भोलि काठमाडौँमा चार दलको चुनाव अवज्ञा/बहिष्कार सभा भब्य हुने

भोलि काठमाडौँमा चार दलको चुनाव अवज्ञा/बहिष्कार सभा भब्य हुने

काठमाडौँ: नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले भोलि (बुधबार) काठमाडौँमा आयोजना गर्ने चुनाव अवज्ञा/बहिष्कार सभा भब्य हुने भएको छ । चार दलले यसअघि असोज २३ गते-चितवन, असोज २५ गते-सर्लाही, असोज ३१ गते-विराटनगर, कात्तिक २ गते-पोखरा, कात्तिक ४ गते-बुटवल, कात्तिक १७ गते-सुर्खेत र कात्तिक १९ गते-धनगढीमा भव्यतापूर्वक चुनाव अवज्ञा/बहिष्कार सभा र प्रदर्शन गरिसकेका छन् । देशव्यापी आयोजित चुनाव अवज्ञा/बहिष्कार सभाका साथै पर्चा, पम्प्लेटिङ र पोस्टरिङमा संसदीय व्यवस्थाविरोधी, वैज्ञानिक समाजवाद पक्षधर क्रान्तिकारी जनमत अभिव्यक्त भएपछि उत्साहित बनेका वैज्ञानिक समाजवाद पक्षधर चार दलले बुधबारको अवज्ञा/बहिष्कार सभा विशेष महत्वको हुने निष्कर्ष निकालेका छन् ।

देशव्यापी संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा आयोजना गर्ने निर्णय गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चन, नेकपा (क्रान्तिकारी माओवादी) का कावा महासचिव गौरव, ने.क.पा.(मशाल) का संयोजक सन्तबहादुर नेपाली र माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले वक्तव्य जारी गरेका थिए । चार दलद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको थियो, ‘महँगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेङ्गुलगायत रोगव्याधी, राष्ट्रघात, जनघातजस्ता विकराल समस्या झेलिरहेका नेपाली जनताले यी सबैबाट उन्मुक्ति चाहेका छन् । यसप्रकारका तमाम समस्याको समाधान खोजिरहेका छन् तर त्यसको बदला यो पाखण्डी गठबन्धन सरकारले नेपाली जनतामाथि सङ्घीय र प्रादेशिक निर्वाचनको अर्को बोझ उपहार दिएको छ ।’

वक्तव्यमा अगाडि भनिएको थियो, ‘संसद् तमाम प्रकारका राष्ट्रघात र जनघातको साधन बन्दै आएको तथ्यबारे हामी अवगत नै छौँ । आसन्न संसदीय निर्वाचन बहिष्कार/अवज्ञा गर्दै आएका निम्नअनुसार चार वामपन्थी दलहरूको मोर्चाको हालै बसेको बैठकले निम्नअनुसार विरोध र जनसङ्घर्षका कार्यक्रम प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय गरेको छ । जनघाती र राष्ट्रघाती यो संसदीय व्यवस्थालाई खारेज गरी योभन्दा अग्रगामी व्यवस्थाका पक्षमा नेपाली जनता उभिएका छन् भन्ने तथ्य राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्ले स्पष्ट रूपमा बुझ्ने गरी बहिष्कार÷अवज्ञाको कार्यक्रमलाई सफल पार्न हामी परिवर्तनका पक्षधर सम्पूर्ण नेपाली जनसमुदायसँग हार्दिक आह्वान गर्दछौँ ।’
चार वामपन्थी दलले यसप्रकार सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए :

०७९ असोज २३ गते– चितवन
२०७९ असोज २५ गते– जनकपुर
२०७९ असोज ३१ गते– विराटनगर
२०७९ कात्तिक २ गते– पोखरा
२०७९ कात्तिक ४ गते– बुटवल
२०७९ कात्तिक १७ गते– सुर्खेत
२०७९ कात्तिक १९ गते– धनगढी
२०७९ कात्तिक २३ गते– काठमाडौँ ।

यसका साथै विभिन्न जिल्लाले आआफ्नो पहलमा सङ्घर्षका कार्यक्रमहरू सम्पन्न गरेका छिन् । नेकपा (बहुमत) ले देशव्यापी रूपमा चुनाव अवज्ञा आह्वान गर्दै भित्तेलेखन, पर्चा वितरण र पोस्टरिङ गरेको छ भने अन्य पार्टीले पनि पर्चा वितरण र पोस्टरिङ अघि बढाइरहेका छन् ।
यसैबीच नेकपा (बहुमत) ले चुनाव अवज्ञा पर्चा जारी गर्दै देशव्यापी वितरण गरेको छ ।

‘चुनाव अवज्ञा किन ?’ शीर्षकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति, केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोले जारी गरेको पर्चामा दलाल संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न, असमान सन्धि–सम्झौताहरू खारेज गर्न, सीमानाका बन्द गरी भिसा प्रणाली लागू गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र न्यायप्रमुखको व्यवस्था गर्न, महिला हिंसा र लैङ्गिक विभेद अन्त्य गर्न, जाति–प्रथा र वर्ण–विभेदको समूल नष्ट गर्न चुनाव अवज्ञा गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी पर्चामा तीनबुँदे सहमतिविपरीत तथा जनयुद्धका क्रममा लगाइएका सम्पूर्ण झूट्टा मुद्दा खारेज गरी राजबन्दीहरू रिहा गर्न, प्रत्येक नेपाली नागरिकलाई जमिनमाथिको जन्मसिद्ध अधिकार स्थापित गर्न, शिक्षा र स्वास्थ्यमा निजीकरण अन्त्य गरेर निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न, घरविहीन जनतालाई आवासको सुनिश्चितता गर्न, दलाल तथा नोकरशाही पुँजीको राष्ट्रियकरण गरी राष्ट्रिय औद्योगिक अर्थप्रणाली लागू गर्न, प्रत्येक श्रमिक जनतालाई स्वदेशमै रोजगारीको व्यवस्था गरी पुँजी, श्रम र सीपको योजनाबद्ध परिचालनद्वारा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, साना तथा मझौला उद्यमीहरूलाई राज्यद्वारा सहुलियत प्रदान गर्न, सम्पूर्ण किसिमका वित्तीय शोषणको अन्त्यका लागि निजी बैङ्क प्रणाली अन्त्य गर्न चुनाव अवज्ञा गर्नुपर्ने उल्लेख छ ।

अवज्ञा पर्चामा भ्रष्टाचारीहरूको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्न, किसानलाई सस्तो र सुलभ मल, बिउ, प्रविधि उपलब्ध गर्न तथा कृषि उपजको राज्यद्वारा बजारीकरण गर्न, लागूपदार्थ दुव्र्यसनको अन्त्य गर्न, श्रम जेलको नीति लागू गर्न, राज्यद्वारा अनाथ, अपाङ्ग, वृद्ध तथा बालबालिकाको संरक्षण प्रदान गर्न र जनयुद्ध, जनआन्दोलन र हरेक जनसङ्घर्षका घाइते–अपाङ्गहरूलाई उपचार तथा जीविकाको उचित व्यवस्था गर्न चुनाव सशक्त रूपले अवज्ञा गर्नुपर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :