नेकपा (बहुमत) का संयोजक कञ्चनसहित वार्ताटोली र प्रधानमन्त्रीबीच तीनबुँदे सहमति कार्यान्वयनबारे गम्भीर छलफल

अविलम्ब बन्दी रिहा गरिन्छ : प्रधानमन्त्री देउवा, वार्ता फलदायी भयो, बन्दी छिट्टै रिहा हुनेमा आशावादी छौँ : संयोजक सुदर्शन

नेकपा (बहुमत) का संयोजक कञ्चनसहित वार्ताटोली र प्रधानमन्त्रीबीच तीनबुँदे सहमति कार्यान्वयनबारे गम्भीर छलफल

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चन, पार्टीका तर्फबाट गठित वार्ताटोलीका संयोजकसमेत रहेका प्रवक्ता सुदर्शन, वार्ताटोलीका सदस्यहरू उदयबहादुर चलाउने ‘दीपक’, गुणराज लोहनी र देवकला अधिकारी तथा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच तीनबुँदे सहमति कार्यान्वयनका विषयमा आज गम्भीर छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न भएको वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री देउवाका साथै अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए । वार्ताटोलीले प्रधानमन्त्री देउवालाई तीनबुँदे सहमति कार्यान्वयनका लागि लेखिएको पत्र र ४३ जना आस्थाका बन्दीहरूको सूची हस्तान्तरण गरेको थियो ।

प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको पत्रमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच २०७७ साल फागुन २१ गते सम्पन्न तीनबुँदे सहमतिअनुसार नेपाल सरकारका तर्फबाट रिहा गर्नुपर्ने पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकहरूको नामावली उल्लेख छ ।

पार्टी संयोजक कञ्चन र वार्ताटोलीका संयोजक एवम् पार्टी प्रवक्ता सुदर्शनसहित सदस्यहरूले प्रधानमन्त्रीलाई तीनबुँदे सहमति भएको डेढ वर्षसम्म कुनै पनि आस्थाका बन्दी राजनीतिक प्रक्रियाबाट नछुटेको र छुटेकाहरू पनि कानुनी प्रक्रियाबाट मात्र रिहा भएको स्मरण गराउँदै अविलम्ब आस्थाका बन्दी रिहा गर्न र राज्यले लगाएका सम्पूर्ण झूट्टा मुद्दाहरू खारेज गर्न माग गरेका थिए ।

वार्ताटोलीसँग छलफलपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई टेलिफोन गरी आफूले नेकपा (बहुमत) को वार्ताटोलीसँग छलफल गरेको र अविलम्ब बन्दी रिहा गरी मुद्दा खारेज गर्ने प्रक्रिया सुरु गर्न आदेश थिएका थिए । प्रधानमन्त्रीको आदेशपछि गृहमन्त्री खाँडले आफू तत्काल बन्दी रिहाइ र मुद्दा खारेजीको प्रक्रियामा लाग्ने जबाफ दिएका थिए ।

वार्ता र छलफलमा सहभागी अर्थमन्त्री जनार्दन शर्मालाई प्रधानमन्त्री देउवाले आस्थाका बन्दीहरूमाथि राज्यले तोकेको ठूलो रकमको धरौटी मिनाहा गर्न आदेश दिएका थिए ।

प्रधानमन्त्रीको आदेशपछि अर्थमन्त्री शर्माले प्रधानमन्त्रीको निर्देशनबमोजिम आफूले आस्थाका बन्दीमाथि तोकिएको ठूलो रकमको धरौटी मिनाहा गर्ने प्रक्रिया सुरु गर्ने प्रत्युत्तर दिएका थिए ।

वार्ताटोलीका संयोजक एवम् पार्टी प्रवक्ता सुदर्शनले आइतबार साँझ रातो खबरसँग कुरा गर्दै आइतबारको वार्ता फलदायी भएको र आफूहरू सहमति कार्यान्वयनमा हुनेमा आशावादी रहेको बताए । उनले वार्ताटोलीले राजनीतिक दलहरूसँग पनि वार्ता अघि बढाएको र छिट्टै नै क्रान्तिकारी ध्रुवीकरण सुरु भई कतिपय पार्टीसँग एकता हुने सम्भावना बढेको पनि बताए ।

नेकपा (बहुमत) ले राजनीतिक प्रक्रियाबाट रिहाइका लागि प्रस्तुत गरेका बन्दीहरूमा विभिन्न समयमा विभिन्न स्थानबाट सरकारले गिरफ्तार गरी झूट्टा मुद्दा लगाइएका ४३ जनाको नामावली यसप्रकार रहेको छ :

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :