नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरले रङ्गिए सरकारी कार्यालय

नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरले रङ्गिए सरकारी कार्यालय

काठमाडौँ : नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरहरूले पर्वत र म्याग्दीका सरकारी कार्यालयहरूसमेत रङ्गिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले अधिकांश सरकारी कार्यालयका प्रवेशद्वारहरूमा ‘संसदीय चुनावको अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !’ भन्ने नाराहरू लेखिएका रङ्गीन पोस्टरहरू व्यापक रूपमा टाँसेको हो ।

नेकपा (बहुमत) ले यही मङ्सिर ४ गते हुने भनिएको प्रदेश र सङ्घका संसदीय निर्वाचनलाई फेरि देश बेच्ने लाइसेन्स सुदृढ गर्ने संसद्वादीहरूको प्रयास भन्दै सर्वसाधारण जनतालाई यो व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लामबद्ध हुन आह्वान गरेको छ ।

यो व्यवस्थाले देश र जनतालाई कङ्गाल बनाएको र राजनीतिक अस्थिरता कायम गरेको हँुदा यो निर्वाचन अवज्ञा गरी स्थायित्व कायम गर्न स्वाधीन संयुक्त सरकार निर्माण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, निर्वाचित न्यायपालिका, निर्वाचित व्यवस्थापिका र विज्ञहरूबाट कार्यपालिका निर्माण गरिनुपर्ने नेकपा (बहुमत) को प्रस्ताव छ । नेकपा (बहुमत) ले व्यवस्थापिकाबाट देश निर्माण गर्ने नीतिनियमको थलो बनाउने मन्त्रिपरिषद् विज्ञहरूबाट गठन हुनुपर्ने प्रस्ताव पनि अघि सारेको छ । यसका लागि वर्तमान संसदीय व्यवस्था अन्त्य गरी जनवादी गणतन्त्र हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने नेकपा (बहुमत) ले बताएको छ ।

दलाल पुँजीवादी संसदीय व्यवस्था पूर्ण रूपमा खारेज गरी आफ्नो पार्टीको नेतृत्वमा स्वाधीन संयुक्त सरकार निर्माण गर्नुपर्ने र त्यो सरकारले नै शिक्षा, स्वास्थ्य, रोजगार, उत्पादनलगायत समस्या समाधान गर्दै वैज्ञानिक समाजवादतर्फ लग्ने नेकपा (बहुमत) को विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :