कोरियामाथि हस्तक्षेप बन्द गर

आइतबार जनगणतन्त्र कोरियाले छैठौं पटक हाइड्रोजन बमको परीक्षण गरेको छ । पुँजीवादी देशका ठूला र कहलिएका गुप्तचर संस्थाहरूले परीक्षणका कारण भूकम्प पैदा भएपछि मात्र सूचना पाए । जुन परीक्षण सन् १९४५ अगस्तमा अमेरिकाले जापानमा खसालेको बमभन्दा ५ गुणा शक्तिशाली ठानिएको छ । हाइड्रोजन बम परीक्षण हुनु एकाधिकार पुँजीवादको लागि चिन्ताको विषय त हो नै त्योभन्दा ठूलो चिन्ताको विषय के हो भने त्यत्रो हाइड्रोजन बम परीक्षण गरिसक्दासमेत पुँजीवादी प्रविधि, सेना र अनुसन्धानकर्ताले अत्तोपत्तो पाएनन् । परीक्षणका कारण पृथ्वीमा आएको कम्पन र त्यसलगत्तै कोरियाली सरकारी सञ्चारले परीक्षणका तस्बिर सार्वजनिक गरेपछि मात्र पत्तो पाए । यो परिस्थिति विश्वशक्तिका लागि भयानक लज्जा र त्रासदीमय बन्न गएको छ । यसबाट प्रश्न उठ्छ – कोरियाको परीक्षण दक्षिण कोरिया अथवा जापानमा प्रहार गरेको हुन्थ्यो भने अमेरिकी गठबन्धनको अवस्था कस्तो हुन्थ्यो होला ? यही प्रश्नको भूतले पुँजीवादी संसार आतंकित भएको छ ।

आज औपचारिक रूपले हाइड्रोजन बम निर्माण गरेका १२ वटा देशहरू छन् । औपचारिक रूपले त्यत्तिकै संख्यामा थप देशहरूले आणविक अस्त्र तथा ऊर्जा उत्पादन गरिरहेका छन् या प्रयास गरिरहेका छन् । आणविक बम ग्रहण गर्ने कोरिया एक्लो देश होइन, जसका कारण कोरियाप्रति पूर्वाग्रह साँध्नुपर्ने कुनै तार्किक कारण छैन । जहाँसम्म जिम्मेवार शक्तिको प्रश्न छ, आज व्यावहारिक रूपले नै विश्वमा अमेरिका नै सबैभन्दा गैर–जिम्मेवार र आतङ्क निर्यातक देशका नाममा बद्नाम भएको छ । आजसम्म अमेरिकाबाहेक अरू कुनै देश र संस्थाले यस्तो आम विनासकारी हतियार प्रयोग गरेको छैन । अमेरिकाले भन्ने गरेको कथित ‘जिम्मेवार’ आणविक क्षेत्रमा एकाधिकार कायम गरेर त्यसको दबावमा संसार लुट्ने मनसायबाहेक अरू केही होइन । तसर्थ, पुँजीवादी दादागिरी अन्त हुनुपर्छ र कोरियामाथिको धम्की अविलम्ब बन्द गरी वार्ताको माध्यमबाट शान्तिपूर्ण समाधानको खोजी हुनुपर्छ ।

रातो खबर साप्ताहिकबाट

२०७४ भदौ २३ गते २३ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :