विप्लवबाट विद्रोह गर्दै मगर मुक्ति मोर्चा र जनसरकार प्रमुखसहितका नेता नेकपा (बहुमत) मा ध्रुवीकृत

विप्लवबाट विद्रोह गर्दै मगर मुक्ति मोर्चा र जनसरकार प्रमुखसहितका नेता नेकपा (बहुमत) मा ध्रुवीकृत

ज्वाला/दोलखा : विप्लव क्रान्तिको बाटो परित्याग गरी संसदीय संसद्‌वादी बनेको भन्दै उक्त समूह परित्याग गरेर मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य र भीमेश्वर जनसरकार प्रमुखसहित तीनजना नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा ध्रुवीकृत भएका छन् ।

चरीकोट बजारमा सोमबार आयोजित कार्यक्रममा विप्लव पक्षबाट विद्रोह गरी नेकपा (बहुमत) मा ध्रुवीकरण हुनेहरूमा मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य चरित्र मगर, भीमेश्वर जनसरकार प्रमुख तेजबहादुर तामाङ र भीमेश्वर नगर समिति सदस्य हर्कबहादुर ओली छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा दोलखा–सिन्धुली–रामेछाप इन्चार्ज विनय शर्माले राष्ट्रघात गर्नेहरूका विरुद्ध क्रान्तिकारीहरू ध्रुवीकरण हुने समय आएको बताए । उनले विप्लव नेतृत्वको पार्टी संसदीय भासमा फसेकाले उक्त पार्टी छोडेर देशभक्त तथा राष्ट्रवादी नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा प्रवेश गर्ने लहर आउने बताए ।

नेकपा (बहुमत) मा प्रवेश गर्नेहरूले विप्लव नेतृत्वको पार्टी अवसरवादी बनेर संसदीय भासमा फसेको र आर्थिक विचलनतिर लागेकाले उनीहरूबाट क्रान्तिको सम्भावना नरहेको ठहर गर्दै आफूहरू उक्त पार्टी परित्याग गरी नेकपा (बहुमत) मा समाहित भएको बताए ।

नवप्रवेशीहरूलाई पार्टी इन्चार्ज शर्मा र जिल्ला संयोजक सोम पाख्रिनले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा (बहुमत) दोलखाले विनय शर्मालाई स्वागत गर्दै रामेछाप जिल्ला पार्टीको संयोजक बनेका उजिरलाई बिदाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :