सर्लाही जिल्ला इन्चार्ज विचारमानलगायत गिरफ्तार सम्पूर्ण नेता–कार्यकर्तालाई अविलम्ब रिहा गर्न नेकपा (बहुमत) को माग

जनसङ्घर्षमाथि दमन गर्दा जनप्रतिरोध निम्तिएको इतिहासबाट पाठ सिक : सुदर्शन

सर्लाही जिल्ला इन्चार्ज विचारमानलगायत गिरफ्तार सम्पूर्ण नेता–कार्यकर्तालाई अविलम्ब रिहा गर्न नेकपा (बहुमत) को माग

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले सामान्य हिँडडुल गरिरहेको अवस्थामा सर्लाहीको हरिवनबाट शुक्रबार गिरफ्तार गरिएका पार्टी नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् सर्लाही जिल्ला इन्चार्ज विचारमान थिङ ‘निर्माण’ लगायत पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई अविलम्ब रिहा गर्न गठबन्धन सरकारसँग माग गरेका छन् । पार्टी प्रवक्ता सुदर्शनले शान्तिपूर्ण जनसङ्घर्षमाथि दमन गर्दा विगतमा जनप्रतिरोध निम्तिएको इतिहासबाट पाठ सिक्न पनि सरकारलाई चेतावनी दिएका छन् ।

प्रहरीले विचारमानका साथै युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर, सदस्य भरत पुलामी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य उपेन्द्र परियारलाई पनि गिरफ्तार गरेको छ ।

पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् सर्लाही जिल्ला इन्चार्ज क. विचारमान थिङ ‘निर्माण’, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष क. अविनाश कुँवर र सदस्य भरत पुलामी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य उपेन्द्र परियारलाई शुक्रबार सर्लाही जिल्लाको हरिवनबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले बिनाकारण गिरफ्तार गरेको घटनाबाट हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सामान्य हिँडडुलमा रहेका कमरेडहरूलाई यसरी गिरफ्तार गर्नु भनेको नदुखेको टाउको कपाल तानेर दुखाउनु नै हो ।’

प्रवक्ता सुदर्शनले विज्ञप्तिमा भनेका छन्, ‘दलाल पुँजीवादी राज्यसत्ता र यसको नेतृत्व गरेको सरकार नेकपा (बहुमत) बाट किन यति धेरै त्रसित भएको छ, हामीलाई थाहा छैन । हामी सरकारसँग के स्पष्ट पार्न चाहन्छौँ भने हाम्रो पार्टीको चुनाव अवज्ञा भनेको यो संसदीय व्यवस्थाको विरोध र वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा शान्तिपूर्ण तरिकाले जनसङ्घर्ष गर्नु हो । यसमाथि दमन गरेर जनप्रतिरोध निम्तिएको इतिहासबाट पाठ सिक्दै गिरफ्तार गरिएका कमरेडहरूलाई शीघ्रातिशीघ्र रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :