चुनाव अवज्ञा आह्वान गर्दै लुम्बिनी प्रदेशमा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

चुनाव अवज्ञा आह्वान गर्दै लुम्बिनी प्रदेशमा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

बुटवल : लुम्बिनी प्रदेशमा अखिल (क्रान्तिकारी) कालो ब्यानर बोकेर चुनाव अवज्ञा र संसदीय व्यवस्थाका विरुद्ध प्रदर्शनमा उत्रिएको छ ।

अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशस्तरीय प्रदर्शन आसन्न मङ्सिर ४ गतेको संसदीय चुनाव अवज्ञा किन ? भन्दै गरिएको प्रदेश इन्चार्ज नवीन खड्काले बताए । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को निर्णयअनुसार आसन्न संसदीय निर्वाचनलाई अवज्ञा गर्न आह्वान गर्दै कालो ब्यानर बोकेर प्रदर्शन गरिएको हो ।

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, नवलपरासी, रूपन्देहीलगायत जिल्लामा एकैपटक संसदीय निर्वाचनविरुद्ध संसदीय निर्वाचन अवज्ञा किन ? शीर्षकमा कालो ब्यानर बोकेर प्रदर्शन गरी विरोध गरिएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
संसदीय व्यवस्थाले गराएका विगतका कुनै पनि निर्वाचनले मुलुकका समस्या समाधान गर्न नसकेको र देशमा महँगी, राष्ट्रघात र सङ्कट आएको भन्दै ब्यानरमा आसन्न निर्वाचन अवज्ञा गर्न सात बुँदामा आह्वान गरिएको छ ।

कालो ब्यानरमा चुनाव अवज्ञा गर्नुपर्ने कारण दर्साउँदै लेखिएका सात बुँदा यसप्रकार छन् :

१) महान् १० बर्से जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ वैज्ञानिक समाजवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न ।
२) शिक्षा र स्वास्थ्यमा गरिएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राष्ट्रियकरण, निःशुल्क एवम् सर्वसुलभको व्यवस्था गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्न ।
३) शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई आयआर्जनसँग, आयआर्जनलाई पुँजीसँग, पुँजीलाई लगानीसँग आबद्ध गराउँदै समृद्ध राष्ट्र निर्माण गर्न ।


४) विश्वविद्यालयहरूमा दलीय भागबण्डाका आधारमा गरिँदै आएको राजनीतिक नियुक्ति अन्त्य गरी विज्ञहरूबाट स्वस्थ प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न ।
५) आमजनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्न ।
६) स्वाधीन संयुक्त सरकार गठन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न र
७) व्यक्ति हैन, सत्ता बदलौँ, सुधार होइन आमूल परिवर्तन गरौँ नारा सार्थक पार्न ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :