, फुर्नाम्गेल मोक्तान, शिव श्रेष्ठ, इन्दिरा अधिकारीसहित श्याम केसी, सुरेश तामाङ, मङ्गल तामाङ, शोभा सेन्चुरी, मीनकुमार राना, टेकबहादुर विक, गङ्गा राई, मधु श्रेष्ठ, अनु निरौला र बलराम तिमिल्सिनालाई गिरफ्तार गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘गणतन्त्र नेपालमा राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउने र आजै गोरखामा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रममा प्रधानमन्त्री स्वयम् उपस्थित हुने कुराले देश प्रतिगमनतिर गएको सङ्केत गर्छ । हाम्रो पार्टीले गिरफ्तार सम्पूर्ण नेता तथा कार्यकर्ताको शीघ्र रिहाइको माग गर्दै नेपाल सरकारको यो प्रतिगमनकारी कदमको विरोध गर्न आमगणतन्त्रवादी पार्टी तथा व्यक्तित्वहरूमा हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :