हजारौँको जनसहभागितामा काठमाडौँमा चुनाव अवज्ञा/बहिष्कार सभा

नयाँ क्रान्तिको तयारी हुँदैछ : किरण, दलाल पुँजीवादी शासनको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्छौं : कञ्चन

हजारौँको जनसहभागितामा काठमाडौँमा चुनाव अवज्ञा/बहिष्कार सभा

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा बुधबार काठमाडौँ शान्तिवाटिकामा हजारौँको जनसहभागितामा संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा सम्पन्न भएको छ ।

सभामा सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले विद्यमान संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न नयाँ क्रान्तिको तयारी भइरहेको बताए । नेता किरणले वैज्ञानिक समाजवाद स्थापनाका लागि सच्चा क्रान्तिकारी पार्टीहरूबीच एकता हुनुपर्ने पनि बताए । वैकल्पिक सत्ता स्थापनाका लागि राष्ट्रघाती, दलाल र पुँजीवादी शक्तिका विरुद्ध एकजुट भएर लड्नुको विकल्प नरहेको धारणा नेता किरणले राखे ।

संसद्‌वादी सरकारका तीनवटै अङ्ग असफल भइसकेको र ती एकआपसमा झडपमा उत्रिएको स्पष्ट पार्दै क्रान्तिकारी माओवादीका महासचिव किरणले लोकतान्त्रिक नाउँ गरेको फासिवादी सत्ताले आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रताको हक कुण्ठित गर्दै चुनाव अवज्ञा/बहिष्कार गरिरहेका क्रान्तिकारी नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, माइक भाँच्ने, पर्चापोस्टर लुट्ने प्रतिगमनकारी काम गरिरहेको पनि बताए । संसद्‌वादीहरू बलिया भएर टिकेको नभई क्रान्तिकारी शक्तिहरू कमजोर भएकाले जनविरोधी सत्ता टिकिरहेको नेता किरणको विश्लेषण थियो । देशभर चार पार्टीले आयोजना गरेको चुनाव अवज्ञा/बहिष्कार सभाहरू सफल बनेको निष्कषर्प प्रस्तुत गर्दै नेता किरणले योद्धाहरूले समाजवाद स्थापना गर्न बलिदान गरेको भए पनि युद्ध र क्रान्तिहरूलाई संसद्वाददेखि संसद्‌वादसम्म लगेर समाप्त पारिएको धारणा प्रस्तुत गरे । प्रचण्डहरूले आफूलगायत सहयोद्धाहरूलाई मात्र होइन, देश, जनता र वर्गलाई नै धोका दिएर संसद्‌वादीहरूसँग घाँटी जोडेको नेता किरणको भनाइ थियो ।

नेकपा (बहुमत) का संयोजक कञ्चनले चुनाव अवज्ञा/बहिष्कारका पक्षमा प्रचार गर्ने नेकपा (बहुमत) लगायत पार्टीका नेता–कार्यकर्तालाई देशव्यापी गिरफ्तार गरेर र क्रान्तिकारी आवाज बन्द गरेर संसद्‌वादी सरकारले आफू फासिवादी बनेको प्रमाण प्रस्तुत गरेको बताए । दलाल पुँजीवादी सत्ता भित्रैदेखि मक्किइसकेकाले जनताले एक धक्का दिनासाथ लड्ने निष्कर्ष प्रस्तुत गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी सत्ताले नेपालका सम्पूर्ण उद्योग–व्यवसाय बेचेर देशलाई कङ्गाल बनाएको, एकाधिकार पुँजीवादले जनताका सीमित अधिकार पनि अपहरण गरेकाले यो व्यवस्था र यसले गराउने चुनाव अवज्ञा/खारेज गरेर यसलाई ढालिदिनुपर्ने बताए ।

संयोजक कञ्चनले सम्बोधनका क्रममा भने, ‘राष्ट्रघाती, जनघाती, भ्रष्टाचारी, दलालहरू विकासका नारा लिएर फेरि गाउँ प्रवेश गरेका छन् । तिनले देश र जनताको स्वार्थमा नभएर साम्राज्यवादको स्वार्थमा मात्र विकास र समृद्धिका नारा अघि सारेका छन् । तिनले मालिकको आदेशमा मात्र काम गर्ने भएकाले राष्ट्रघात र जनघातबाहेक केही गर्न र दिन सक्तैनन् । त्यसैले यिनीहरूको दलाल चरित्र उदाङ्गो पार्न र जनतालाई सचेत बनाएर दलालरूलाई कारबाही गर्न प्रोत्साहित गर्न पनि हामी अवज्ञा कार्यक्रम लिएर गाउँगाउँ पुगेका हौँ ।’

हरेक व्यक्तिको आवास, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका लागि दलाल पुँजीवादी व्यवस्थामा सम्भव नहुने भएकाले पनि यो व्यवस्थाको अन्त्य गरेर समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने संयोजक कञ्चनले बताए । कम्युनिस्टको नाउँमा दुईतिहाइ मत प्राप्त गरेर सरकार बनाउँदा पनि देश र जनताका पक्षमा केही गर्न नसकेको उदाहरण दिँदै नेता कञ्चनले वास्तवमै देश र जनताका पक्षमा केही गर्ने हो भने पुष्पकमल दाहाल, केपी वलीहरू पनि यो व्यवस्था परित्याग गरेर आफूहरूसँगै सडकमा आउनुपर्ने बताए । उनले भने, ‘यो व्यवस्थाले अशान्ति, गरिबी, भोकमरी र राष्ट्रघातबाहेक केही दिँदैन । त्यसैले यसको अन्त्य हुनु आवश्यक छ । हाम्रो अवज्ञा आन्दोलन त्यसैको एउटा कडी हो ।’ अवज्ञा आन्दोलनमा हिँडेका पार्टीका नेता–कार्यकर्तामाथिको दमनतर्फ सङ्केत गर्दै संयोजक कञ्चनले चेतावनी दिए, ‘दलाल पुँजीवादी शासकहरूले गिरफ्तार गरेर, थुनेर, मुख बन्द गरेर ठीक पार्छौं भन्ने सोचेका छौ भने जनताले सिंहदरबारबाट गलहत्याएर सडकमा पछार्नेछन् र आफू त्यहाँ बस्नेछन् ।’ साम्राज्यवाद र दलाल पुँजीवादका कारण समाजका कोही पनि स्वाभिमानीहरू सुरक्षित नभएको विषय राख्दै नेता कञ्चनले भने, ‘हाम्रो पार्टी र मोर्चा मात्र कुनै पनि साम्राज्यवादी गठबन्धन र स्वार्थमा मुछिएका छैनन् । कुनै राष्ट्रले राष्ट्रिय हितविरुद्ध सञ्चालित सरकारी कार्यक्रममा सहयोग नगरून् । क्रान्तिकारी शक्तिको एकताले दलाल पुँजीवाद र उसका सहयोगीहरूलाई एकसाथ समाप्त पार्नेछ ।’

कार्यक्रममा माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले संसदीय चुनावका कारण देश र जनताले हार्ने तर साम्राज्यवादले जित्ने भएकाले यसको सशक्त अवज्ञा/बहिष्कार गर्नुपर्ने बताए ।

नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले जनताले निरन्तर बलिदान गरे पनि सत्तामा दलाल पुँजीवाद पुगेर फेरि देश र जनतामा शोषण, दोहन, अन्याय, अत्याचार र राष्ट्रघात लादिरहेकाले देशकै सौदाबाजी गर्ने दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्नु अपरिहार्य रहेको बताए । एमसीसी पारित गरेर साम्राज्यवादलाई रिझाएका संसद्‌वादी दलहरूले चुनावपछि एसपीपी पनि पारित गर्ने परककाजस्तै भएकाले सम्पूर्ण क्रान्तिकारी शक्तिहरू एक भएर दलाल पुँजीवादी सत्ताको सशक्त प्रतिरेध गर्नुपर्ने बताए ।

नेकपा क्रान्तिकारी माओवादीका नेता चन्द्रहरि सुवेदी ‘अटल’ को अध्यक्षता र नेकपा मशालका प्रवक्ता रामबहादुर बुढाको स्वागतमा सम्पन्न अवज्ञा सभाको सञ्चालन नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य एवम् बागमती विशेष उपत्यका ब्युरो इन्चार्ज शरद रसाइलीले गरेका थिए ।

शान्तिवाटिकाबाट संसदीय चुनावविरुद्ध गगनभेदी नारा लगाउँदै अघि बढेको चार कम्युनिस्ट पार्टीको जुलुस सहिदमञ्च र टुँडिखेल परिक्रमा गरी पुनः शान्तिवाटिकामै आएर सभामा परिणत भएको थियो ।

कार्यक्रममा नेकपाका प्रवक्ता सुदर्शन, कार्यालय सदस्यहरू दीपक, गम्भीर, जगत, सचिवालय सदस्य समरजङ्ग, माओवादी नेता गोपाल किराँती, क्रान्तिकारी माओवादीका नेता रामसिं श्रीसलगायत चारवटै कम्युनिस्ट पार्टीका केन्द्रीय जिम्मेवारीका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :