संसदीय व्यवस्था पूर्णतः असफल भयो, वैज्ञानिक समाजवादतिर अघि बढौँ : नेकपा (बहुमत)

चुनाव अवज्ञाका क्रममा गिरफ्तार सम्पूर्ण नेता–कार्यकर्तालाई रिहा गर, सङ्घर्षको मोर्चामा डट्ने योद्धाहरूलाई सलाम : प्रवक्ता सुदर्शन

संसदीय व्यवस्था पूर्णतः असफल भयो, वैज्ञानिक समाजवादतिर अघि बढौँ : नेकपा (बहुमत)

काठमाडौँ : नेकपा (बहुमत) ले संसदीय व्यवस्थाप्रति जनताको चरम घृणा र अविश्वासका कारण यो व्यवस्था पूर्णतः असफल भएको प्रमाणित भएको धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै असफल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएकाले वैज्ञानिक समाजवादी सत्ता स्थापनाको दिशातर्फ अघि बढ्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी शक्तिलाई आह्वान गरेका छन् । चुनाव अवज्ञाका क्रममा गिरफ्तार भएका पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई अविलम्ब रिहा गर्न माग गर्दै प्रवक्ता सुदर्शनले सङ्घर्षको मोर्चामा डट्ने योद्धाहरूलाई हार्दिक अभिवादन पनि गरेका छन् ।

विज्ञप्ति जारी गरी पार्टी प्रवक्ता सुदर्शनले समग्र अवज्ञा अभियानको मूल्याङ्कन गर्दै यसले दलाल पुँजीवादी संसदीय राज्यव्यवस्थाको विकल्प वैज्ञानिक समाजवादप्रति जनआकर्षण बढाएको, नेकपा (बहुमत) को कार्यदिशा, कार्यक्रम र कार्यनीतिलाई सापेक्षतामा स्थापित गर्न सफल भएको, चुनावमा ‘मतदाताको उत्साह देखिएन’, ‘मतदाताको फ्लो देखिएन’ भन्ने संसद्‌वादी नेताहरूकै भनाइ र केही परिकलन गणित (अल्गोरिदम) का विज्ञहरूको भनाइअनुसार ‘३५ देखि ४० प्रतिशत मात्र मत खसेको’ कुराले संसदीय पुँजीवादी व्यवस्थाप्रति जनघृणा व्याप्त भएकाले यस व्यवस्थाअन्तर्गत हुने चुनावसम्बन्धी पार्टीको निर्णय सही रहेको स्पष्ट पारेको संश्लेषण पनि गरेका छन् । प्रवक्ता सुदर्शनले पछिल्लो अवस्थाले क्रान्तिकारीहरूबीच संसदीय व्यवस्थाअन्तर्गत हुने चुनावसम्बन्धी धारणामा बुझाइको नजिक ल्याएको र क्रान्तिकारी पार्टीले जुनसुकै स्थितिमा पनि आफ्नो विकल्प प्रस्तुत गरिरहनुपर्दछ भन्ने प्रमाणित भएको पनि प्रस्ट्याएका छन् ।

पार्टी प्रवक्ता सुदर्शनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले नवउदारवादी अर्थव्यवस्थाअन्तर्गत दलाल पुँजीवादकोे जगमा उभिएको दलाल पुँजीवादी संसदीय व्यवस्थाअन्तर्गत हुने चुनाव अवज्ञा गर्ने निर्णय लिएको कुरा सर्वविदितै छ । चुनाव अवज्ञा अभियान प्रचारात्मक, आन्दोलनात्मक र क्रियात्मक गरी तीन चरणमा सम्पन्न भएको छ । हाम्रो पार्टीले एकल र क्रान्तिकारी पार्टीहरूसँग कार्यगत एकता गरी चुनाव अवज्ञा अभियान सम्पन्न गरेको छ । यो अभियानमा आमजनसमुदायको सहभागिता, सहयोग र व्यापक चासो रहेको छ । यसका लागि आमजनसमुदायप्रति हामी हार्दिक धन्यवाद र अभिवादन अर्पण गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो अभियानमा पूर्ण उत्साहका साथ खट्ने पार्टी नवौँ महाधिवेशन आयोजक समितिका विभिन्न तहका कमरेडहरू र आमकार्यकर्ताहरू, विभिन्न जनवर्गीय सङ्गठन, राष्ट्रिय मोर्चाहरू, युवा जनस्वयम्सेवक नेपाल, पेसागत सङ्गठनहरू, सहिद तथा बेपत्ता परिवार, घाइते तथा अपाङ्ग योद्धाहरूलाई लालसलाम टक्र्याउँछौँ । साथसाथै सहकार्यमा रहनुभएका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपाललाई हार्दिक अभिवादन गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘आज मङ्सिर ४ गते दलाल पुँजीवादी संसदीय व्यवस्थाको चुनाव अवज्ञाका क्रममा काठमाडौँको माइतीघर मण्डलामा जुलुस प्रदर्शनको नेतृत्व गरिरहेको बेला हाम्रो पार्टीका सचिवालय सदस्य तथा बागमती उपत्यका ब्युरो इन्चार्ज कमरेड शरद रसाइली, केन्द्रीय सदस्य तथा काठमाडौँ इन्चार्ज कमरेड दीपेन्द्र चलाउने, केन्द्रीय सदस्य तथा काठमाडौँ संयोजक कमरेड हरिबहादुर चन्द, केन्द्रीय सदस्य कमरेड भीम बटाला, केन्द्रीय सदस्य हरि श्रेष्ठलगायत २४ जना, भक्तपुरको प्रदर्शनबाट केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज कमरेड रोजन रखाललगायत ४ जना, कञ्चनपुरको चुनाव अवज्ञा जुलुस प्रदर्शनबाट केन्द्रीय सदस्य कमरेड हरिश दयाल, केन्द्रीय सदस्य कमरेड वीरेन्द्र शाहलगायत ८ जना, मकवानपुरको अवज्ञा प्रदर्शनबाट केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज क. भीमबहादुर खड्कालगायत ७ जना, अर्घाखाँचीबाट ५ जना, कास्कीबाट ३ जना, जाजरकोटबाट २ जना कमरेडलाई राज्यसत्ताले गिरफ्तार गरेको छ । हामी शरद रसाइलीलगायत सङ्घर्षको मोर्चामा डटेर गिरफ्तार हुनुभएका सम्पूर्ण कमरेडलाई विशेष अभिवादन गर्दै उहाँहरूको बिनासर्त शीघ्र रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछौँ । त्यसरी नै झापाको चन्द्रगढी, सुनसरीको इटहरी, धनुषाको वीरेन्द्रबजार, उदयपुर, महोत्तरी, मकवानपुर, दोलखा शैलुङ ७, काठमाडौँ, भक्तपुर, कास्कीको लुम्रे, रूपन्देहीको बुटवल, अर्घाखाँची, कपिलवस्तुको वाणगङ्गा, नवलपुर, दाङका घोराही र तुलसीपुर, जाजरकोटको नलगाडअन्तर्गत जिपुवा, सुर्खेत, कैलालीको घोडाघोडी, कञ्चनपुर म.न.पा., बैतडीलगायत स्थानमा महत्वपूर्ण प्रदर्शन गर्ने कमरेडहरू र जनतालाई बधाई दिन चाहन्छौँ र खासगरी कास्की लुम्रेमा उच्च अवज्ञा प्रदर्शन गर्ने युवाहरूलाई बधाई छ जसले विवेक र आवेगसहित क्रान्तिकारी वीरता प्रदर्शन गरेका छन् ।’

प्रवक्ता सुदर्शनले विज्ञप्तिमा भनेका छन्, ‘समग्र अवज्ञा अभियानको मूल्याङ्कन गर्दा (क) यसले दलाल पुँजीवादी संसदीय राज्यव्यवस्थाको विकल्प वैज्ञानिक समाजवादप्रति जनआकर्षण गरेको छ; (ख) यसले ने.क.पा. (बहुमत) को कार्यदिशा, कार्यक्रम र कार्यनीतिलाई सापेक्षतामा स्थापित गर्न सफल भएको छ; (ग) यसले आजको चुनावमा ‘मतदाताको उत्साह देखिएन’, ‘मतदाताको फ्लो देखिएन’ भन्ने संसद्वादी नेताहरूकै भनाइ र केही परिकलन गणित (अल्गोरिदम) का विज्ञहरूको भनाइअनुसार ‘३५ देखि ४० प्रतिशत मात्र मत खसेको’ कुराले संसदीय पुँजीवादी व्यवस्थाप्रति जनघृणा व्याप्त भएकाले यस व्यवस्थाअन्तर्गत हुने चुनावसम्बन्धी हाम्रो पार्टीको निर्णय सही रहेको स्पष्ट पारेको छ; घ) यसले क्रान्तिकारीहरूबीच संसदीय व्यवस्थाअन्तर्गत हुने चुनावसम्बन्धी धारणामा बुझाइको नजिक ल्याएको छ; ङ) क्रान्तिकारी पार्टीले जुनसुकै स्थितिमा पनि आफ्नो विकल्प प्रस्तुत गरिरहनुपर्दछ । त्यसकारण हामी यस अवसरमा विभिन्न तथाकथित कम्युनिस्ट घटकहरूभित्र रहनुभएका क्रान्तिकारी विचार समूह, सम्पूर्ण क्रान्तिकारी पार्टी र देशभक्तहरूलाई एउटै झन्डामुनि रही स्वाधीन संयुक्त सरकार निर्माण गर्दैै वैज्ञानिक समाजवादतिर अघि बढ्न आह्वान गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :