पोखरामा चुनाव अवज्ञा कोणसभा

पोखरा : नेकपा (बहुमत) निकट अनेरास्ववियु (क्रान्तिकारी) कास्कीले पोखरामा चुनाव अवज्ञा सभा आयोजना गरेको छ । चुनाव अवज्ञा र्याली पोखराको रामबजारबाट सुरु गरी अमरसिंह चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सम्बोधन गर्दै अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष कमला परियारले सरकारले आउँदो मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरे पनि यो चुनावले देशमा कुनै परिवर्तन नल्याउने बरु यसले निर्वाचित र वैधानिक नयाँ अनुहारका दलालहरू जन्माउने बताइन् । उनले केही पुरानै दलालहरू दोहोर्याउने यो चुनावले देशलाई निकास नदिने भएकाले यो चुनावको अवज्ञा गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताइन् । वैज्ञानिक समाजवाद नआएसम्म देशमा अशान्ति, राजनीतिक अस्थिरतालगायत समस्या समाधान नहुने भएकाले यो चुनावलाई अवज्ञा गरी जनताको व्यवस्था स्थापना गर्नुपर्ने र त्यसका निम्ति सबै जनता आन्दोलनमा सहभागि हुनुपर्ने उनले बताइन् ।

परियारले संसदीय व्यवस्थामा गरिने यस्ताखाले चुनावहरूमा जोकोही आए पनि देशलाई निकास नदिने र जो आए पनि यो व्यवस्थाले दलाल नै बनाउने, देशको राष्ट्रियता, सार्वभौमसत्ता र जनताका पक्षमा काम नगर्ने भएकाले यो संसदीय चुनावबाट चुनिने प्रतिनिधिहरू देश र जनताको हितमा नभई विदेशी दलालको पक्षपोषण गर्ने काम गर्ने प्रस्ट पारिन् । त्यसैले यो चुनावमा मतदान नगरी सबै विद्यार्थी, युवा र आमजनसमुदायले चुनाव अवज्ञा गर्नुपर्ने र वैज्ञानिक समाजवाद ल्याउनका लागि आन्दोलनमा गोलबन्द हुनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :