अखिल (क्रान्तिकारी) द्वारा ‘चुनाव अवज्ञा किन’ शीर्षकमा कालो ब्यानर सार्वजनिक

अखिल (क्रान्तिकारी) द्वारा ‘चुनाव अवज्ञा किन’ शीर्षकमा कालो ब्यानर सार्वजनिक

पाल्पा : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) पाल्पाले चुनाव अवज्ञा किन ? शीर्षकमा कालो ब्यानर सार्वजनिक गरेको छ । उक्त ब्यानरमा आसन्न संसदीय निर्वाचनको अवज्ञा किन ? शीर्षकमा पाँच बुँदा उल्लेख गरिएको छ ।

अखिल (क्रान्तिकारी) पाल्पाले जनाएअनुसार यही मङ्सिर चार गतेको निर्वाचनले देश बेच्ने, बेथिति पैदा गर्ने, राजनीतिक अस्थिरता पैदा गर्ने भएको हुँदा यस निर्वाचनलाई अवज्ञा गर्नुपर्ने अवस्था उत्पन्न भएको हो । क्रान्तिकारीले सार्वजनिक गरेको कालो ब्यानरमा– महान् १० बर्से जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ वैज्ञानिक समाजवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न, शिक्षा र स्वास्थ्यमा गरिएको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राष्ट्रियकरण गर्न, निःशुल्क एवम् सर्वसुलभ शिक्षाको व्यवस्था गर्दै वैज्ञानिक समाजवादी शिक्षाप्रणाली लागू गर्न, शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई आयआर्जनसँग, आयआर्जनलाई पुँजीसँग र पुँजीलाई लगानीसँग आबद्ध गराउँदै समृद्ध राष्ट्र निर्माण गर्न चुनाव अवज्ञा गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी ब्यानरमा विश्वविद्यालयहरूमा दलीय भागबन्डाका आधारमा गरिँदै आएको राजनीतिक नियुक्तिको अन्त्य गरी विज्ञहरूबाट स्वस्थ प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न, आमजनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी सुनिश्चित गर्न, स्वाधीन संयुक्त सरकार गठन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न र व्यक्ति हैन सत्ता बदलौँ, सुधार होइन आमूल परिवर्तन गरौँ भन्ने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :