नेकपा (बहुमत) का संयोजक र प्रवक्ताले भेटे राजनीतिक आस्थाका बन्दीलाई

बन्दी नेता–कार्यकर्ताको त्याग र धैर्यको उच्च सम्मान गर्छौं : कञ्चन, त्याग, समर्पण र बलिदानको मार्गमा प्रतिबद्ध भएकोमा गौरव गर्छौं : सुदर्शन, क्रान्ति बिसाउने वा धोका दिने कुरामा कदापि सहमत हुन सक्दैनौँ : आस्थाका बन्दी

नेकपा (बहुमत) का संयोजक र प्रवक्ताले भेटे राजनीतिक आस्थाका बन्दीलाई

काठमाडौँ : विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ताले क्रान्ति बिसाउने, धोका दिने वा क्रान्तिविरोधी सम्झौता गर्ने सर्तमा आफूहरू रिहा नहुने बताएका छन् । नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत पार्टीका शीर्ष जिम्मेवारीका नेताहरू बिहीबार आफूहरूलाई भेट्न आउँदा विभिन्न कारागारमा बन्दी अवस्थामा रहेका पार्टीका नेता–कार्यकर्ताले आफूहरू विचार र राजनीतिप्रति दृढ रहेको र पार्टी नेतृत्व पनि दृढ भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, कार्यालय सचिव गुणराज लोहनीलगायत पार्टी नेता राजबन्दीसँग भेटघाट गर्न बिहीबार काठमाडौँ र ललितपुरस्थित विभिन्न कारागारमा पुगेका थिए । नेकपा (बहुमत) का नेताहरूले काठमाडौँ सुन्धारास्थित केन्द्रीय कारागार, भद्र बन्दीगृह र ललितपुरस्थित नख्खु कारागारमा रहेका आस्थाका बन्दीलाई भेटेका हुन् । पार्टी स्रोतका अनुसार भेटघाटका क्रममा पार्टीका नेताहरूले बन्दी नेता–कार्यकर्ताको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । नेताहरूले मुलुकको राजनीतिक अवस्था र संसदीय व्यवस्थाविरुद्ध जारी आन्दोलनका बारेमा पनि जानकारी गराएका थिए ।

बन्दीसँगको भेटका क्रममा पार्टी संयोजक कञ्चनले सरकारले आफ्नो पार्टीसँग ३ बुँदे सहमति गरेको दुई वर्ष पुग्न लाग्दासमेत कार्यान्वयनमा इमानदारी नदेखाएको तर आफूहरू सरकारले सहमति लागू गर्नुपर्नेमा अझै दृढ रहेको बताएका थिए ।

संयोजक कञ्चनले सरकार र विभिन्न राजनीतिक दलसँग वार्ताका लागि पार्टीले प्रवक्ता सुदर्शनको संयोजकत्वमा केन्द्रीय कार्यालयका सदस्यहरूसमेत रहेको टोली नै गठन गरेर सहमति कार्यान्वयनका लागि पहल गरिरहेको बताएका थिए । आस्थाका बन्दीका रूपमा जेलमा कष्टकर जीवन बिताइरहेका चालीसभन्दा बढी पार्टी नेता–कार्यकर्ताको त्याग र धैर्यको उच्च सम्मान र प्रशंसा गर्दै पार्टी संयोजक कञ्चनले क्रान्तिकारी पार्टीका नेता र कार्यकर्ता जस्तोसुकै कठिन परिस्थितिको सामना गर्दै वैज्ञानिक समाजवाद प्राप्त गर्ने यात्रामा अविचलित रहिरहने विश्वास र प्रतिबद्धता व्यक्त गरेका थिए ।

पार्टी प्रवक्ता सुदर्शनले आस्थाका बन्दीहरूसँग कुरा गर्दै महान् सहिदका सपनालाई गहिरो गरी बोध गरी त्याग, समर्पण र बलिदानको मार्गमा प्रतिबद्ध रहेर जेल मोर्चा समालिरहेको भन्दै गौरव व्यक्त गरेका थिए । नेता सुदर्शनले जेलजीवन बिताइरहेका सम्पूर्ण नेता–कार्यकर्ताको रिहाइका साथै तीनबुँदे सहमति कार्यान्वयनका लागि आफू नेतृत्वको टोलीले सरकार, विभिन्न राजनीतिक दलसँग छलफल र वार्ता अघि बढाइरहेको बताएका थिए । प्रवक्ता सुदर्शनले तीनबुँदे सहमति कार्यान्वयन गर्न राज्य पक्ष जिम्मेवार नबनेकाले नेता–कार्यकर्ता रिहा भई झूट्टा मुद्दाहरू खारेज नभएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

पार्टी नेताहरूसँग भेटघाटका क्रममा बन्दी नेता–कार्यकर्ताहरूले क्रान्तिलाई क्षति नहुने सर्तमा मात्र आफूहरू रिहा हुन तयार रहेको तर क्रान्तिलाई बिसाउने वा धोका दिने कुरामा कदापि सहमत हुन नसक्ने बताएका थिए ।

नेकपा (बहुमत) का नेताहरूले आस्थाका बन्दीहरूसँग भेट र छलफलका क्रममा फलफूल र केही रकम पनि प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :