नेकपा (बहुमत) का नेता–कार्यकर्तामाथि विप्लवको एक समूहद्वारा आक्रमण प्रयासको निन्दा

गाईघाट : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति उदयपुरको बैठक बसिरहेको समयमा विप्लव समूहमा रहेको एउटा उरन्ठेउलो जत्थाले पार्टी नेता–कार्यकर्तामाथि आक्रमण प्रयास गरेको भन्दै नेकपा (बहुमत) उदयपुरले निन्दा, भत्र्सना र आपत्ति प्रकट गरेको छ ।

पार्टी जिल्ला संयोजक जटिलले मङ्गलबार विज्ञप्ति जारी गर्दै आफूलाई विप्लव समूहको जिल्ला सेक्रेटरी भन्ने लक्ष्मण पौड्यालको नेतृत्वमा आएको पाँच–छजनाको समूहले बैठकस्थलमै प्रवेश गरी आक्रमण प्रयास गरेको भन्दै निन्दा र भत्र्सना पनि गरेका छन् ।

जटिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीको जिल्ला बैठक २०७९/३/६ गते गाईघाटस्थित ड्रिमल्यान्ड होटेलमा बसिरहेको अवस्थामा बैठकमा बसिरहेका पार्टीका नेताहरू र बैठकमा उपस्थित विद्यार्थी नेता हरि बिष्टलगायत नेताहरूमाथि भौतिक आक्रमण गर्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालको नेतृत्वमा ५–६ जनाको समूहले बैठक स्थलमा प्रवेश गरी आक्रमणको प्रयास गर्न खोजियो । यस्तो हर्कतप्रति हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ ।’

विज्ञप्तिमा उक्त समूहले यसअघि पनि यस किसिमका हर्कत गरेको भन्दै आक्रमण प्रयासको निन्दा, भत्र्सना र भन्डाफोरका लागि मानवअधिकारकर्मी, सञ्चारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज र सुरक्षा निकायको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :