मिटरब्याजी ठगहरूलाई सडकबाटै तह लगाउने युवा जनस्वयम्सेवक नेपालको उद्घोष

मिटरब्याजी ठगहरूलाई सडकबाटै तह लगाउने युवा जनस्वयम्सेवक नेपालको उद्घोष

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल मिटरब्याजीहरूको ठगी र जालसाजीमा परेर पीडित बनेका किसान–मजदुरहरूको सडक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी बनेको छ । जाली कागज र तमसुक बनाएर सम्पत्ति, जग्गाजमिन हड्पिएर बाँच्नु न मर्नुको दोसाँधमा पुगेका सोझासीधा किसान–मजदुरको न्यायपूर्ण आन्दोलनमा सङ्गठनले पूर्ण समर्थन जनाएको छ ।

मिटरब्याजी ठीबाट शोषित–पीडित किसान–मजदुरहरू विगत लामो समयदेखि सडक आन्दोलनमा छन् । यतिबेला १५० परिवारको सङ्ख्यामा पीडितहरू काठमाडौँको माइतीघरमण्डलामा आन्दोलन गरिरहेका छन् ।

पीडितहरूको न्यायका पक्षमा आयोजित कोणसभामा युवा जनस्वयम्सेवक नेपालका बागमती ब्युरो संयोजक विवेक दाहालले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा दाहालले ठगहरूको जाली तमसुक च्यातेर पीडित परिवारलाई न्याय दिलाएरै छोड्ने र ठगहरूले हडपेको किसान–मजदुरको सम्पत्ति फिर्ता गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । दाहालले मिटरब्याजी ठगहरूका विरुद्ध निर्मम सङ्घर्षमा उत्रने पनि बताए । सङ्घर्षको नेतृत्व युवा जनस्वयम्सेवक नेपालले गर्ने उनको भनाइ थियो ।

पीडितका पक्षमा सरकारले कुनै पनि ध्यान नदिँदा जाली–फटाहा र ठगहरूको मनोबल बढिरहेकाले उनीहरूलाई सडकबाटै तह लगाएर जनताका पीरमर्कामा सङ्गठन निरन्तर लागिरहने उनले बताए । उनले पीडित किसान–मजदुरहरूको आन्दोलन निष्कर्षमा पुर्याएरै छोड्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कोणसभामा पीडित किसान–मजदुर सङ्गठन समितिका प्रतिनिधिले पनि सरकारबाट न्याय पाउने आशा नरहेको बताएका थिए । उनीहरूले मिटरब्याजी ठगहरूका विरुद्धमा सङ्गठनले विगत लामो समयदेखि विभिन्न किसिमका आन्दोलन गर्दै आएकाले यसै सङ्गठनले मात्र न्याय दिलाउने आशा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :