अखिल (क्रान्तिकारी) जाजरकोटको २१ औँ सम्मेलनका लागि २१ सदस्यीय समिति गठन

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) जाजरकोटको प्रशिक्षण तथा दोस्रो पूर्ण बैठक जिल्ला सदरमुकाम खलङ्गाको सनराइज कटेजमा सम्पन्न भएको छ ।

प्रशिक्षणमा प्रमुख अतिथिका रूपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा डोल्पा–जाजरकोट जिल्ला इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ को उपस्थिति रहेको थियो । तिलक बिष्टको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा पार्टीका जाजरकोट जिल्ला सचिवालय सदस्य हिमाल, रेडियम, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य दीपेन्द्र सिंह, पार्टीका छेडागाड नगर समिति इन्चार्ज जनक थापा, युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सदस्य पदमको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सन्तोष नेपालीले गरेका थिए ।

प्रशिक्षणमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) डोल्पा–जाजरकोट इन्चार्ज धमिलले नेपाली क्रान्तिमा एकपछि अर्को गर्दै धोका भएका कारण अबको विकल्पमा नेपाली जनताको मुक्तिका लागि वैज्ञानिक समाजवादी क्रान्ति, त्यसको स्थापनाका लागि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रहेको र यसबाट मात्रै अबको दिनमा क्रान्ति सम्भब हुने उल्लेख गरे । संशोधनवादी दल र अहिलेका संसदीय संशोधनवादीहरूले नेकपा (बहुमत) का विरुद्ध भ्रम उत्पन्न गरिरहेको प्रस्ट पार्दै उनले प्रश्न गरे, ‘हामी भगौडा भए बहस र छलफल नै नगरी एकलौटी निर्णय गर्ने तिमीहरू को हौ ?’

जाजरकोटी जनतालाई कुनै पनि भ्रममा नपर्न अपिल गर्दै उनले भने, ‘जबसम्म नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था रहन्छ तबसम्म शिक्षामा पनि कुनै परिवर्तन आउँदैन । त्यसैले सम्पूर्ण विद्यार्थी सङ्गठनमा जोडिनुपर्छ । शैक्षिक माफिया, दलाल, भ्रष्ट र हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने जोकोहीलाई पनि छोडिँदैन ।’

प्रशिक्षणमा ५८ जना विद्यार्थीको उपस्थिति थियो । प्रशिक्षणपछि सङ्गठनको दोस्रो पूर्ण बैठक बसेको थियो । बैठकले तिलक बिष्टको संयोजकत्वमा २१ सदस्यीय २१ औँ जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :