प्रतिभा पलायन र रोकथामका उपाय

१) सन्दर्भ

वर्तमान परिप्रेक्ष्यमा नेपालको राजनीतिक वृत्तमा प्रतिगामी, संसद्‌वादी र क्रान्तिकारी शक्तिबीच घनीभूत सङ्घर्ष चलिरहेको छ । महान् १० बर्से जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू संस्थागत गर्नुको सट्टा दलाल संसदीय व्यवस्थाका मतियारहरूले उपहास गरे । विगतमा नेकपा (माओवादी) र संसद्वादीबीच भएका समझदारी, सहमति र सम्झौताको एकपक्षीय ढङ्गले उल्लङ्घन गर्दै श्रमजीवी जनताको अग्रदस्ता तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिक रूपमा पूर्ण रूपमा बन्देज गर्न कथित प्रतिबन्ध लादियो । आमजनताको अभूतपूर्व सहयोग, साथ र समर्थनले उक्त प्रतिबन्ध क्रान्तिकारी शक्तिले खारेज गरिदिएको छ । दलाल संसदीय व्यवस्थाका मतियारहरू फेरि पनि कथित संसदीय चुनाव लाद्ने प्रयास गरिरहेका छन् जुन राजनीतिक प्रतिक्रान्ति हो । वैज्ञानिक समाजवादी क्रान्ति र एकीकृत जनयुद्धको नयाँ कार्यदिशामार्फत नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दलाल संसदीय व्यवस्थाको एक मात्र उत्तम विकल्प वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने दिशामा आमश्रमिक जनसमुदायको नेतृत्व गर्दै जनसत्ता निर्माणको प्रक्रियाले फेरि समानान्तर सत्ताको अभ्यास गर्ने प्रयत्न गर्दैछ ।

दलाल संसदीय व्यवस्थाले देश र आमजनतालाई महँगी, कालोबजारी, बेथिति, बेरोजगारी, भ्रष्टाचार, अनियमितता, अस्थिरता, पराधीनता प्रदान गरिरहेको छ भने नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले वैज्ञानिक समाजवादी क्रान्ति र एकीकृत जनयुद्धको नयाँ कार्यदिशामार्फत आफ्ना तत्कालीन कार्यक्रम सार्वजनिक गर्दै संसदीय प्रणालीको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता कायम गर्न आमजनताका बीचमा भेला, सम्मेलन, प्रशिक्षण देशव्यापी रूपमा सञ्चालन गरिरहेको छ । मुलुकको राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायत प्रायः सबै क्षेत्र दलालीकरण, माफियाकरण र व्यापारीकरणले आक्रान्त बनिरहेका छन् । यस लेखमा देशबाट प्रतिभा पलायनको समग्रता, कारण, समस्या र रोकथाम/समाधानका बारेमा उल्लेख गरिनेछ ।

२) विषय प्रवेश

विज्ञान र प्रविधिको विकासले विश्व भूमण्डलीकरणको युगमा प्रवेश गर्न लागिरहेको वर्तमान परिप्रेक्ष्यमा सूचना, सञ्चार र प्रविधिको अधिकतम सदुपयोग गर्दै युवाहरूको ज्ञान, सीप, सिर्जनशीलता, पोटेन्सियालिटी राष्ट्र निर्माणमा लगाउन सके मात्रै आमूल परिवर्तन, विकास र समृद्धिको ढोका खुल्छ । वर्तमान परिप्रेक्ष्यमा युवा प्रतिभा पलायन सिङ्गो मुलुकका लागि चुनौतीपूर्ण बनेको छ । अधिकांश नेपाली युवा आफ्नो सुन्दर भविष्यसहितको सपना बोकेर बिदेसिएका छन् । बिदेसिनु रहरको बिषय नभई एउटा बाध्यात्मक अवस्था बनेको छ । आफ्नो क्षमता, खुबी र दक्षताअनुसारको काम गर्ने वातावरण सिर्जना नहुनु, काम गरे पनि क्षमता, खुबी र दक्षताअनुसार दामको व्यवस्था नहुनु, राम्रो मान्छेलाई भन्दा आफ्नो मान्छेलाई प्राथमिकता दिनु, देशमा श्रमप्रतिको सम्मान नहुनु, श्रम संस्कृतिको विकास नहुनु, सामाजिक सुरक्षाको प्रत्याभूति नहुनु, कामदारको सेवा, सुविधा राम्रो नहुनु, महँगी, कालोबजारी, बेथिति, बेरोजगारी, भ्रष्टाचार, अनियमितता, अस्थिरता, पराधीनता बढ्नुजस्ता कारणले अधिकांश युवा प्रतिभा विदेश पलायन हुन बाध्य छन् । देश विकास गर्ने मुख्य जनशक्ति भनेकै जोस, जाँगर, ज्ञान, सीप, सिर्जनशीलता र पोटेन्सियालिटी बोकेका युवा हुन् । विडम्बना ! यिनै युवा अहिले देशमा अकल्पनीय रूपले पलायन हुँदै गएका छन् ।

३) प्रतिभा पलायनको अवस्था

क) दक्ष जनशक्ति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८–०७९ मा वैदेशिक अध्ययनमा जाने विद्यार्थी सङ्ख्या र बिदेसिएको पुँजी हालसम्मकै अत्यधिक बन्न पुगेको छ । १ साउन ०७८ देखि २७ असार ०७९ सम्ममा १ लाख १२ हजार पाँच सय २८ विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् । त्यही अवधिमा अहिलेसम्मकै अधिकतम वैदेशिक अध्ययनमा ५९ अर्ब ९९ करोड ३४ लाख रुपैयाँ बाहिरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार विद्यार्थीले चालू आर्थिक वर्षमा ६४ देशमा अध्ययनका लागि अनुमति लगेका छन् जसमध्ये टप १० देशहरूमा चालू आर्थिक वर्षमा अस्ट्रेलियाका लागि ६६, ८८५ जना, जापानका लागि १६,८२०, अमेरिकाका लागि ५,८८३, क्यानाडाका लागि ५,५५२, बेलायतका लागि ५,०७४, भारतका लागि ३,०८३, यूएईको लागी २,३९४, कोरियाका लागि १,३३७, फ्रान्सका लागि ६८०, रसियाका लागि ६२६, जर्मनीका लागि ४९९ जना नेपाली विद्यार्थीले एनओसी लेटर लिएका छन् । नेपाल मेडिकल काउन्सिलमा हालसम्म एमबीबीएस, एमडी, एमएस, एमडीएस गरी कुल ३४ हजार १ सय ४ जना दर्ता भएका छन् । त्यसमध्ये करिब १५ सयको हाराहारीमा मात्र सरकारी सेवामा कार्यरत छन् । बाँकी १६ हजार ३ सय २ जना निजी क्षेत्रमा आबद्ध छन् भने र उत्तिकै सङ्ख्या अर्थात् १६ हजार ३ सय २ जना विदेशमै छन् । नर्सिङ काउन्सिलका अनुसार दर्ता भएका ५६ हजार नर्समध्ये करिब १६ हजार नर्सले विदेश अध्ययनको अनुमति लिएका छन् र करिब २० प्रतिशत नर्स बिदेसिएका छन् । नेपाल इन्जिनियर काउन्सिलमा दर्ता भएका ६० हजार इन्जिनियरमध्ये ५० प्रतिशत विदेशमा रहेको अनुमान छ ।

ख) अर्धदक्ष जनशक्ति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुलुकका ७ सय ५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार मुलुकमा १७ लाखको सङ्ख्यामा बेरोजगार छन् । यो मुलुकको कुल श्रमशक्तिको २१.५४ प्रतिशत हो । अहिले करिब ३५ लाख नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कार्यरत रहेको अनुमान छ । अझ श्रम स्वीकृति नलिएर भिजिट भिसा र विद्यार्थी भिसामा विदेश गएर काम गर्नेको सङ्ख्या जोड्ने हो भने यसको सङ्ख्या ठूलो हुन्छ । यद्यपि राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार २१ लाख ७० हजार व्यक्ति नेपालको परिवारबाट अनुपस्थित भई विदेशमा बसोबास गरेका छन् । आर्थिक वर्ष २०७७–७८ मा कोरोना महामारीका कारण श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या सबैभन्दा न्यून १ लाख ६७ हजार मात्रै थियो भने सबैभन्दा बढी आर्थिक वर्ष २०७३–७४ मा ६ लाख ४३ हजार रहेको छ । पछिल्लो एक दशकमा औसतमा प्रत्येक वर्ष वैदेशिक रोजगारीमा करिब ५ लाख युवा बिदेसिने गरेको छन् । आर्थिक वर्ष २०७८–०७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको अनुपात करिब २१ प्रतिशत छ ।

४) प्रतिभा पलायनका कारण/समस्या

संसारका विकसित देशहरूको इतिहास हेर्ने हो भने युवाहरूको श्रम र पसिनाबाट नै विकास र समृद्धि हासिल भएको पाइन्छ । हाम्रो राज्य व्यवस्था सञ्चालन गर्ने दलाल संसदीय व्यवस्थाका मतियार भने युवाहरूलाई पलायन गराएर विकास र समृद्धिका गफ हानिरहेका छन् । जबसम्म विकासको मूल प्रवाहमा युवाहरूलाई प्रत्यक्ष सहभागी गराउने वातावरण सिर्जना गरिँदैन तबसम्म मुलुक आमूल परिवर्तन, विकास र समृद्धिको दिशामा अघि बढ्न सक्दैन । युवा क्षमतावान् र चलायमान जनशक्ति हो । यसले स्वाभाविक रूपमै अवसरको खोजी गरिरहेकै हुन्छ । उपयुक्त अवसरको खोजीमा भौँतारिरहेको युवा जहाँ अवसर देख्छ त्यहीँ जान्छ । आज नेपालमा रोजगारीको अवसर र सम्भावना नभएकै कारण युवा बिदेसिन बाध्य छन् । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने वातावरण बन्छ भने अधिकांश युवा बिदेसिने थिएनन् । नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौँ युवा कामका लागि बिदेसिएका हुन् । केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए पनि अधिकांश नेपालीका लागि यो बाध्यता बन्न पुगेको छ । बाध्यतावश चर्को व्याजमा ऋण लिएर विदेश जान चाहेका र जानु परेका युवाहरू वैदेशिक रोजगारी र श्रम स्वीकृतिको प्रक्रिया थाहा नहुँदा ठगिएको र दुःख पाएको पाइन्छ । अध्ययनका लागि जापान, अस्ट्रेलिया, युरोप, अमेरिका, क्यानाडा जाने युवाहरूको प्राथमिकता पनि रोजगारी नै हो । रोजगारी र अवसरको खोजीमा मुलुकबाट बौद्धिक शक्तिको पलायन अझै बढ्दै गएको छ । प्रतिभा पलायन हुनुका मुख्य कारण/समस्या देशमा रोजगारीको न्यून अवसर, श्रम शोषण, स्तरीय शिक्षाको आकाङ्क्षा, अवसरको खोजी, परामर्श दातृ संस्थाको पहल, विदेशस्थित साथीभाइको सहयोग, स्वदेशमा अवसरको कमी, देशमा न्यून तलबभत्ता र वृत्ति विकासको झिनो अवसर, बिदेसिने प्रवृत्ति, भ्रष्टाचार, राजनीतिक अस्थिरता, राजनीतीकरण, राष्ट्रिय भावनाको कमी, दलालीकरण, माफियाकरण आदि हुन् ।

५) पलायन रोकथाम नीति एवम् समस्या समाधान

प्रत्येक वर्ष श्रम बजारमा करिब ५ लाख युवा आउँछन् । त्यसमध्ये स्वदेशमा रोजगारी नपाएर तीन चौथाइ वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । दलाल संसदीय राज्य व्यवस्थाले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा श्रमिक थोरै पारिश्रमिकमा खाडी मुलुकमा रगत–पसिना साट्न तयार छन् । सरकारले स्वदेशमा उद्यम गर्न चाहने तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीपमूलक तालिम दिन पनि सकिरहेको छैन जसले गर्दा अर्धदक्ष जनशक्ति वैदेशिक रोजगारीमा जान बाध्य छ । प्राविधिक, रोजगारमूलक शिक्षामा जोड दिन सके र सोहीअनुरूप रोजगारी सिर्जना गर्न सकिए केही मात्रामा पलायन रोक्न सकिन्छ । आमूल परिवर्तन, विकास र समृद्धिको मुख्य आधार श्रम भएकाले श्रमको सम्मान गर्ने संस्कृतिलाई प्रोत्साहित गर्ने नीति राज्यले अवलम्बन गर्न सक्नुपर्छ । राज्यले देशभित्र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने योजना ल्याउन सक्नुपर्छ । वैदशिक रोजगारीबाट पँुजी र प्रविधिसहित फर्केका हाम्रा नौजवान युवाहरूलाई देशभित्रै रोजगारमूलक व्ययसाय गर्न प्रोत्साहित गर्ने कार्यक्रम राज्यले अघि सार्नुपर्छ । ज्ञान, सीप, सिर्जनशीलता, पोटेन्सियालिटी, चिन्तनशील, इनर्जेटिक युवा प्रतिभालाई पलायनबाट रोक्न राज्यसत्ताले युवा लगानी वर्ष घोषणा गर्दै लगानी बढाउनुपर्छ । युवा लगानी वर्ष घोषणा गरेर थप रोजगारीका अवसरहरू सिर्जना गरिनुपर्छ । युवाहरूको उच्च शिक्षा अध्ययन सकिएसँगै रोजगारी सुनिश्चित गरिनुपर्छ । माध्यमिक तहको शिक्षालाई व्यावहारिक, समावेशी समन्वयिक, रोजगारमूलक, ज्ञान–सीपमूलक र प्रयोगात्मक बनाई माध्यमिक तहको सकिएपछि उच्च शिक्षा अध्ययनसँगसँगै रोजगारीको सुनिश्चितता गरिनुपर्छ । मेडिकल, पारामेडिकल, इन्जिनियरिङ, कृषि प्राविधिक, सूचना÷प्रविधिजस्ता विज्ञ प्राविधिक शक्तिको उत्पादन गर्ने क्षेत्रमा अधिकतम छात्रवृत्तिको व्यवस्था गरी अध्ययनपछि सरकारले उक्त जनशक्तिलाई काम सुनिश्चित गर्नुपर्छ । हाल उपलब्ध गराएको सेवासुविधाभन्दा तेब्बर बढाउने, श्रमप्रतिको सम्मान बढाउन श्रम संस्कृतिको विकास गर्ने/गराउने, कामलाई सानो र ठूलो भनी गरिने भेदभावको अन्त्य गर्ने/गराउने, युवा रोजगारी र उद्यमशीलता सिर्जना गर्नका लागि शैक्षिक प्रमाणपत्रका आधारमा बिनाब्याज कर्जाको व्यवस्था गरी दृढतापूर्वक कार्यान्वयन गर्ने, विदेशबाट उच्च शिक्षा हासिल गरेर फर्केका युवालाई उनीहरूको विज्ञताअनुसार रोजगारीको व्यवस्था गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सामुदायीकरण गर्दै निःशुल्क र गुणस्तरीय बनाउने, प्राज्ञिक क्षेत्रको अध्ययन–अनुसन्धानका लागि अनुसन्धान केन्द्रको स्थापना र विकास गर्न जोड दिने, विज्ञानप्रविधिको विकासका लागि ७ सय ५३ वटै स्थानीय तहमा इनोभेसन सेन्टर स्थापना गर्ने, वैदेशिक रोजगार र अध्ययनबाट स्वदेश फर्किएका, अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका नौजवान युवाहरूलाई राष्ट्रिय हितमा प्रयोग गर्ने क्षेत्र विकास गर्ने नीति, सोचाइ र योजनाअनुरूप अघि बढ्न सके मात्रै हामीले हाम्रो प्रतिभा पलायनको समस्या सहजै निरूपण गर्न सकिन्छ ।

६) निष्कर्ष

विश्व–सर्वहारा वर्गका महान् गुरु माक्र्सले ‘युवाहरू हो, जिते संसार छ, हारे केही पनि छैन’ भनेर श्रमजीवी जनताको अधिनायकत्व स्थापना गर्नका लागि संसारभरका नौजवान युवा वर्गमा आह्वान गरेका थिए । वास्तवमा युवाहरू नै राष्ट्र निर्माणका संवाहक, आमूल परिवर्तन, विकास र समृद्धिका जग र खम्बा हुन् । ज्ञान, सीप, सिर्जनशीलता, पोटेन्सियालिटीयुक्त त्याग, निष्ठा, बलिदान, समर्पण र निर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध नौजवान युवाहरू राष्ट्रका अमूल्य निधि एवम् उदीयमान शक्ति हुन् । युवा पलायन सिङ्गो मुलुकका लागि चुनौतीपूर्ण बनेको छ । अधिकांश नेपाली युवा आफ्नो सुन्दर भविष्यसहितको सपना बोकेर बिदेसिएका छन् । बिदेसिनु रहरको बिषय नभई एउटा बाध्यता बनेको छ । आर्थिक वर्ष २०७८–७९ मा १ लाख १२ हजार पाँच सय २८ विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् । त्यही अवधिमा वैदेशिक अध्ययनमा ५९ अर्ब ९९ करोड ३४ लाख रुपैयाँ बाहिरिएको छ भने एक दशकमा नेपालबाट ३ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक अध्ययनमा बाहिरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुलुकका ७ सय ५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार मुलुकमा १७ लाख युवा बेरोजगार छन् । यो मुलुकको कुल श्रमशक्तिको २१.५४ प्रतिशत हो । अहिले ३५ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कार्यरत रहेको अनुमान छ । आर्थिक वर्ष २०७८–७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको अनुपात करिब २१ प्रतिशत छ । वर्तमान अवस्थामा नेपाली युवाका लागि वैदेशिक अध्ययन र रोजगारी बाध्यता बनेको छ । विज्ञान र प्रविधिको विकासले विश्व भूमण्डलीकरणको युगमा प्रवेश गर्न लागिरहेको परिप्रेक्ष्यमा सूचना र प्रविधिको अधिकतम सदुपयोगबाट देश निर्माणको सुनौलो अभिभारा पूरा गर्ने चुनौतीको सामना गर्नसक्ने समावेशी, समन्वयिक, प्राविधिक, व्यावहारिक, ज्ञान–सीपमूलक र प्रयोगात्मक शिक्षा प्रदान गर्दै रोजगारीको पूर्ण सुनिश्चिततासहित नेपालमै बसेर कुनै उद्यम, पेसा, व्यवसाय वा कृषि कार्य गर्ने वातावरण सिर्जना गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :