महाशय, नाउँमा सी लेखेर मात्र हुँदैन, खराब संस्कृति बदल्नुस्

नेपालको कम्युनिस्ट आन्दोलन र पार्टीहरुमा धर्म, संस्कृति र संस्कारका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने बेला भएको छ । २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएदेखि यहाँसम्म आइपुग्दा पटकपटकका आन्दोलनसँगै संस्कृति र संस्कारका विषयमा बहसहरू उठे पनि कम्युनिस्टहरूले पुराना, रूढिवादी संस्कृतिको अन्त्य गरी नयाँ संस्कृतिको विकास कसरी गर्ने भन्ने विषयमा गम्भीर बहस गर्न र समाजमा प्रस्ट रुपले कम्युनिस्ट संस्कृति सिकाउन सकेको स्थिति छैन । हात्तीको देखाउने दाँत एक, चपाउने दाँत अर्को भनेजस्तै आज पार्टी स्थापित गर्नका लागि विभिन्न खालका राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिस्ट संस्कृतिको व्याख्या गरी जनतालाई भ्रमित पार्ने गरिएको छ तर पुरानो संस्कार र संस्कृतिबाट अलग हुन नसकेको कुरा जति लुकाए पनि तिनका जीवनव्यवहार र अभिव्यक्तिहरूले देखाइरहेका छन् ।

हुनत कम्युनिस्ट भन्नेबित्तिकै धर्म, संस्कृति, जात, नाम, उपनामजस्ता विषयवस्तुलाई धेरै बहसको विषय बनाउने कुरा होइन । यो भन्ने नाममा के कम्युनिस्टहरूसँग कुनै संस्कृति नै हँुदैन त ? यो पनि होइन । मालेमा मान्ने पार्टी सङ्गठनहरूभित्र कम्युनिस्ट संस्कृतिका विषयमा मसिनो छलफल त आवश्यक छ नै, भर्खरै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तुमा २०७९ साल असोज २५ देखि कात्तिक २ गते सम्पन्न नवौँ महाधिवेशनले विशेषगरी दलितहरूको मनोभावनामा खेल्न सकिन्छ कि भन्ने चालबाजी गरी ख्यालख्यालमै नामको पछाडि थर नलेख्ने, ‘सी’ लेख्ने भनी पारित गरेको विषय चर्चामा छ । सी शब्दले कम्युनिस्ट संस्कृतिका विषयमा बहस गर्न बाध्य बनाएको छ । कम्युनिस्टहरूले कम्युनिस्ट संस्कृति सिकाउन आवश्यक छ तर नेपालका कम्युनिस्ट पार्टीहरूमा जनस्तरमा छलफल नगरी आफूलाई लागेको कुरा जसोतसो दस्ताबेजीकरण गरिहाल्ने परम्परावादी प्रचलन छ । यो प्रचलनले कम्युनिस्ट संस्कृति स्थापित हुनुको सट्टा विस्थापित भइरहेको छ । यहाँ सी, कम्युनिस्ट संस्कृति र क्रान्तिकारी कम्युनिस्ट पार्टीको संस्कृतिका विषयमा सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

लेनिनले भन्नुभएको छ, ‘कुनै मुलुकको सांस्कृतिक स्तर कस्तो छ भन्ने कुराको अनुमान त्यहाँको पुस्तकालय हेरे पुग्छ ।’ हामी कस्ता छौँ ? हामी कम्युनिस्ट हौँ वा अरू कोही हौँ ? हाम्रो जीवनव्यवहार, पुरानो संस्कृति र संस्कारप्रतिको मोहलाई हेर्दा पर्याप्त हुन्छ ।

पहिलो कुरा कम्युनिस्टहरूसँग कुनै जात हुदैन । निजी सम्पत्ति हुँदैन । धर्म हुँदैन । कम्युनिस्टहरूसँग जात, धर्म र निजी सम्पत्ति हुँदैन भने यी विषयवस्तुबाट हामी अलग छौँ त ? छैनौँ । छैनौँ भने हामी कसरी भयौँ कम्युनिस्ट ? के ‘सी’ लेख्न लायक छौँ ? हामी कम्युनिस्ट हौँ । हामी क्रान्तिकारी हौँ वा कमरेड हौँ । आफैँले आफैँलाई प्रश्न गरौँ । मालेमावादी दृष्टिकोणबाट हेर्दा कुनै बेला क्रान्तिकारी थियौँ । कमरेड पनि थियौँ तर कम्युनिस्ट त छदै थिएनौँ । कसैले कम्युनिस्ट थियौँ भन्छ भने मूर्खता हुन्छ । बरु कम्युनिस्ट बन्ने अभियानमा थियौँ र छौँ । कम्युनिस्ट हौँ भने किन आफ्नो परिवार, जात, धर्म, भूगोल मिलाएर पार्टी बनाउन खोजियो ? धेरै बुझ्नै पर्दैन । ‘आफ्नोभन्दा बढी अरूहरूको वास्ता गर्नुपर्छ । यसो भए मात्र उसलाई कम्युनिस्ट मान्न सकिन्छ’ भनेर कमरेड माओ त्सेतुङले (‘उदारवादको विरोध गर’ सेप्टेम्बर ७, १९३७) भन्नुभएको छ ।

नेपालमा कम्युनिस्टहरूसँग आज क्रान्ति गर्ने र क्रान्तिकारी बन्ने होडबाजी चलिरहेको छ । एक शब्दलाई उल्टोपाल्टो पारेर क्रान्ति भइहाल्छ भने बुझिन्छ । यहीँनेर हामी जोसुकै हौँ, कार्यदिशा क्रान्तिकारी ल्याउन सकिएन भने र एकले अर्काेलाई गाली मात्र गर्न लाग्यौँ भने क्रान्तिप्रतिको उदासीनता र पद–पावरका ढोँगी हौँ भन्ने कुरा प्रस्ट हुन्छ । यसैले माओले भनेजस्तै कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ । दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद ल्याउन चाहन्छौँ भने हामीले पहिलो कुरा कार्यदिशा क्रान्तिकारी बनाउनुपर्छ । क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ । त्यो हुँदै गएको छ । पछिल्लो समयमा आफू संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा तत्कालीन नेकपा केन्द्रीय समितिको कपिलवस्तु शिवगढीमा चैत ४ गतेदेखि १४ गतेसम्म चलेको १२ औँ पूर्ण बैठकको निर्णयविपरीत ३० वैशाख २०७९ को स्थानीय निर्वाचन प्रयोग गरी पत्तासाफ भैसकेपछि पार्टीभित्र निर्वाचनमा जान हुन्न भनी क्रान्तिकारीहरूले क्रान्तिकारी पार्टी नेकपा (बहुमत) निर्माण गरेको झोकमा विप्लवले नवौँ महाधिवेशनमा नामको पछाडि सी लेख्ने, कुनै थर नलेख्ने निर्णय पारित गरे । यसमा कुनै सैद्धान्तिक महत्व छैन । दलितहरूमाथि गरिएको राजनीति हो । अप्रत्यक्ष चुनावी प्रचार हो । कम्युनिस्टले पुजापाठ, धर्म, ग्रह, दशा, देवीदेवताप्रति विश्वास गर्दैनन् । यहाँ लुकीलुकी ग्रहदशा पुज्ने विप्लवजस्ता ‘क्रान्तिका नायक’ र परिवारको सदस्य गुम्दा खुट्टादेखि टाउको छोपिने गरी सेतो लुगा बेर्ने, किरिया गर्ने भेषराज भुसालजस्ता ‘खाँट्टी दार्शनिक’ हरूले सी शब्दको दुरुपयोग गरिरहेका छन् । सी लेख्ने कि नलेख्ने भन्ने विषय आज उठेको विषय पनि होइन, २०७३ साल फागुन १ गते काठमाडौँमा उद्घाटन भई ५ देखि १० गतेसम्म रोल्पा थबाङको बन्दसत्रको हलमा, ८ औँ महाधिवेशनमा उठेको विषय हो । छलफल पनि भएको हो । महाधिवेशन सकिएलगत्तै नामको अगाडि–पछाडि थर हटाएर सी लेख्नुको सट्टा ८ औँ महाधिवेशनमा राखिएको प्रस्तावको धज्जी उडाउँदै पार्टी कार्यकर्ता मात्रले होइन, पार्टीका केन्द्रीयदेखि पोलिटब्युरो सदस्यसम्मले शाही हो भने शाही ठकुरी, बम हो भने बम ठकुरी, चन्द हो भने चन्द ठकुरी, मल्ल हो भने मल्ल ठकुरी, सिंह हो भने सिंह ठकुरीजस्ता उप–थरहरू थपेर स्याङ फेरे । यसो गर्नुको एउटै कारण थियो पार्टीभित्रको अन्तरसङ्घर्ष । सामान्य अन्तरसङ्घर्ष चल्नु अनौठो कुरा थिएन तर आफूलाई कथित उपल्लो जातिको ठान्ने कमरेडहरूको बुझाइ के थियो भने आठौँ महाधिवेशनको हलमा दलित शब्द हटाउने र सबै कमरेडले सी लेख्ने प्रस्ताव प्रकाण्डको बलमा आएको हो भन्ने बुझेका थिए । अन्तरसङ्घर्षलाई दलित र ठकुरीमा कित्ताबन्दी गरियो । यसैको परिणाम हो थरको पछाडि उपथर ठकुरी थपिनु । हुँदाहुँदा पार्टीका वरिष्ठ पीबीएम भरत बम ‘रणवीर’ ले त फेसबुक आईडीमा समेत भरत बम ठकुरी भद्रकाली राख्नुभयो । यस्तो दरिद्र, जातीय र धार्मिक चेतना भएका कमरेडहरूले साँच्चिकै आफ्नो थर सजिलै हटाउन सक्लान् ? यो त विप्लवको पार्टीभित्र पार्टी प्रवक्ता प्रकाण्डको लाइन हाबी भएपछि त्यहीँभित्रका इमानदार क्रान्तिकारीहरूको आँखामा हालिएको छारो हो जसले दैनिक कामकार्य गर्नका लागि तिथिमिति हेर्न पुजारी सम्झिन्छ, सयौँ बिघा जमिनको मालिक बन्ने सपना देख्छ, हातमा लगाउने औँठीसमेत शनि ग्रहको लगाउँदा सोचेको काम सजिलै हुन्छ भन्ने बुझाइ राख्छ, चन्दहरूलाई चन्द ठकुरी लेख्ने रहर छ भने विप्लवको पार्टीका केही विश्वकर्माहरूलाई सिंह लेखेर दलितबाट बढुवा भएर ठकुरी बन्ने ठूलो रहर छ । छोराहरूलाई दोहोरी जाने रहर चल्छ र जान्छन् । नेताहरूले युवाहरू दोहोरी जाने कुरा सामान्य हो भनेर पार्टीमा भन्छन् । छोराहरू लिभिङ टुगेदरमा बस्छन् । पार्टीमा कुरा उठ्छ– सांस्कृतिक विचलन आयो । नेताहरू लिभिङ टुगेदरको विषयलाई बैठकको प्रस्ताव नै बनाउँछन् र लिभिङ टुगेदरमा बस्न पाउने निर्णय गराउँछन् । विप्लव नेतृत्वको नेकपाले २०७८ असोज १ देखि ५ गतेसम्म तनहुँको बन्दीपुरमा बसेको ११ औँ पूर्ण बैठकमा गरेको छलफल र निर्णय ताजै छ । यस्तो चेतनाले सी, डी, ई जे लेखे पनि सामाजिक विभेद, जातीय छुवाछूतजस्ता कुसंस्कार हटाउन सकिँदैन । चेतनाको सांस्कृतिक क्रान्तिबिना भावनामा लेखिने शब्दले मानव समाजमा हुने कुनैखाले विभेद अन्त्य हुँदैन । आठौँ महाधिवेशनका क्रममा रोल्पाको बन्दसत्रमा तत्कालीन पार्टी महासचिवले राखेको प्रस्तावमाथि छलफल गर्दै गर्दा तीनवटा विषय : क) संयुक्त सरकार गठन (ख) दलित शब्द हटाउने कुरा र (ग) थरको सट्टा सी लेख्ने कुरामा मैले उठेर विरोध गरेको थिएँ । यी तीनवटै विषयमा छलफल गर्नुपर्ने जरुरी नै थिएन किनकि (क) संयुक्त सरकार संसदीय व्यवस्थाबिना बाहिरको विषय थिएन । (ख) दलितहरूले दलित नलेख्दैमा जातीय विभेद हट्नेवाला पनि थिएन र (ग) सी शब्द त महासचिवका वरिपरि रहेका सीसीएम, पीबीएमहरूले हलमै उडाइसकेका थिए । यद्यपि मैले विषयहरूमा छलफलको माग गरे पनि सुनुवाइ हुने कुरै थिएन र भएन । जुन पार्टी नेतृत्व आफ्ना नेता–कार्यकर्ताले राखेका विषयवस्तु र समस्यामाथि छलफल गर्न तयार छैन, देशका समस्या कसरी समाधान गर्ला ! सोचौँ । यी सामान्य अंश हुन् । विप्लवको पार्टी र विप्लवमा यस्ता खालका सैद्धान्तिक, वैचारिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र व्यावहारिक समस्याका पहाड कति छन्, कति ! यसैले विप्लवमा रहेका क्रान्तिकारी कमरेडहरूमा क्रान्ति नै गर्ने सोचाइ छ भने विप्लवको विकल्प खोज्नुस्, विद्रोह गरेर क्रान्तिकारी आन्दोलनमा ध्रुवीकृत हुनस् । सक्नुहुन्छ पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउनुस् वा नेकपा (बहुमत) मा आउनुस् । हातेमालो गरौँ । यहाँ तपाईंहरूले छ्यापछ्याप्ती फेसबुकका वालहरूमा भरेको सी शब्दलाई सी भनेको कम्युनिस्ट हो, कमरेड हो त भनौँला, कम्युनिस्ट बन्ने अभियानमा लागिएको हुनाले भन्नु पनि पर्छ तर अर्को कुरा तपाईंहरूले प्रयोग गर्न खोजिराखेको communist र comrade अङ्ग्रेजी शब्दको अघिल्लो अक्षर सी भएकाले नेपालीमा सी लेख्न खोजेको होला तर तपाईंहरूले कुन कोणबाट लेख्न खोज्नुभएको हो ? तपाईंहरू भन्नुहुन्छ, हामीले लेखेको सी शब्दले नेकपा (बहुमत) का नेता–कार्यकर्ताको किन टाउको दुख्यो ? हाम्रो टाउको दुखेको विषय होइन । सी लेखिरहेका कमरेडहरूको जीवनव्यवहार हेर्दा दया जागेर आउँछ । आठ वर्षमा विप्लवले आफ्नावरिपरि राखेर वैचारिक दरिद्र बनाउनेशिवाय केही गरेनछन् । हामीले गरेको छलफललाई अराजनीतिक तर्क गरी आक्रोशमा आउनु यो केवल राजनीतिक दरिद्रताबाहेक केही होईन । तपाईंहरूले communist वा comrade को अघिल्लो अक्षर लिएर नाउँमा राख्ने रहर गर्नुभएको हो वा साँच्चै हो भने सबैको सरोकारको विषय हो । त्यसैले हामीले चासो दिइराखेका छौँ । कम्युनिस्ट र कमरेड विप्लवका सीहरूको निजी मामिला होइन, देश र जनतासँग, कम्युनिस्ट र क्रान्तिसँग सम्बन्ध राख्ने विषय हो । त्यसैले गाली होइन, आउनुस् स्वच्छ सैद्धान्तिक, वैचारिक बहस गराैँ । नत्र वैचारिक विचलनको पराकाष्ठा हो भने भन्नु केही छैन ।

यहाँ विप्लवको महत्वाकाङ्क्षा हेर्दा सी शब्दमार्फत सम्मानित बन्न खोजेको हो । राजा–महाराजाजस्तो सम्मान चाहिएको हो ? त्यसो हो भने संसद् मात्र होइन, दरबार नै छिर्नुस् । २०७८/०५/२८ गते खुलामञ्चमा भएको जनसभामा ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका संयोजक डा. सुरेन्द्र भण्डारीले दिएको राजा पृथ्वीनारायण शाहको फोटो उफ्रिएरै लिनुभएको देख्ने आँखा जीवितै छन् । कम्युनिस्ट र कमरेडको सङ्केत दिन खोजिएको हो भने कस्ता हुन्छन् कम्युनिस्ट र कमरेड त्यसअनुसारको चरित्र निर्माण गर्नुस् ।

विप्लवले ल्याउने प्रस्ताव र गर्ने निर्णयका बारेमा अन्जान त छैनौँ तर सी लेख्ने निर्णय प्रकाण्डलाई रिझाउन र दलित समुदायको मत बटुल्न मात्र नभई सधैँ लागू होस्, शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :