प्राकृतिक प्रकोप र दुर्घटनामा मृत्यु हुनेहरूप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

प्राकृतिक प्रकोप र दुर्घटनामा मृत्यु हुनेहरूप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

काठमाडौँ : नेकपा (बहुमत) ले बाढीपहिरोलगायत प्राकृतिक प्रकोप र दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी संयोजक कञ्चनले शुक्रबार विज्ञप्ति जारी गर्दै वर्षाका कारण देशैभरि बाढी–पहिरो गैराखेको र संसदीय व्यवस्थाले कमिसन खाएर, भ्रष्टाचार गरेर बनाएका सडक, पुलजस्ता भौतिक संरचना भत्किएकाले दुर्घटना बढिरहेको भन्दै दसैँमा घर फर्किएका वा आफन्त भेट्न गएका यात्रुहरूको दुर्घटना परी मृत्यु भएको र घाइतेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको जनाएका छन् । उनले सत्ताका सञ्चालकहरू कानमा तेल हालेर बसिराखेको भन्दै दुर्घटनामा परी घाइते हुनेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

संयोजक कञ्चनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विगत केही दिनदेखि नेपालका सबै स्थानमा भीषण वर्षा भैराखेको छ । उक्त वर्षाका कारण देशैभरि बाढी–पहिरो गैराखेको छ । यो संसदीय व्यवस्थाले कमिसन खाएर, भ्रष्टाचार गरेर बनाएका सडक, पुलजस्ता भौतिक संरचना भत्किन पुगेका छन् । मुख्य सहरहरू नै जलमग्न बन्न पुगेका छन् । नयाँ निर्माणका नाममा ढिलासुस्ती गर्दा सडकहरू झनै जीर्ण बनिराखेका छन् । यसैले गर्दा दसैँमा घर फर्किएका वा आफन्त भेट्न गएका यात्रुहरूको दुर्घटना परी मृत्यु हुने, घाइतेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ । तर यो सत्ताका सञ्चालकहरू कानमा तेल हालेर बसिराखेका छन् । बाढी–पहिरोले ठूलो जनधनको क्षति भैराखेको छ ।’

विज्ञप्तिमा संयोजक कञ्चनले भनेका छन्, ‘यसरी दुर्घटनाहरूमा ज्यान गुमाउन पुग्नुभएकाहरूमा हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेजनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारको तुरुन्त व्यवस्था गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिन्छ । साथै बाढी–पहिरोको जोखिममा रहेका जनताको शीघ्रातिशीघ्र उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन्छ । बाढी–पहिरोको जोखिममा परेकाहरूको उद्धार र राहतमा खट्न हाम्रो पार्टीका नेता–कार्यकर्तालाई निर्देशन गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :