रामेछापमा चुनाव अवज्ञा अभियान तीव्र

रामेछापमा चुनाव अवज्ञा अभियान तीव्र

मन्थली : नेकपा (बहुमत) रामेछापले संसदीय चुनाव अवज्ञा अभियान तीव्र बनाएको छ । प्रहरी प्रशासनको कडा निगरानी, धरपकड र दमनलाई छल्दै जिल्ला सदरमुकाम मन्थलीमै नेकपा (बहुमत) ले संसदीय व्यवस्था र चुनावविरुद्ध भित्तेलेखन, पर्चा वितरण र पोस्टरिङ गरेको जानकारी पार्टीका जिल्ला संयोजक उजिरले दिए ।

नेकपा (बहुमत) रामेछापले सदरमुकाममा अवज्ञा प्रचार गर्नुअघि खिम्ती, टोकरपुर, दोरम्बा, शैलुङ, गुन्साल, धारापानी, सुनापती, गुराँसे, सिमटार, नैरुङ, रजमानटार, मानपुर, जाँते, गाल्बा, चोप्राङ, गोगनपानी, पकरबास, मुगीटार, आकासे, हाटेचौरलगायत स्थानमा पिँडीसभा, नारा, भित्तेलेखन, पोस्टरिङ सम्पन्न गरेको जानकारी पनि संयोजक उजिरले दिए ।

छापामार शैलीमा प्रहरीलाई छक्याउँदै भित्तेलेखन, पोस्टरिङ र पर्चा वितरण गरिएको जानकारी दिँदै अवज्ञा अभियानमा संलग्न पार्टीका जिल्ला सदस्य एवम् अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ रामेछापका संयोजक ध्यानबहादुर तामाङले भने, ‘अवज्ञा अभियानमा जनताको धेरै चासो छ । संसद्वादी दलहरूले केही नगर्नेमा जनता विश्वस्त छन् । उनीहरूले वैकल्पिक शक्तिका रूपमा नेकपा (बहुमत) लाई हेरिरहेका छन् ।

पार्टी जिल्ला सदस्य एवम् अखिल नेपाल महिला सङ्गठन रामेछाप–दोलखा–सिन्धुलीकी इन्चार्ज सीता गौतमले पार्टीको अवज्ञा अभियानमा महिला, किसानदेखि युवासम्मको संलग्नता रहेको बताइन् ।

काठमाडौँमा कात्तिक २३ मा आयोजना हुने अवज्ञा सभापछि सदरमुकामपूर्वका स्थानमा पनि चुनावविरोधी गतिविधि बढ्ने नेकपा (बहुमत) रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :