आन्दोलनको मोर्चाबाट व्यवस्था नै परिवर्तन गर्नुपर्छ : कञ्चन

आन्दोलनको मोर्चाबाट व्यवस्था नै परिवर्तन गर्नुपर्छ : कञ्चन

अर्घाखाँची : नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विद्यमान संविधानले देश र जनता दुवैको रक्षा गर्न नसक्ने बताएका छन् ।

पार्टी कार्यक्रता भेटघाट कार्यक्रममा अर्घाखाँची आइपुगेका पार्टी संयोजक कञ्चनले दलाल पुँजीवादी व्यवस्थाको रक्षाका लागि दलालहरूले बनाएको संविधानले देश र जनताको रक्षा गर्न नसक्ने भएकाले यो सविंधान आन्दोलनबाटै परिवर्तन गर्नुपर्ने बताए ।

शीतगङ्गामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी संयोजक कञ्चनले सीमित व्यापारीले नै राज्य नियन्त्रण गर्न सक्ने गरी दलाल संसदीय व्यवस्थाको संविधान बनेकाले यो संसदीय व्यवस्था नै हटाएर प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रणाली लागू गरी देशलाई अस्थिरताको बन्दीबाट मुक्ति दिन सकिने धारणा राखे ।

यो व्यवस्थाका सांसदहरू करोडौँ खर्च गरेर चुनाव जित्ने र जितेर सांसद वा मन्त्री बनिसकेपछि देश र जनताको सेवा गर्नुभन्दा राज्यको स्रोतसाधन दुरुपयोग गरी चुनावको लगानी र अकुत सम्पत्ति थुपार्नतिर लाग्ने भएकाले यो प्रणली नै अन्त्य गरी नयाँ सविधान लेख्नुपर्ने आवश्यकता रहेको नेता कञ्चनले बताए ।

माओवादी जनयुद्धले गणतन्त्र ल्याएको तर माओवादी पार्टी पनि अरू संसद्वादी पार्टीजस्तै बनेर बिस्तारै जनताको भावनाविपरीत लागेको नेता कञ्चनले बताए । प्रचण्डले जस्तै विप्लवले पनि संसदीय प्रणाली स्वीकार गरेकाले उनलाई समेत पार्टीको बहुमतले कारबाही गरेर नेकपा (बहुमत) निर्माण गरेको उनले बताए ।

नेकपा (बहुमत) सधैँ एमसीसी, एसपीपीलगायत राष्ट्रघाती सन्धि–सम्झौताका विरुद्ध सङ्घर्ष गर्दै आएको प्रस्ट पार्दै संयोजक कञ्चनले देशलाई विदेशीको गुलाम बनाउन सीमित सांसदलाई प्रलोभनमा पारेर राष्ट्रघातको शृङ्खला दोहो¥याउने षड्यन्त्र भइरहेको पनि बताए । नेपालमा मालेमावादी क्रान्तिकारी विचारधारा त्यागिसकेकाहरूले पनि सत्ता र पदका लागि कम्युनिस्ट पार्टीको झन्डाको दुरुपयोग गरिरहेको नेता कञ्चनको भनाइ थियो । नेपालमा पनि दलाल पुँजीवाद हाबी भएकाले निष्ठाको राजनीति हराउँदै गएको भन्दै कञ्चनले अब जनताले यो व्यवस्थाका विरुद्ध सडकमा उत्रिएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गर्नुपर्ने र वैज्ञानिक समाजवादी क्रान्तिको मार्गमा अघि बढ्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :