नेकपा (बहुमत) का नेताहरूले भेटे आस्थाका बन्दीलाई, नहड्बढाईकन अघि बढ्न बन्दीहरूको सुझाव

नेकपा (बहुमत) का नेताहरूले भेटे आस्थाका बन्दीलाई, नहड्बढाईकन अघि बढ्न बन्दीहरूको सुझाव

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, कार्यालय सदस्यहरू उदयबहादुर चलाउने ‘दीपक’, गुणराज लोहनीलगायत टोलीले जेलमा रहेका आस्थाका बन्दीहरूलाई भेटघाट गरेको छ ।

नेकपा (बहुमत) का नेताहरूले बुधबार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका बन्दीहरू र ललितपुरको नख्खु कारागारमा रहेका बन्दीहरूसँग भेटघाट गरेका हुन् । बहुमतका नेताहरूले कारागारमा रहेका आफ्नो पार्टीका बन्दीहरूको रिहाइका लागि भएका प्रयासहरूका बारेमा जानकारी गराउनुका साथै पार्टी पुनर्गठन प्रक्रियाका बारेमा पनि प्रस्ट पारेका थिए ।

बन्दीहरूले भने आफूहरूको रिहाइका बारेमा भएको पहलको प्रगतिका बारेमा जानकारी लिनुका साथै नेकपा (बहुमत) को आगामी कार्यदिशा निर्माणका बारेमा केही सुझाव दिएका थिए । भेटघाटका क्रममा आस्थाका बन्दीहरूले क्रान्तिकारी आन्दोलनका लागि आफूहरू ज्यान दिन तयार भएको समयमा तत्कालीन नेकपाको नेतृत्व संसद्वादमा फसेको भन्दै निकै भावपूर्ण तरिकाले क्रान्तिकारी धाराको नेतृत्व गर्ने नेताहरूलाई नहड्बढाईकन अघि बढ्न सुझाव दिएका थिए ।

हाल देशका विभिन्न कारागारमा ४३ जना आस्थाका बन्दी जेल जीवन बिताइरहेका छन् । २०७७ साल फागुन २१ गते सरकार र तत्कालीन नेकपाबीच भएको ३ बुँदे सहमतिअनुसार जेलमा रहेका सबै बन्दीहरू रिहा भइसक्नुपर्ने थियो तर हालसम्म एकजना बन्दी पनि राजनीतिक प्रक्रियाबाट रिहा भएका छैनन् । जति रिहा भएका छन् सबै कानुनी प्रक्रियाबाट मात्र रिहा भएका छन् । नेता–कार्यकर्ताहरूमाथि लगाइएका झूट्टा मुद्दाहरू पनि फिर्ता र खारेज गरिएका छैनन् ।

तीनबुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न माग गर्दै यही असार पाँच र सात गते नेकपा (बहुमत) का संयोजक कञ्चन, वार्ताटोलीका संयोजक सुदर्शन, सदस्यहरू उदयबहादुर चलाउने ‘दीपक’, गुणराज लोहनी र देवकला अधिकारीसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडसँग गम्भीर छलफल गरेको थियो । भेट र छलफलका क्रममा प्रधानमन्त्री र गृहमन्त्रीले नेकपा (बहुमत) का नेताहरूसँग सरकार आस्थाका बन्दी रिहा गर्न र मुद्दाहरू खारेज गर्न तयार रहेको बताएका थिए । नेकपा (बहुमत) का नेताहरुले बन्दीहरूसँग आफ्नो पार्टीले सरकारसँग बन्दी रिहाइका लागि गरेको वार्ता र सरकारले दिएको जबाफका बारेमा पनि प्रस्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :