निर्वाचन अवज्ञा/बहिष्कार घोषणा कार्यक्रममा संसदीय व्यवस्थाप्रति चार पार्टीका नेताको आक्रोश

यो लोकतन्त्र होइन, लुटतन्त्र हो : सीपी गजुरेल, चुनावलाई कार्यनीति भन्दै रणनीतिको बली चढाइयो : सुदर्शन

निर्वाचन अवज्ञा/बहिष्कार घोषणा कार्यक्रममा संसदीय व्यवस्थाप्रति चार पार्टीका नेताको आक्रोश

काठमाडौँ : संसदीय व्यवस्थाको आसन्न निर्वाचन देशलाई ब्रह्मलुट गर्नेबाहेक अरू केही नभएको भन्दै ४ कम्युनिस्ट पार्टीले यसलाई सशक्त रूपमा अवज्ञा÷बहिष्कार गर्ने घोषणा गरेका छन् । काठमाडौँमा बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै चार पार्टीले संसदीय व्यवस्थाको शोषण, दोहन र ब्रह्मलूटप्रति आक्रोश पनि व्यक्त गरे । नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) लगायत ४ पार्टीले नेपालमा संसदीय व्यवस्था पूर्ण रूपमा असफल भैसकेको निष्कर्ष निकाल्दै संसदीय चुनाव अवज्ञा/बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेलले नेपालमा संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले जनघात र राष्ट्रघात थोपर्ने संसद्को औचित्य समाप्त भइसकेको बताए । नेपालमा लोकतन्त्र नभई लुटतन्त्र चलेको भन्दै गजुरेलले जनताले आफ्नो अमूल्य मत दिएर संसद्वादी दलहरूलाई देश र जनता लुट्ने र राष्ट्रघात गर्ने लाइसेन्स दिनु नहुने धारणा राखे ।

नेपालमा संसदीय व्यवस्थाका तीनवटै अङ्ग पूर्ण रूपमा असफल भइसकेको समयमा यही असफल व्यवस्थालाई टिकाउन गरिने चुनाव जनताले बहिष्कार गर्नुपर्ने प्रस्ट्याउँदै नेता गजुरेलले निर्वाचन बहिष्कार आन्दोलनलाई यो संसदीय व्यवस्थाविरुद्धको आन्दोलनसँग जोडेर अगाडि बढाइने, त्यसका लागि छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरू एकजुट हुने बेला आइसकेको र त्यो प्रक्रियाको सुरुआत पनि भइसकेको बताए ।

क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) बीच पार्टी एकता प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै नेता गजुरेलले संयुक्त मोर्चामा रहेका अन्य दुई पार्टी र बाँकी अन्य क्रान्तिकारीहरूबीच पनि पार्टी एकता तथा ध्रुवीकरणका लागि कुरा भइरहेको जानकारी दिए ।

संयुक्त पत्रकार सम्मेलनमा नेकपा (बहुमत) का प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले अहिलेसम्म संसदीय व्यवस्थाअन्तर्गत हुने चुनावलाई कार्यनीति नै मानेको भए पनि यो चुनावी कार्यनीतिलाई लिएर अन्तर्राष्ट्रिय तथा नेपाली कम्युनिस्ट आन्दोलनमा कम्युनिस्टहरूले रणनीतिकै बली चढाएको भन्दै शोषित–उत्पीडित सर्वहारा वर्गका पार्टीेहरू पनि चुनावमा गएपछि अन्त्यमा पुँजीवादी पार्टीमा बदलिएका उदाहरणहरु पेस गरे । उनले नेकपा (बहुमत) सहित ४ कम्युनिस्ट पार्टीले आगामी निर्वाचनलाई अवज्ञा तथा बहिष्कार गर्ने पनि प्रस्ट पारे ।

नेपालको कम्युनिस्ट आन्दोलनका सन्दर्भमा पनि मनमोहन अधिकारी, केशरजङ्ग रायमाझी, तुलसीलाल अमात्य, नारायणमान बिजुक्छे, मदन भण्डारी, पुष्पकमल दाहाललगायत कम्युनिस्ट पार्टीका नेतृत्वले चुनावलाई कार्यनीति बनाउने भनेर संसदीय व्यवस्थालाई नै रणनीति बनाएको भन्दै नेता सुदर्शनले केही अपवादबाहेक धेरैजसो कार्यनीतिक उपयोगहरू संसदीय व्यवस्था बलियो पार्ने हतियार बनेको उदाहरण दिए ।

अस्थिर सरकार, महँगी, कालोबजारी, वित्तीय सूदखोरी, मिटरब्याजका समस्या, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याले देश आक्रान्त बनेको बेला यही संसदीय व्यवस्थामा भाग लिनु जनताको चेतनाभन्दा क्रान्तिकारीहरूको चेतना पछि पर्नु रहेको भन्दै उनले चार पार्टीले यसको अवज्ञा÷बहिष्कार गरेको बताए ।

नेपालको संसदीय राजनीति जनताको सेवा गर्ने परोपकारी पेसा नभई मुठीभर केही माफियाका लागि सर्वाधिक मुनाफायुक्त व्यापार बनेको भन्दै सुदर्शनले चुनाव जित्ने र सरकार प्राप्त गर्ने प्रलोभनमा राजनीतिक सिन्डिकेटका व्यापारीहरूले अकूत सम्पत्ति कमाएर राष्ट्रियता धरापमा पारेको धारणा राखे । संसदीय चुनाव भए पनि नेपालमा राजनीतिक स्थिरता नहुने भन्दै नेता सुदर्शनले दलाल पुँजीपति, बैङ्क, वित्तीय संस्था र वित्तीय कारोबारीहरूको हातमा केन्द्रित हुँदै जानुले देशको शासन प्रणाली पङ्गु मात्र नभएर देशको स्वाधीनता, सार्वभौमिकता, स्वतन्त्रतामाथि नै प्रश्न उठ्ने गरेको बताए । उनले भने, ‘हामी संसदीय चुनावमा भाग लिई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसललाई बलियो बनाउन, क्रान्तिकारी जनभावनालाई कमजोर पार्न, क्रान्तिकारी जनचेतनालाई धमिल्याउन, क्रान्तिकारी सङ्गठन निर्माणका लागि असमर्थता ल्याउने र सामाजिक जीवनको विकासलाई अवरुद्ध पार्न सक्तैनौँ ।’

कार्यक्रममा माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले मजदुर र किसानले भाग लिन नसक्ने अर्बपति, पुँजीपतिहरूले मात्र भाग लिनसक्ने चुनावबाट जनताका समस्या समाधान हुन नसक्ने बताए । चुनिएर गएकाहरू पनि कसरी आफ्नो खर्च असुल्ने भन्नेमा लाग्ने भन्दै उनले यो सरकार नै भ्रष्टाचारी भएकाले भ्रष्टाचारको चङ्गुलबाट देशलाई मुक्त गर्नुपर्ने बताए । किसान–मजदुरहरूको अधिनायकत्व हुने व्यवस्था स्थापना गर्नका लागि सच्चा कम्युनिस्टहरू यो व्यवस्थाका विरुद्ध एक भएर लड्न आवश्यक रहेको उनको भनाइ थियो । यो १५ प्रतिशत मानिसले जित्ने र ८५ प्रतिशत जनता हार्ने चुनावमा जानुको औचित्य नभएको पनि उनले बताए ।

काठमाडौँको प्रज्ञाभवनमा भएको संयुक्त पत्रकार सम्मेलनको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी (मसाल) केन्द्रीय समन्वय समितिका नेता चिन्तामणि पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :