नयाँ नागरिकता विधेयक झन् राष्ट्रघाती रहेको ६ कम्युनिस्ट पार्टी/मोर्चाको निष्कर्ष

नयाँ नागरिकता विधेयक झन् राष्ट्रघाती रहेको ६ कम्युनिस्ट पार्टी/मोर्चाको निष्कर्ष

रातो खबर संवाददाता/काठमाडौँ : नेकपा (बहुमत) सहित ६ कम्युनिस्ट मोर्चाको आह्वानमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नागरिकता वितरणसम्बन्धी राष्ट्रिय दृष्टिकोण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागी वक्ताले नागरिकता विधेयक झन् राष्ट्रघाती रहेको बताएका छन् ।

काठमाडौँमा शनिबार सम्पन्न कार्यक्रममा ६ दल/मोर्चाका विभिन्न नेताहरू तथा नागरिकतासम्बन्धी सरोकार राख्ने व्यक्तित्वको उपस्थिति थियो । कार्यक्रममा नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (माले) का महासचिव सीपी मैनाली, पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नागरिकता अध्ययन कार्यदलका संयोजक साध्यबहादुर भण्डारी, पुष्पलाल अध्ययन प्रतिष्ठनका अध्यक्ष लोककृष्ण भट्टराई, सीताराम तामाङ, नेकपाका अध्यक्ष लोकनारायण सुवेदी, नेकपा (क्रान्तकारी माओवादी) का स्थायी समिति सदस्य परि थापा, संयुक्त क्रान्तिकारी मोर्चा नेपालका संयोजक नारायण शर्मा, माओवादी कम्युनिस्ट पार्टी नेपालका पासाङ मुक्तान, वरिष्ठ अधिवक्ता तथा पूर्वसंविधानसभा सदस्य एकराज भण्डारीलगायत सहभागी थिए ।

कार्यक्रमको अध्यक्षता नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली र कार्यक्रम सञ्चालन नेकपा (बहुमत) का कार्यालय सदस्य कृष्ण धमला ‘गम्भीर’ ले गरेका थिए । नागरिकतासम्बन्धी ६ पार्टी/मोर्चाको साझा राष्ट्रिय दृष्टिकोण रहेको अवधारणापत्र संयुक्त क्रान्तिकारी मोर्चा नेपालका संयोजक नारायण शर्माले वाचन गरेका थिए ।

नागरिकतासम्बन्धी ६ पार्टी (मोर्चाको कार्यक्रममा पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने, ‘नागरिकतासम्बन्धी नीति खुकुलो बनाउनु हुँदैन । मुलुकमा ६ प्रकारको अतिक्रमण छ : सीमा, पानी, आर्थिक, व्यापार, सांस्कृतकि, जनसङ्ख्या । सबैभन्दा बढी जनसङ्ख्या अतिक्रमण छ ।’

कार्यक्रममा नागरिकता अध्ययन कार्यदलका संयोजक साध्यबहादुर भण्डारीले भने, ‘अहिलेको संविधानले विदेशीहरूलाई सजिलै नागरिकता लिन बाटो खोलिदिएको छ । संविधानमा नागरिकतासम्बन्धी प्रावधानहरू नेपाललाई फिजीकरण गर्नका लागि पर्याप्त छन् । हाम्रो देशमा ६ प्रकारका नक्कली नागरिकता प्रचलनमा छन् । अब आउन लागेको विधेयक पहिलोभन्दा अझ राष्ट्रघाती छ । त्यसकारण सिङ्गो नेपालीलाई नागरिकता आन्दोलनमा हामीले जोड्नुपर्छ ।’

पूर्वउपप्रधानमन्त्री तथा मालेका महासचिव सीपी मैनालीले साझा राष्ट्रिय दृष्टिकोणको अवधारणापत्रमा टिप्पणी गर्दै भने, ‘यसमा धेरै कुरा छुटेको छ । नेपालको संविधान २०१९ देखि अहिलेसम्मका नागरिकतासम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको मात्र चर्चा गरिएको छ । त्योभन्दा अगाडि जान जरुरी छ । २०४६ सालपछि विदेशीलाई व्यापक रूपमा नागरिकता बाँडिएको छ । राम्रो कुरालाई समाप्त गर्न नागरिकता विधेयक सरकारले फिर्ता लिएको छ ।’

पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईले नागरिकता विधेयक बेचीखाने भाँडो भएको बताए । उनले भने, ‘शासकहरू शक्तिमा पुगेपछि दलाल पुँजीवादीको भरिया भएका छन् । जनवादी शक्तिहरूको पार्टी बन्नुपर्यो । त्यो नभए पनि मोर्चासम्म बन्नुपर्यो ।’

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले भने, ‘नागरिकतासम्बन्धी व्यवस्था संविधानमै स्पष्ट लेख्नुपथ्र्यो तर त्यो भएन । जनमतसङ्ग्रहमा नागरिकताको ठूलो सङ्ख्यामा घुसपैठ भयो । २००७ सालदेखि ०६२/६३ सम्मका सबै क्रान्ति तथा आन्दोलन दिल्लीमा सम्झौता भएका कारणले हामीले दुःख पाएका हौँ ।’

नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले भने, ‘हाम्रा नागरिकलाई अनागरिक बनाइएको छ । विदेशीलाई भने नागरिक बनाइएको छ । यो ज्यादै दुःखको कुरा हो । नागरिकताको समस्या अर्थराजनीतिसँग पनि सम्बन्धित रहेको छ । हामीले गोष्ठीका निम्ति गोष्ठी मात्र गराएको होइन, जनतालाई सचेत गराउनुपर्छ ।’

अवधारणापत्रमा सहभागीहरूबाट नारायण सापकोटा, प्रकाशचन्द्र ढकाल, नारायणप्रसाद धिमाल र रामबहादुर बुढाले जिज्ञासा राखेका थिए ।

अवधारणापत्रमा टिप्पणीकारहरूका जिज्ञासालाई नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य परी थापाले संश्लेषण गरेका थिए ।

कार्यक्रममा सहभागीहरूलाई माओवादी कम्युनिस्ट पार्टी नेपालका पासाङ मुक्तानले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :