नेकपा (बहुमत) दोलखामा अन्जानको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

नेकपा (बहुमत) दोलखामा अन्जानको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

चरीकोट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा जिल्ला समितिको प्रथम भेला तथा बैठक चरीकोट बजारमा सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्षता तथा सञ्चालन पार्टीका दोलखा जिल्ला संयोजक सोम पाख्रिनले गरेका थिए । भेलाले अन्जानको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् दोलखा–रामेछाप–सिन्धुली इन्चार्ज विनय शर्माको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले विशेष राष्ट्रिय भेलाले तय गरेको नयाँ कार्यदिशा र कार्यनीतिअनुसार दृढ भएर अगाडि बढ्ने निर्णय गरेको छ ।

बैठकले किसानका लागि अत्यावश्यक मल सरकारले दिन नसकेकाले किसानका समस्या सम्बोधन गर्न माग गर्दै राष्ट्रियता र जनतन्त्रका विषयमा सङ्घर्ष गर्ने निर्णय गरेको छ । दोलखा जिल्लामा रहेका सहकारीमा विप्लवको पार्टीका मान्छे हौँ भन्ने केही पात्रले पैसा राखिदिन आग्रह गरेको जानकारी प्राप्त भएकाले त्यस विषयमा सत्यतथ्य अनुसन्धान गर्ने, चर्को ब्याज असुल गर्ने, मिटरब्याजीमा पैसा लगाएर सर्वसाधारणलाई शोषण गर्ने, पेट्रोल लुकाई कालोबजारी गरी चर्को रूपमा मूल्य वृद्धि गर्ने प्रवृत्ति बढेकाले त्यस किसिमका असामाजिक काम गर्ने व्यक्तिलाई खोजेर जनकारबाही गर्ने निर्णय गरेको छ ।

बैठकले एसपीपी सम्झौताविरुद्ध जनसङ्घर्ष सञ्चालन गर्ने, एमसीसी, एनसेलको ठगीका विरुद्धको आन्दोलनलाई निरन्तरता दिने, भ्रष्टाचारविरुद्ध जनताको साथ लिई जनकारबाही गर्ने, कृषिलाई आत्मनिर्भर बनाउने निर्णय गरेको जनाइएको छ ।

नेकपा (बहुमत) दोलखाले पार्टीका तत्कालीन र दीर्घकालीन रणनीतिक एवम् कार्यनीतिक सवालहरूमा जिल्लाभरि वालपेन्टिङ गर्ने, सङ्गठन विस्तार अभियानलाई तीव्र बनाउने र जिल्लाका सबै वडामा पार्टीका एकाइ समिति निर्माण गर्ने निर्णय पनि गरेको छ । आन्दोलन र सङ्गठन विस्तार अभियान अघि बढाउन विभिन्न विभाग पनि गठन गरिएको छ ।

बैठक सम्पन्न भएपछि पेट्रोलियम पदार्थमा सरकारले गरेको चर्को मूल्य वृद्धिविरुद्ध पार्टी केन्द्रीय कार्यालयबाट घोषित सङ्घर्षका कार्यक्रम कार्यान्वयन गर्दै चरीकोट बजारमा नाराजुलुससहित कोणसभा आयोजना गरिएको थियो । कोणसभामा पार्टी जिल्ला इन्चार्ज शर्माले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :