संशोधनवादीले कहिल्यै साँचो बोल्दैन

संशोधनवादीले कहिल्यै साँचो बोल्दैन

विश्व कम्युनिस्ट आन्दोलनको प्रादुर्भाव भएदेखि नै संशोधनवादको जन्म भएको हो । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा एड्वर्ड बर्नस्टिनलाई पहिलो संशोधनवादी भन्ने गरिएको छ । बर्नस्टिन माक्र्स, एङ्गेल्सका समकालीन थिए । उनले समाजवाद पुँजीवादी सामाजिक लोकतन्त्रमा प्रगति गरेर प्राप्त हुनेछ जब कि पुँजीवादको विनाश गरेर होइन भनेका थिए । साथै उनले यो पनि भने– सङ्घर्ष सबैथोक हो, उपलब्धि केही पनि होइन । आफूलाई माक्र्सवादी भन्न रुचाउने बर्नस्टिन माक्र्सवादको गुदी कुरालाई तोडमोड गरेर पुँजीवादको सेवामा लागेकाले उनलाई संशोधनवादी भनिएको हो । संशोधनवादको उत्पत्ति माक्र्सवादको वैचारिक भ्रष्टीकरण गर्दै भएको हो । त्यसैले यसको इतिहास पनि माक्र्सवादको जन्मको आसपासमा भएकाले विश्व कम्युनिस्ट आन्दोलनमा समानान्तर रूपमा आएको छ । संशोधनवादले कम्युनिस्टका नाममा भ्रम पैदा गरेर पुँजीवादको आयु बढाइरहेको छ । बर्नस्टिनको पालादेखि अहिलेसम्मका जति पनि संशोधनवादीहरू छन् उनीहरू बर्नस्टिनका वैचारिक सन्तान हुन् । विभिन्न रूप र रङमा देखिएको भए पनि उनीहरूको वंशज एउटै हो बर्नस्टिनको । यहाँ विश्वमा देखिएका विभिन्नखाले संशोधनवादका बारेमा कुरा गर्न खोजिएको छैन । नेपालमा पछिल्लोपटक नाङ्गो रूपमा देखिएको संसदीय संशोधनवादले छरेका भ्रमहरूका बारेमा स्पष्ट पार्न खोजिएको हो ।

वास्तवमा अब विप्लवजीहरूको संसदीय संशोधनवादको यात्राका बारेमा खासै नबोले पनि हुन्छ किनभने उनीहरूले जसरी दलाल पुँजीवादी संसदीय व्यवस्थाको चुनावमा भाग लिए, यही परिघटनाले मात्र पनि जनताले राम्रोसँग बुझ्ने मौका पाएका छन् । उनीहरूप्रति रहेको बचेखुचेको क्रान्तिकारीपन चुनावमा केन्द्रीय सदस्यहरूलाई पठाउनु र पुतली चिह्न लिएका उनका उम्मेदवारले रूख र सूर्यको सहारा लिँदासमेत जमानत बचाउन नसक्नुले पनि उदाङ्गो बनाइदियो । त्यसैले व्यवहारमा संसदीय संशोधनवादी बनेका उनीहरूको यात्राको वर्णन गर्न आवश्यक रहेन । यहाँ त विप्लवले जेठ २० गतेको पत्रकार सम्मेलनलगायत आफ्नो पार्टीको प्रशिक्षणमा बोलेका भ्रामक कुराहरूका बारेमा मात्र स्पष्ट पार्न खोजिएको छ ।

विप्लवले २० गतेको पत्रकार सम्मेलनमा कञ्चन र सुदर्शनहरू बहस गरेको एक सातामा नै झोला बोकेर हिँडे भन्ने आरोप लगाएका थिए । पहिलो कुरा त विप्लवका विरुद्ध बोल्ने वा फरक मत राख्ने जोकसैलाई उनले सजिलैसँग तपाईं गए हुन्छ भन्छन् । यस कुराको साक्षी त्यहाँ रहेका सबै केन्द्रीय सदस्यहरू भुक्तभोगी छन् । त्यसैले त्यहाँ फरक मत राखेर बहस गर्ने भन्ने कुराको कुनै गुन्जायस नै छैन । दोस्रो कुरा, उक्त पार्टीमा राजनीतिक, वैचारिक बहस गएको केन्द्रीय समितिमा मात्र भएको भन्ने कुरा गलत हो । मूल रूपमा महाधिवेशनको तयारी केन्द्रीय समितिका बैठक र दस्ताबेजमाथिको छलफलमा व्यापक बहस भएको थियो । बहसको विषय बनेको थियो– नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार, पार्टीको नाम माओवादी राख्ने कि नराख्ने, उत्तरसाम्राज्यवाद भन्ने कि नभन्ने, भारतलाई साम्राज्यवादी भन्ने कि विस्तारवादी, पदार्थ के हो र पार्टी विपरीतहरूको एकत्व हो कि होइन भन्ने थियो । बहस भएर पनि संशोधन हुने कुनै गुन्जायस रहेन । यिनै कुराहरू आठौँ महाधिवेशनमा प्रतिनिधि/पर्यवेक्षकहरूको ठूलो सङ्ख्याले उठाएका थिए । त्यहाँ पनि एक शब्द यताउता गरिएन ।

उदयबहादुर चलाउने ‘दीपक’ ले महाधिवेशनअघि यी कुराहरूलाई निकै जोडतोडका साथ राख्नुभएको थियो । मैले २०७४ सालको चुनावपछि २०७४ साल पुस २८ गतेदेखि सिन्धुलीमा भएको बैठकमा गम्भीरतापूर्वक पार्टी गोलचक्करवादमा फस्यो भनेको थिएँ । यति गम्भीर आरोप लगाउँदा पनि विप्लवले अँध्यारो अनुहार लगाउनु मात्र भयो तर उत्तर दिनुभएन । त्यसपछि २०७५ साल साउन ५ गतेदेखि ९ गतेसम्म भएको बैठकमा मैले विचार, राजनीति, सङ्गठन र सङ्घर्षमा भएका समस्याहरू बुँदागत राखेर यो पार्टी र नेतृत्वले गर्न सक्दैन भनेको थिएँ । यी आरोपहरूको न खण्डन भयो, न त स्पष्टीकरण नै । त्यसैगरी २०७६ साल असोज १४ देखि १८ गतेसम्म बसेको बैठकमा त अझ सशक्त रूपमा मैले बोलेको थिएँ । शिवगढीको दसौँ र बन्दीपुरको ११ औँ बैठकमा अझ बढी तर्कहरू राखेर बोलिएको थियो । १२ औँको बहस त सार्वजनिक नै भयो । केन्द्रीय समितिका कैयौँ साथीहरूले विप्लवसँग विचारमा फरक मत राखिराखेका थिए तर विप्लवले फरक विचारलाई स्वीकार गर्ने वा तिनीहरूमा रहेर बहस गर्ने वा ठीक र बेठीक के हो भनी आत्मसात गर्ने साहस नै गर्नुभएन । त्यसैले यो ७ दिनको बहसपछिको झोला बोकाइ होइन । यसले लामो शृङ्खला पार गरेको छ, कोर्स पूरा गरेको छ । समय, प्रक्रिया, विधि र विषयवस्तुका हिसाबले सार्वजनिक रूपमा नै अधिकतम लचकता र दृढतालाई पूरा गरेर मात्र वैशाख २१ गतेको जन्म भएको हो ।

गएको १२ औँ केन्द्रीय समितिको बैठकमा ७२ जनामध्ये (१) धर्मेन्द्र बास्तोला, (२) हेमन्तप्रकाश ओली, (३) चूडामणि ओली (आदर्श), (४) दीपक चलाउने, (५) सन्देश पौडेल, (६) मोहलाल चन्द (आधार), (७) दिपेश, (८) शीतल, (९) गुणराज, (१०) ध्रुव घिमिरे (विप्लव), (११) सावित्रा दुरा (आस्था), (१२) नवीन विश्वकर्मा (नवीन), (१३) बन्धु चन्द, (१४) निर्मल, (१५) देवनारायण शाह, (१६) टेकबहादुर केसी (आजाद), (१७) खुमा सुवेदी, (१८) सुमन लिम्बु, (१९) शैलेश, (२०) सङ्गम, (२१) विश्व, (२२) जुझारु, (२३) विकिरण, (२४) रूपेश, (२५) प्रवीण, (२६) नयन, (२७) समर, (२८) शरद, (२९) महान, (३०) शार्दूल, (३१) आजाद सेन, (३२) सविन, (३३) सङ्गम, (३४) शरद, (३५) भृकुटी, (३६) उभार, (३७) जोखिम, (३८) शशी, (३९) असारे काका, (४०) पवन, (४१) दीर्घ पाण्डे र (४२) सिकन्दर विप्लवले ल्याएको चुनावी कार्यनीतिको विपक्षमा बोलेका थिए । यिनीहरूमध्ये आदर्शले विप्लवको दस्ताबेजका विरुद्ध अर्को दस्ताबेज ल्याउँछु भनेका थिए भने मोहलाल चन्दले त चुनाव प्रयोग गर्ने कार्यनीति ल्याउने नेता पागल हुन् भनेका थिए । यसरी बहुमतभन्दा बढीले विपक्षमा बोल्दा र आफूले प्रस्तुत गरेको दस्ताबेज पूर्ण रूपमा असफल हुँदा नैतिकताका आधारमा महासचिवले राजीनामा दिनुपर्ने त कता हो कता, ‘उल्टा चोर कतुवाल को डाँटे’ भन्ने हिन्दी भाषाको उखानजस्तो बहुमत पक्षलाई अनावश्यक आरोप लगाउँदै हिँडेका छन् । विप्लवले केन्द्रीय समितिको बैठकमा उनको दस्ताबेज पारित हुन नसकेपछि सिङ्गो केन्द्रीय समितिका सदस्यलाई एसीएम (एरिया समितिको सदस्य) बराबरको हैसियत नभएको आरोप लगाएका थिए । तिनै एसीएमको स्तर पनि नभएकाहरूलाई राखेर अहिले उनी गर्व गरिराखेका छन् ।

अब आउँछ विप्लवले कसैले उहाँका विरुद्ध बोल्दा नै निकाल्ने वा कारबाही गरिहाल्ने तर मलाई किन गरिएन ? यसको मुख्य कारण म लामो समय कार्यालय सचिव भएकाले स्वभावैले धेरै कुरा थाहा हुने भयो । त्यहाँ भएका विकृति, विसङ्गति बाहिर आउँछ भन्ने डर रह्यो होला । दोस्रो कुरा २०७४ सालको उत्तराद्र्धदेखि विप्लव–प्रकाण्डसँग मेरो वैचारिक, राजनीतिक र मूल रूपमा आर्थिक विषयलाई लिएर विमति रहिआएको थियो । विमति रहँदारहँदै पनि मैले जिम्मेवारी पूरा गरिराखेको थिएँ । यसबीचमा आर्थिक रूपमा ठूलै खटपट भएको थियो । आर्थिकका कारण मलाई मानसिक तनाव बढेको थियो जुन अहिले पनि रहेको छ । व्यक्तिगत रूपमा पुख्र्यौली सम्पत्ति बेचेर ३५ लाखको आर्थिक बोझ झेल्नु भनेको सामान्य कुरा होइन । यसै विषयलाई लिएर मैले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु भन्नेसम्मको कुरा गरेको थिएँ । त्यसले गर्दा उनीहरूले मैले जति नै विरोध गरे पनि, विमति राखे पनि कारबाही गर्ने दुस्साहस गरेनन् । हुनत अनिल शर्माजस्ता अर्धजानकारी राखेकाहरूले भ्रमित पार्न नखोजेका होइनन् । हतियारका रूपमा प्रयोग भएका अनिलहरूका दुष्कार्य पनि पानीको फोकाजस्तो क्षणिक हुन पुगेका छन् ।

विप्लवले दिउँसै रात पार्ने गरी ठगेको कुरा के हो भने ७ दिन बहस गरेर झोला बोकेर हिँडे । चैत ४ गतेदखि वैशाख २१ गतेसम्म बहसका बहस भएका थिए । सचिवालयको बैठक बसिराखेको थियो, बहस भइराखेको थियो । सच्याऊँ भनिएको थियो तर विप्लवले तपाईंहरू जानुस्, मलाई सजिलो बनाइदिनुस् भन्ने को हो ? १४ गते भेटेर कुरा गरौँ भन्दा म अगाडि बढेँ, अब बस्न सकिन्न भन्ने को हो ? अन्तिमपटक जुझारु र प्रज्वलनले विप्लवको ७७ लाखको नयाँ घरमा भेटेर कुरा गर्दा अब सम्भव छैन भन्ने को हो ? अनि अहिले ‘हगिसक्यो, दैलो देख्यो’ जस्तो गरेर हुन्छ ?

पत्रकार सम्मेलनमा विप्लवले बहुमतको कार्यदिशा, कार्यनीति भनेको एकीकृत जनक्रान्ति नै हो, नयाँ केही छैन भन्नुभएको थियो । उहाँले प्रशिक्षणमा पनि त्यही भन्दै हिँडिरहनुभएको छ जब कि हाम्रो विशेष राष्ट्रिय भेलाले कार्यक्रम वैज्ञानिक समाजवाद, कार्यदिशा समाजवादी क्रान्ति, कार्यनीति स्वाधीन संयुक्त सरकार, कार्यनीतिक कार्यक्रमहरू सामाजिक रूपान्तरण, राजनीतिक स्थिरता, समृद्धि, शान्ति, स्वाधीनता र संसदीय व्यवस्थाको अन्त्य बनाएका छौँ । यस्तो सङ्गतिपूर्ण कार्यदिशा, कार्यनीति, कार्यनीतिक कार्यक्रम एकीकृत जनक्रान्तिमा कहिल्यै समावेश गरिएन । अहिले पनि छैन । विप्लवमा रहेको सबैभन्दा ठूलो समस्या भनेको उनले कार्यदिशा, कार्यनीति, कार्यनीतिक कार्यक्रमहरूका बीचमा छानपहिचान गर्न नसक्नु हो । त्यसैले उहाँहरू सबै कुरा एकीकृत जनक्रान्तिमा छ भन्ने गर्नुहुन्छ ।

अर्को र विवादास्पद कुरा भनेको अहिले नेपालका सबै कम्युनिस्टहरूको एकताको कुरा गर्नुभएको छ किनभने पार्टीभित्र एकताका कुरा धेरैपटक भए तर विप्लव–प्रकाण्डले एकताप्रति जहिले पनि विमति राख्दै आएका छन् । त्यसको मुख्य कारण नेतृत्वको कुरा थियो । आफ्नो पार्टी हैसियत कायम रहेर उनीहरू एकता गर्न सक्छन् । अर्को कुरा त्यहाँ विमति नराख्ने सर्त तेस्र्याइन्छ । यी दुईवटा कुरालाई जसले स्वीकार गर्दछ त्यस्ता शक्तिसँग मात्र एकता सम्भव छ । यसको बलियो प्रमाण २०७७ साल असोज १७ गते विप्लवसँग जोखिम मोलेर कमरेड किरणलाई मैले लिएर गएको थिएँ । उक्त भेटघाटबाट ५ पार्टीका बीचमा रणनीतिक मोर्चा बन्ने काम भएको थियो । पुस १२ गते ऋषि कट्टेल र आहुतिसँग भेटेपछि १४ गते रणनीतिक मोर्चा सार्वजनिक गरिएको थियो । सँगसँगै पार्टी एकताको पनि कुरा भएको थियो तर विप्लवले एकताको प्रस्ताव अस्वीकार गरेका थिए । ३ बुँदे सहमतिसँगै उक्त रणनीतिक मोर्चा पनि विघटन हुन पुग्यो । त्यसैले क्रान्तिकारीसँग विप्लवजीहरूले एकता गर्ने कुनै आधार छैन, बरु उनीहरूको चुनावी तालमेल गर्ने वा चुनावमा जिताउने सर्तमा संसदीय पार्टीसँग एकता हुन सक्छ । अहिले उहाँहरू राजनीतिक रूपमा कुना परेपछि र साङ्गठनिक रूपमा कमजोर भएपछि एकताको कुरा गरेको देखिन्छ ।

पत्रकार सम्मेलनमा विप्लवजीले एउटा चाखलाग्दो कुरा– उहाँहरू चुनावमा जानुको कारण खुलाउनुभएको छ । उहाँले भन्नुभएको छ– चुनावमा गएका दलाल संसद्वादीहरूले मात्र सत्ताको रसास्वादन गरे । हाम्रा जनताले पनि सत्तामा जानुपर्छ । सत्ताको उपयोग गर्नुपर्छ । हाम्रा जनताले पनि खान पाउनुपर्छ । (हेर्नुहोस् विप्लवले पत्रकार सम्मेलनमा बोलेको भिडियो ।) विप्लवले इमानदारीसाथ भन्नुभएको छ– अब यही सत्ताको उपयोग गर्ने, यसबाट प्राप्त हुने सुखसुविधाको प्रयोग गर्ने । उहाँको यो भनाइबाट पनि प्रस्ट हुन्छ, अब विप्लवजीहरू संसदीय दलदलबाट बाहिर निस्कने कुनै सम्भावना रहेन ।

अब विप्लवजीहरूका बारेमा बोलेर समय बिताउनु भनेको काम नपाएको के जाति पाडाको नाइटो कन्या भनेको जस्तो मात्र हो किनभने उहाँहरू खुला संसदीय संशोधनवादी हो । मूल रूपमा विप्लवले जे बोल्नुहुन्छ, त्यो गर्नुहुन्न । यो प्रवृत्ति पहिलोपटक बर्नस्टिनमा देखापरेको थियो, अहिले त्यसैको हुबहु विप्लवमा देखापरेको छ । आफ्नो अनुकूलतामा नेता–कार्यकर्ताको प्रवृत्ति हेरेर त्यहीबमोजिम कुरा गर्ने बानी छ । विचार र राजनीतिलाई केन्द्रमा राखेर विप्लव कहिल्यै कुरा गर्नुहुन्न । नयाँ वा पुराना सबै संशोधनवादीहरूको मूल चरित्र नै जनता, कार्यकर्तालाई झूटो कुरा गर्ने हो । लेनिनलाई कार्ल काउत्स्कीले ब्रेस्ट सम्झौताको विरोध गरेर दुःख दिए । त्यसैले लेनिनले गद्दार कार्ल काउत्स्की नै लेख्नुभयो । निकिता खु्रस्चेब ४ स को संशोधनवादी कित्तामा सामेल मात्र भएनन्, करोडौँ सोभियत जनताको रगतमा खडा भएको समाजवादको विघटन नै गरिदिए । यी तथ्यहरूले संशोधनवादीहरू क्रान्तिको कुरा गर्दछन् तर व्यवहारमा गैरक्रान्तिकारी हुन्छन् । सर्वहाराको कुरा गर्दछन् तर आफू सभ्रान्त वर्गमा परिणत हुन्छन् । वैज्ञानिक समाजवाद स्थापनाका गफ लगाउँछन् तर दलाल संसदीय व्यवस्थाको चाकडी गर्दछन् भन्ने कुरा नै प्रमाणित गर्दछन् ।

३१ जेठ, २०७९

प्रतिक्रिया दिनुहोस्