जनतासँग बहुमत अभियान प्रभावकारी बन्दै

जनतासँग बहुमत अभियान प्रभावकारी बन्दै

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सुरु गरेको जनतासँग बहुमत अभियान दाङमा प्रभावकारी बन्दै गएको छ । अभियानका क्रममा सङ्गठन विस्तार तथा सुदृढीकरण तीव्र बनेको र जनस्तरमा प्रभावकारी बनेको बताइएको छ ।
अभियानका क्रममा घोराही उपमहानगरपालिका १६ बाहुनडाँडा टोलमा युवा जनस्वयम्सेवक नेपाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ र अखिल नेपाल महिला सङ्गठनको टोल समिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) घोराही नगर पार्टीले जनाएको छ । युवा सङ्गठनमा बोधबहादुर थापाको अध्यक्षमा १३ सदस्यीय, महिलामा राधा थापाको अध्यक्षतामा ७ सदस्यीय र मजदुरमा हीरालाल थापाको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरिएको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका पार्टीका जिल्ला संयोजक वीरेन्द्रले दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण वर्गीय विभेद चरम उत्कर्षमा पुगेको र यसको अन्त्यका लागि वर्गसङ्घर्ष गर्न जरुरी रहेको बताए । वर्गमुक्तिको आन्दोलनमा सङ्गठनको अनिवार्य आवश्यकता पर्ने स्पष्ट पार्दै वीरेन्द्रले हेपिएका, दबिएका, वर्गीय तथा जातीय विभेदमा पारिएका किसान, मजदुर, महिला, युवालगायत विभिन्न जनवर्ग आआफ्नो पेसा–व्यवसायमा आबद्ध देशभक्त, प्रगतिशील नेपाली नागरिक सङ्गठित हुनुपर्ने पनि बताए ।
उनले संसदीय दलाल राज्यसत्ता अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको विश्वास र आस्थाको केन्द्र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले उत्पीडितवर्गीय आन्दोलनको नेतृत्व गरिरहेको बताए । शिक्षा, स्वास्थ्य, रोजगारलगायत हरेक क्षेत्रमा असमानता, श्रमिकको श्रममाथि शोषण, पीडित नागरिकले न्याय नपाउनु, पैसा र शक्तिको आडमा दोषीले उन्मुक्ति पाउनुलगायत घटनाले जनतामा यो व्यवस्थाप्रति चरम निराशा छाएको र संसदीय व्यवस्थाको विकल्प खोजिरहेको उनले बताए ।
कार्यक्रममा जिल्ला पार्टी कार्यालय सचिव अमर खड्काले मन्तव्य राखेका थिए । जवस फ््रयाक्सन इन्चार्ज मनोज, लुम्बिनी ब्युरो सदस्य युवकलगायत कार्यक्रममा उपस्थित थिए । कार्यक्रमको सञ्चालन घोराही नगर पार्टी इन्चार्ज हिमाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :