तीन पार्टीको संयुक्त आयोजनामा १३० औँ माओ दिवस मनाइयो

तीन पार्टीको संयुक्त आयोजनामा १३० औँ माओ दिवस मनाइयो

काठमाडौँ : विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवसका सन्दर्भमा आज काठमाडौँमा माओका योगदानसम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँको राष्ट्रिय नाचघरमा भएको उक्त कार्यक्रमका वक्ताहरूले मार्क्सवाद-लेनिनवादमा माओले गरेका योगदानहरूका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले आज संसारभरिका श्रमजीवीहरूले माओलाई सम्झिरहेको भन्दै मार्क्स, लेनिन र माओले मानिसलाई उत्पीडनबाट मुक्त गर्ने दर्शन दिएको बताए । उनले मार्क्स, लेनिन र माओका योगदानहरू अमर रहेको पनि बताए । नेपालमा बाँकी रहेको क्रान्ति पूरा गर्नका लागि क्रान्तिकारीहरूबीच पार्टी एकता अनिवार्य रहेको उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले मार्क्सवादका बारेमा ज्ञान नभएका संशोधनवादीहरूले त्यसलाई नष्ट गरेको थाहै नपाउने भएका कारण मार्क्सवादलाई बुझ्ने, यसको रक्षा, प्रयोग र विकास गर्नुपर्ने बताए ।

मार्क्सवादको विकासमा माओले गरेको योगदान निकै माथि रहेको भन्दै नेता गजुरेलले नेपालमा क्रान्तिका लागि उपयुक्त बातावरण बन्दै गएको बताए । साथै उनले नेपालमा क्रान्तिकारीहरूबीच व्यापक एकता आवश्यक भएको भन्दै यसलाई छिट्टै निष्कर्षमा पुर्याइने पनि बताए ।

नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिव सन्तबहादुर नेपालीले माओको मूल कडी भनेको संशोधनवादका विरुद्धको सङ्घर्ष भएको र माओले चीनमा मार्क्सवाद–लेनिनवाद लागू गरेका कारण त्यहाँ नयाँ जनवादी व्यवस्था स्थापना भएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा (क्रािन्तकारी माओवादी) का नेता चन्द्रहरि सुवेदी ‘अटल’ ले गरेका थिए भने स्वागत भाषण नेकपा (मशाल) का कृष्णराज पौडेलले गरेका थिए ।

कार्यक्रममा नेकपा (बहुमत) का सल्लाहकार समितिका अध्यक्ष असारे काका, क्रान्तिकारी माओवादीका सल्लाहकार समितिका संयोजक कमल चौधरी र नेकपा (मशाल) का सल्लाहकार समितिका वरिष्ठ सदस्य गोविन्दसिंह थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तीनै पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थक र सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा बीचबीचमा सामना सांस्कृतिक परिवार र रक्तिम सांस्कृतिक परिवारले जनवादी गीतसङ्गीत प्रस्तुत गरेका थिए ।

संयुक्त रूपमा १३० औँ माओ दिवस मनाउन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल र नेकपा (मशाल) का नेता चिन्तामणि पौडेलको नेतृत्व रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :