विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्दै जनगणतन्त्र कोरिया

विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्दै जनगणतन्त्र कोरिया

प्योङयाङ : जनगणतन्त्र कोरियाका नेता मार्सल किम जोङ उनले आफ्नो देशले विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको र त्यो सम्भव रहेको बताएका छन् ।

जनगणतन्त्र कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्नसक्ने विश्वास गरिएको दाबी कोरियाली अधिकारीले गरेका छन् ।

मार्सल किम जोङ उनले ह्वासोङ– १७ नामको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षणको सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन् ।

नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै कोरियाली नेता किमले जनगणतन्त्र कोरियाका वैज्ञानिकले ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक हतियार राख्ने प्रविधिको विकासमा आश्चर्यजनक फड्को मारेको बताए ।

राज्य र जनताको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्ति निर्माण गर्नु ‘सबैभन्दा ठूलो र सबैभन्दा महत्वपूर्ण प्रगतिको कारण हो । यसको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु र यस शताब्दीमा अभूतपूर्व पूर्ण शक्तिलाई कब्जा गर्नु हो’, नेता किमको भनाइ उद्धृत गर्दै केसीएनएले उल्लेख गरेको छ ।

मार्सल किमले आफ्नो देशका वैज्ञानिकहरूले प्योङयाङको ‘विश्वको सबैभन्दा बलियो सेना निर्माण गर्ने लक्ष्य’ विश्वसामु प्रदर्शन गरेको बताए ।
नयाँ ह्वासोङ– १७ आईसीबीएमको लन्चिङ भेहिकललाई ‘जनगणतन्त्र कोरियाको हिरो’ को उपाधि प्रदान गरिएको केसीएनएको रिपोर्टमा उल्लेख छ ।

‘यसले जनगणतन्त्र कोरिया पूर्ण आणविक शक्ति हो भन्ने कुरा विश्वसामु स्पष्ट रूपमा प्रमाणित गरेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘जनगणतन्त्र कोरियाले सबैभन्दा शक्तिशाली आईसीबीएम राष्ट्रका रूपमा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।’

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका होङ मिनले ह्वासोङ– १७ को परीक्षण जनगणतन्त्र कोरियाले आफूलाई प्रमुख आणविक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यले गरिएको बताए ।

‘सन् २०१७ मा ह्वासोङ– १५ को प्रक्षेपण आणविक हतियारले अमेरिकी मुख्य भूमिलाई खतरामा पार्न सक्ने राष्ट्र बन्नमा केन्द्रित थियो भने पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली आईसीबीएम राज्य बन्नमा केन्द्रित छ’, उनले भने ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् २००६ यता जनगणतन्त्र कोरियाको आणविक तथा क्षेप्यास्त्र गतिविधिका कारण कोरियामाथि प्रतिबन्ध लगाउने झन्डै एक दर्जन प्रस्ताव पारित गरिसकेको छ । तर जनगणतन्त्र कोरियाले प्रतिबन्धको बेवास्ता गर्दै आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

राष्ट्रिय समाचार समितिको समाचारमा आधारित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :