नेकपा (बहुमत) का संयोजक र प्रवक्ताद्वारा प्रधानमन्त्री प्रचण्डसँग बन्दी रिहाइबारे छलफल

नेकपा (बहुमत) का संयोजक र प्रवक्ताद्वारा प्रधानमन्त्री प्रचण्डसँग बन्दी रिहाइबारे छलफल

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आइतबार भेटघाट र छलफल गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार नेकपा (बहुमत) संयोजक कञ्चन र प्रवक्ता सुदर्शन तथा प्रधानमन्त्री प्रचण्डबीच भेटका क्रममा अन्यायपूर्वक जेलमा बन्दी बनाइएका राजनीतिक आस्थाका बन्दीहरूको रिहाइका विषयमा छलफल भएको थियो ।

प्रचण्डसँग छलफलमा सहभागी पार्टी प्रवक्ता सुदर्शनले रातो खबरसँग भने, ‘बन्दी रिहाइबारे प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । आस्थाका बन्दी रिहाइका लागि आफ्नो पूरा प्रयत्न रहने प्रधानमन्त्रीले बताउनुभएको छ ।’
सरकारको नीति तथा कार्यक्रममा पनि आस्थाका बन्दी रिहाइको विषय आइसकेकाले लामो समयदेखि झूट्टा मुद्दा लगाएर कारागारमा राखिएका आस्थाका बन्दीलाई अविलम्ब रिहा गर्न आफूहरूले प्रस्ताव गरेको प्रवक्ता सुदर्शनले बताए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन केपी वली सरकारबीच २०७७ फागुन २१ गते भएको तीनबुँदे सहमतिमा पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध खारेज गर्ने, पार्टीले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्ने, जेल र हिरासतमा रहेका आस्थाका बन्दी अविलम्ब रिहा गरी सम्पूर्ण झूट्टा मुद्दा खारेज गर्ने उल्लेख थियो । पार्टीमाथिको प्रतिबन्ध हटे पनि आस्थाका बन्दीको रिहाइ र झूट्टा मुद्दा खारेजी गर्ने सहमति भने सरकारले पूरा गरेको छैन । पार्टी भने सहमतिअनुसार नै शान्तिपूर्ण राजनीतिक आन्दोलन सञ्चालन गरिरहेको छ । यति बेलासम्म पनि तत्कालीन नेकपा र हाल नेकपा (बहुमत) मा आस्थावान् ४० भन्दा बढी नेता–कार्यकर्ता विभिन्न जेलमा अन्यायपूर्वक बन्दी जीवन बिताइरहेका छन् । तीनबुँदे सहमतिपछि कारागारबाट छुटेका नेता–कार्यकर्ताहरू राजनीतिक सहमतिका आधारमा नभएर अदालती प्रक्रियाबाट धरौटी राखेर रिहा भएका हुन् ।

स्मरणीय छ, पार्टीमाथि प्रतिबन्ध लगाउने र दुई वर्षपछि प्रतिबन्ध हटाएर तीनबुँदे सहमति गर्ने समयमा पनि केपी वली नेतृत्वकै सरकार थियो भने यति बेला फेरि केपी वली र पुष्पकमल दाहालकै नेतृत्वको सरकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :